सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : १०
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठुलो त्यागसहितको संघर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका हुन् । 

मंगलवार काठमाडौँमा आयोजित बाल क्लबका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे । उनले भने, ‘व्यवस्था परिवर्तनमा तपाईंहरुको महत्त्वपूर्ण योगदान रह्यो । तर समृद्धिका लागि तिमीहरूले राम्रो काम गर्न सकेनौँ । अव समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो । मेरो भनाई त्यहाँ हो । जाने अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अस्ट्रेलिया वा जापान, चाइना जहाँ गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि, सामाजिक न्यायको लागि अघिल्लो पुस्ता अधिकार प्राप्तिका लागि जति लडाई गर्‍यो, अव बाँकी काम गर्ने दायित्व हाम्रो हो भनेर एक चोटि अर्को संघर्ष गर्न जरुरी छ ।’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताए । उनले थपे, ’युवाहरूले गर्ने संघर्ष भनेको त्यो हो । ज्वाइँ ससुराली गएर खाएजस्तो गरेर विदेशमा बसेर नेपाल बिर्सने काम युवाहरूले गर्नुहुँदैन । त्यहाँ सिकेर देश निर्माण गर्न लाग्नुपर्‍यो । मेरो अनुरोध के हो भने हिजोको पुस्ताले अहिलेसम्म राजनीति गरिरहेको पुस्ताले ठुलो त्याग गर्दै राजनीतिक परिवर्तन जीवनमरणको लडाई लडेर यो परिवर्तन ल्यायो । त्यसका लागि धन्यवाद भनौँ । अव अगाडि बढ्नेमा आशातीत हिसाबले गर्न नसकेर हिजोको त्यागको प्रतिफल आफैँ खान सन्ततिका लागि हुनुपर्नेमा आफैँका लागि भनेर अलि लोभलालची हुन थाल्यो । के गर्नु सत्तामा गइरहने तर तर राम्रो नगरे पनि सधैँभरि कति पटक भनेर लागि रहने जुन भइराखेको छ । त्यसमा युवाहरूले हस्तक्षेप गरेर तपाईहरुजस्तो ऊर्जाशील आएर देशलाई सुशासन, न्याय र आर्थिक प्रगतिमा लैजाने कुरामा अठोट गर्नु पर्‍यो । वातावरण बनाउने हो । बनेन भने संघर्ष गर्ने पनि अर्को कुरा हो । देशलाई आर्थिक प्रगति र समृद्धिका दिशामा अघि बढाउने गरी युवाहरूले काम गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप