बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि

मङ्गलबार, १९ मङ्सिर २०८०, १८ : २०
मङ्गलबार, १९ मङ्सिर २०८०

विक्रम रत्न 

काठमाडौँ । संसदीय समितिहरुले कानुन निर्माणको काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।  

‘मिनी संसद्’को रुपमा रहेका संसदीय समितिहरुले कानुन निर्माणको लागि सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

 न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरुले समितिहरुले विधेयकहरुमाथि पर्याप्त छलफल गर्न नसकेको बताएका छन् । संसद्को अधिवेशन अन्त्य भएको यो बेलामा पनि अधिकांश समितिहरुको बैठक बस्न नसकेको भन्दै सांसदहरुले समितिको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् । हाल प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु रहेका छन् । त्यस्तै राष्ट्रिय सभाअन्तर्गत ४ वटा विषयगत समितिहरु छन् भने २ वटा संयुक्त समिति रहेका छन् । तर केही समितिहरु बाहेक अधिकांश समितिले संसद्को अधिवेशन अन्त्य भएपछि बैठक समेत राखेका छैनन् । 

सांसदहरुको गणपूरक संख्या नपुगेका कारण कतिपय समितिको बैठक पटक–पटक स्थगित हुने गरेको छ । बैठक बसेका समितिले पनि कुनै महत्वको र ठोस विषयमा छलफल गरी निष्कर्ष निकाल्न सकेको अवस्था छैन ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समिति बैठकमा गणपूरक संख्या पु¥याउन नै गाह्रो भइरहेको बताए । विधेयक निर्माणमा सांसदहरुको ध्यान जान नसकेको उनले बताए । बैठक बोलाउँदा पनि गणपूरक संख्या नपुगेको भन्दै उनले चाडपर्वमा गाउँघर गएका सांसदहरु अझै काठमाडौँ नफर्किएका कारण यस्तो समस्या आएको बताए । उनले संसद्को दोस्रो अधिवेशन समेत प्रभावकारी हुन नसकेको टिप्पणी गरे । 

सभापति साहले विधेयक निर्माणमा सांसदहरुको उदासीनता देखिएको बताए । उनले समितिको काम प्रभावकारी हुन नसक्नुमा राजनीतिक दलका शीर्ष नेताहरु पनि जिम्मेवार भएको बताए । उनले ऐन, कानुन निर्माणका लागि राजनीतिक दलका शीर्ष नेताहरु एक ठाउँमा उभिनुपर्ने बताए ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले भने आफ्नो समितिले काम गरिरहेको बताए । तर गणपूरक संख्या नपुगेका कारण ३ वटा बैठक स्थगित गर्नुपरेको भने उनले सुनाए । सांसदहरु निर्वाचन क्षेत्रमै क्रियाशील भएका कारण बैठक बस्न नसकेको उनको भनाई छ । समितिले विद्युत् विधेयकमाथि विज्ञहरु सँग अनौपचारिक रुपमा निरन्तर छलफल गरिरहेको उनले जानकारी दिए । उनले समितिले विभिन्न स्थानहरुमा अनुगमन गरेको पनि बताए ।

नेकपा(एमाले)का सचेतक महेशकुमार बर्तौलाले आफ्नो पार्टीले सांसदहरुलाई कानुन निर्माणमा विशेष भूमिका खेल्न निर्देशन दिएको बताए । समितिको नियमित बैठक बस्नुपर्ने भन्दै उनले सांसदहरुको गणपूरक संख्या नपुगेको कारण बैठक स्थगित गर्नु नहुने बताए । उनले एमाले सांसदहरुका कारण बैठक बस्न नसकेको प्रति संसदीय दल सचेत रहेको जानकारी गराउँदै यसमा संसदीय दलले आवश्यक सहजीकरण गर्ने बताए । उनले कानुन निर्माणमा सांसदहरुको प्रभावकारी पहलकदमी, क्रियाशीलता र मेहनत हुनुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)कि सचेतक रुपा सोशी चौधरीले आगामी पुस महिना सम्ममा सबै समितिको क्रियाशीलता बढ्ने बताइन् । उनले बिजनेस भएका समितिहरुको बैठक बसिरहेका र बिजनेस नहुने समितिहरुको भने बैठक नबसेको हुनसक्ने धारणा राखिन् । उनले समितिहरु सशक्त ढंगले अगाडि बढ्न भने नसकेको बताइन् ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समिति बैठकमा उठाइएको विषयहरुको सम्बोधन नहुने गरेको बताए । उनले समितिलाई राज्यका विभिन्न निकायहरुले महत्त्व नदिने गरेको पनि बताए । उनले परिणाम नदेखिएका कारण समिति बैठक प्रभावकारी हुन नसकेको बताए । 

सांसद पौडेलले समितिले आफ्नो कामको प्राथमिकिकरण नगरेका कारणपनि प्रभावकारी रुपमा चल्न नसकेको बताए । समितिले समस्या मात्रै उठाएर समाधान नदिने गरेको भन्दै उनले समितिले अब सरकारलाई समाधानसहित भन्न सक्नुपर्ने बताए ।

त्यसैगरी, राष्ट्रिय सभा सदस्य तथा विधायन व्यवस्थापन समितिका सदस्य सुरेशकुमार आले मगरले बैठकको एजेण्डामा सहमति जुट्न नसकेका कारण समिति बैठकहरु नबसेको हुनसक्ने धारणा राखे । उनले संसदीय समितिहरु गतिशिल र क्रियाशील हुन नसकेका बताए । उनले आफ्नो समितिले भने नियमित रुपमा बैठक गरिरहेको बताए ।

नेकपा(एमाले)का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य राजेन्द्रकुमार राईले समिति सभापतिलाई नै ऐन, कानुन बनाउन वास्ता नभएको टिप्पणी गरे । उनले केही समितिहरु बाहेक अन्य समितिले काम गर्छ भन्ने विश्वास समेत नभएको बताए । सभापति लगायत सांसदहरुमा समितिको बैठक बसी महत्त्वपूर्ण निर्णय गर्ने बारेमा सोच नै नदेखिएको उनको भनाई छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप