मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा आफैँले पाउनुपर्ने निगमको दाबी

मङ्गलबार, १९ मङ्सिर २०८०, २१ : ३२
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको निरन्तरता आफूले नै पाउनुपर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पहल गरी अनुरोध गर्ने निर्णय गरिएको जनाएको छ ।

विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाका विषयलाई लिएर पछिल्ला समय केही सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्राउन्ड ह्याण्डलिङ्ग सेवालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय बनाउन निरन्तर लगानी गर्दै आइरहेको पनि जनाएको छ ।

विज्ञप्ति जारी गर्दै निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार उपकरण र दक्ष जनशक्ति तयार गरिएको पनि जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिरिक्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमासमेत ग्राउण्ड ह्याण्डलिङ गर्न अनुमति पाएका कारण यस क्षेत्रमा जनशक्तिलगायत उपकरणहरुको लागि थप लगानी गरी सेवालाई निरन्तरता दिइरहेको पनि निगमले प्रस्ट पारेको छ ।

इयुको स्कुप अफ अडिटसँग सम्बन्धित नै नरहेको विमानस्थल ग्राउण्ड ह्याण्डलिङ सेवाप्रति आक्रमण हुनु अप्रासंगिक एवम् नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको निगमको लगानी र सम्पत्तिमा हानि नोक्सानी पुग्ने भएकोले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राखी मङ्सिर १७ को निगम कार्यकारी समितिको बैठकबाट र निगममा क्रियाशील चार वटै कर्मचारी ट्रेड युनियन सहित निगम व्यवस्थापनको मिति मङ्सिर १९ को बैठकबाट निगमले नै ग्राउण्ड ह्याण्डलिङ गर्नु पर्ने कुरामा एकताबद्ध रही दृढतापूर्वक उभिन र यसको निरन्तरता, लगानीको सुनिश्चितताका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको पनि निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको निगमको ग्राउण्ड ह्याण्डलिङ सेवाको निरन्तरताका लागि उपकरणहरुमा गरिएको अर्बौं रुपैयाँ लगानीको सुनिश्चितता, व्यावसायिक दक्षता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा राष्ट्रिय सुरक्षाको सुनिश्चितताका लागि समेत निगमको पक्षमा यथार्थ सूचना सम्प्रेषण गरी ऐक्यबद्धता जनाइदिन सबैमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप