सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल १० हजारसम्म शान्ति सेना तैनाथ गर्न तयार छ :  उपप्रधानमन्त्री खड्का

बुधबार, २० मङ्सिर २०८०, १७ : ४३
बुधबार, २० मङ्सिर २०८०

घाना । उपप्रधानमन्त्री  एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्री स्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए ।

मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत  बताए । यसले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ । 

“हामीले हाम्रा सैनिकहरूलाई जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौँ। हामी सुनिश्चित गर्छौँ कि हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन्, र हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य– सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौँ”, उपप्रधानमन्त्री खड्काले भने ।

नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टीपीसीसी लगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबिच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए । उनले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।

उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुईवटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाए । उनले नेपाल इओडी इहाई, एकल इकाई, रेकी इकाइ, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाए । 

“हामी हाम्रो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यसका प्रशिक्षकहरूलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना तालिम सञ्चालन गर्न तत्पर छौँ। नेपालले आईटीएस, डीपीओलाई यूएनएममओ कोर्सको लागि सिमुलेशन सफ्टवेयर प्रदान गर्दै आएको छ”, उनले भने ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलाहरूलाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउन कार्यलाई निरन्तरता उल्लेख गरे । “हामी शान्ति स्थापना मिसनहरूमा वातावरणीय पदचिह्न कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग र प्रवर्द्धन गर्न प्रतिबद्ध छौँ। हामी यूएनएमआईएसएस र हाम्रो तालिम केन्द्रमा साझेदारीमा नवीकरणीय ऊर्जाहरू प्रयोग गर्दैछौं र यो लक्ष्य पूरा गर्न द्विपक्षीय र बहुपक्षीय साझेदारीको खोजीमा छौँ”, उनले भने । नेपाल संयुक्त राष्ट्र संघको संरक्षणमा विश्व शान्तिका लागि आफ्नो दृढ प्रतिबद्ध रहेको समेत उनको भनाइ छ । 

नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिकहरू तैनाथी गरी दोस्रो ठुलो शान्ति सेना र प्रहरी खटाउने देशका रूपमा रहेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् ।

हिजो भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्व शान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबिच सहकार्य हुनुपर्नेमा जोड दिए । ‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ हिजोदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधिमण्डलको सहभागिता थियो । उपप्रधानमन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य मङ्गलवार साँझ घानाका उपराष्ट्रपति बहु मियाले आयोजना गर्नुभएको रात्रि भोजमा सहभागी भए ।

सम्मेलनले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्व शान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोगका साथै यो सम्मेलनमा व्यक्त  भएका प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप