सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

शालाहको २ सयौँ गोलमा लिभरपुल विजयी

शनिबार, २३ मङ्सिर २०८०, २० : ५३
शनिबार, २३ मङ्सिर २०८०

लण्डन । मोहम्मद शालाहले लिभरपुलका लागि २ सयौँ गोल गर्दा टोलीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन गरेको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल २–१ गोलले विजयी बनेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५७ औँ मिनेटमा जिन फिलिपे माटेटाले पेनाल्टीमार्फत क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । तर ७५ औँ मिनेटमा जोर्डन एयूले दोस्रो पहेँलो कार्ड पाएपछि प्यालेस १० खेलाडीमा सीमित बन्यो ।

यसको ९८ सेकेन्डपछि नै शालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । योसँगै क्लबका लागि २ सयौँ गोल गर्ने उनी मात्र पाँचौँ खेलाडी बने । यसअघि इयान रस, रोजर हन्ट, गोर्डन हडसन र बिली लिडलले यो उपलब्धि हासिल गरेका थिए । इन्जुरी समयमा हर्भे इलियटले गोल गर्दै लिभरपुलको पुनरागमन पुरा गरे ।

जीतसँगै लिभरपुल केही समयका लागि भए पनि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । १६ खेलबाट लिभरपुलको ३७ अङ्क रहेको छ । एक खेल कम खेलेको आर्सनलको ३६ अङ्क छ । आर्सनलले शनिबार नै एस्टन भिल्लाको सामना गर्दैछ । सो खेल जिते आर्सनलले लिभरपुललाई उछिन्नेछ ।

उता पराजयपछि १६ खेलबाट १६ अङ्क बटुल्दै प्यालेस १४ औँ स्थानमा सीमित बनेको छ । यसले म्यानेजर रोय हडसनमाथि थप दबाब सिर्जना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप