आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा सरोकार

त्रिविमा विद्यार्थीको खडेरी, रित्तिँदै विभिन्न विभाग

विद्यार्थी आकर्षित गराउने विषयमा छैन कुनै योजना
सोमबार, २५ मङ्सिर २०८०, १२ : ४०
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । असोज १६ मा त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाबाट एउटा प्रेस विज्ञप्ति जारी भयो । विश्वमा त्रिविको स्तर घटेको र त्रिविले त्यसको बचाउका लागि निकालेको सो विज्ञप्तिको निकै चर्चा भयो ।

संसारका विश्वविद्यालयहरूको स्तर मापन गर्दै आएको टाइम्स हाइएर एजुकेशनले सन् २०२४ मा त्रिविलाई विश्वका विश्वविद्यालयको सूचीमा १२०१ देखि १५०० बिचमा देखाएको थियो । जबकि सन् २०२३ मा ८०१ देखि १००० भित्र त्रिविलाई राखेको थियो ।

त्रिविको स्तर घटेपछि चौतर्फी आलोचना सुरु भयो । धेरैले नेपालको उच्च शिक्षाबारे नै प्रश्न उठाए । तर, त्रिविले आफ्नो कमजोरीको समीक्षा गरेन । विश्वमा आफ्नो स्तर घटे पनि एसियामा नघटेको भन्दै त्रिविले विज्ञप्तिमार्फत आफ्नो बचाउ गर्‍यो ।

विश्वमा त्रिविको स्तर घटिरहेको मात्र होइन, त्रिविमा विद्यार्थी घटिरहेको विषय पनि गम्भीर छ । त्रिविका कतिपय विभाग खालीजस्तै बनेका छन् । त्रिविको केन्द्रीय कार्यालयमा एउटै भवनमा अधिकांश विभागलाई राखिएको छ ।

त्रिवि घडीघरको पछाडि स–साना भवन छन् । ती भवनमा त्रिविका विभिन्न विभागका कार्यालय राखिएका छन् । कतिपयमा त एउटा कोठामा विभागीय प्रमुख र अर्को कोठामा विद्यार्थी तथा प्राध्यापकहरू राखिएका छन् ।

०००

त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै २०१६ सालमा हिन्दी केन्द्रीय विभागको स्थापना भएको थियो । पाँच जना प्राध्यापक कार्यरत रहेको यस विभागमा दुई सेमेस्टरमा ६ जना विद्यार्थी भर्ना भएका छन् । तर, पढ्न भने कहिलेकाहीँ मात्रै आउँछन् ।

एउटा कोठामा विभागीय प्रमुख डा सञ्जिता बर्माको कार्यकक्ष छ । अर्को कोठामा प्राध्यापक बस्छन् भने अर्को कोठामा विद्यार्थीलाई पढाइन्छ । हिन्दी विभागका लागि त्रिविले ३ वटा कोठामात्रै उपलब्ध गराएको छ । जबकि न त्यहाँ बैठक कक्ष छ, न प्राध्यापकहरूको लागि बस्न छुट्टाछुट्टै कोठा छ । यहाँसम्म कि पुस्तकालयको समेत व्यवस्था छैन ।

भारत सरकार तथा विभिन्न दाताहरूबाट लाइब्रेरीका लागि पुस्तक उपलब्ध गराइएका छन् । तर, पुस्तकहरू पोका पारेर राखिएका छन् ।

hindi rajnitisastra manabsastra

विभागीय प्रमुख डा. बर्माले विद्यार्थी सङ्ख्या घट्नुको पछाडि थुप्रै कारण रहेको बताइन् । उनले पहिलो कारणको रूपमा स्कुल तथा विश्वविद्यालयको तल्लो तहमा हिन्दी विषयको पढाइ नहुनु नै रहेको बताइन् । तल्लो तहमा हिन्दी विषयको पढाइ नभएपछि माथिल्लो तहमा भर्ना हुने विद्यार्थीको अभाव स्वाभाविक रूपमा देखिएको उनको भनाइ छ ।

त्यस्तै हिन्दी विषय पढ्ने विद्यार्थीका लागि विश्वविद्यालयले बनाएको अन्य नीतिगत व्यवस्था पनि बाधक रहेको बर्माले बताइन् । भौतिक पूर्वाधारको अभाव, अन्य विभागको तुलनामा सङ्कुचित पार्न खोजिएको जस्ता कारणले हिन्दी विभागले आफूलाई व्यवस्थित गर्न नसकेको उनको भनाइ छ ।

‘विभागीय प्रमुख एउटा सानो कोठामा बस्नुपरेको छ । कोही २/४ जना मान्छे बोलाएर बैठक गर्नुपर्‍यो भने बस्ने ठाउँ छैन । राम्रो भवनको व्यवस्था गरिदिनुपर्‍यो भनेर पटकपटक भनेका छौँ । जति धेरै भन्यो, त्यति नै खुम्च्याएर राखिन्छ,’ उनले भनिन् ।

०००

त्यस्तै त्रिविको जनसङ्ख्या विभागको पनि अवस्था उस्तै छ । जनसङ्ख्या विभागले त विद्यार्थी सङ्ख्या घट्नुको अनौठो कारण देखाउने गरेको छ । ‘मानिसहरूले बच्चा कम जन्माउन थाले, अनि जनसङ्ख्या पढ्ने विद्यार्थीको सङ्ख्या पनि घट्यो,’ जनसङ्ख्या विभागको प्राङ्गणमा भेटिएका एक अधिकारीले हाँस्दै भने ।

देशभर जन्मदरमा देखिएको कमीका कारण विद्यार्थी घट्नु पनि एउटा कारण हुन सक्ला तर, ती अधिकारीले भने जसरी के विश्वविद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन मानिसहरूले बढी बच्चा जन्माउनुपर्ने हो त भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

३५ वर्ष अघि स्थापना भएको त्रिवि जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिबेला विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनै बेला वार्षिक ३०० को  हाराहारीमा विद्यार्थी हुने यो विभागलाई अचेल विद्यार्थी पाउनै मुस्किल छ ।

केही दिन अगाडि जनसङ्ख्या विभागका सह–प्राध्यापक बालकृष्ण माबुहाङ आफ्नो पिरियडभरि विद्यार्थीलाई कुरेर बसे तर विद्यार्थी नआएपछि फर्किए । उनले विद्यार्थी नआएकोमा कसैलाई दोषारोपण गर्नुभन्दा विद्यार्थी के कति कारणले आएनन् भन्ने वास्तविक कारण खोज्नुपर्ने बताए ।

यो विभागमा स्नातकोत्तर तह प्रथम वर्षमा मुस्किलले १२ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई पढाउन २ जना प्राध्यापक, ५ जना सह–प्राध्यापक र ५ जना उप–प्राध्यापक गरी १२ जना छन् ।

tu central office

कुनै समय विद्यार्थीको चाप थेग्न नसक्ने त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा अहिले तोकिएको कोटा पनि पुर्‍याउन मुस्किल छ । त्रिविमा २०७० सालदेखि सेमेस्टर प्रणाली लागु भएको थियो । सेमेस्टर लागु हुने बेला विद्यार्थीको चाप घटेको थियो । त्यसपछि बिस्तारै बढ्दै गए पनि पहिलाकोजस्तो विद्यार्थीको आकर्षण नरहेको विभागका अधिकारीहरू बताउँछन् । प्रशासन शाखाका एक कर्मचारीका अनुसार एमफिल पीएचडीका लागि ३५ जना विद्यार्थी छन् ।

अहिले त्रिविको केन्द्रीय कार्यालय जहाँ स्नातकोत्तर तहभन्दा माथिको पढाइ हुन्छ, त्यहाँका केही विभागमा विद्यार्थीको सङ्ख्या न्यून छ । जसमा हिन्दी, इतिहास, जल तथा मौसम विज्ञान, नेपाली संस्कृत इतिहास विभाग, पुस्तकालय तथा सूचना विज्ञान, बौद्ध अध्ययन, भाषा विज्ञान, मनोविज्ञान, ललितकला, संस्कृत केन्द्रीय विभाग, मैथिली केन्द्रीय विभागमा विद्यार्थीको अभाव छ । कतिपय विभाग त विद्यार्थी नभए पनि अस्तित्वका लागि मात्र सञ्चालनमा छन् ।

bouddha adhyayan kendriya bibhag

यसअघि विद्यार्थीको चाप थेग्न नसक्ने ग्रामीण विकास, अङ्ग्रेजी, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र जस्ता विभागमा समेत विद्यार्थीको अभाव देखिन्छ ।

०००

गत वर्ष त्रिविको व्यवस्थापन संकायले स्नातक तह प्रथम वर्षको प्रवेश परीक्षा दुई पटक लियो । परीक्षाका लागि कम विद्यार्थीले आवेदन दिएपछि दुई पटक गरेर पुनः प्रवेश परीक्षा लिएको थियो । दोहोर्‍याएर सीम्याट परीक्षा सञ्चालन गर्दा पनि १३ हजार विद्यार्थीले मात्रै परीक्षा दिए । जबकि त्यसअघि एकै पटक परीक्षा गर्दा पनि १५ हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएका थिए । गत वर्ष भने दुई पटक परीक्षा गर्दा समेत धेरै विद्यार्थीको सहभागिता हुन सकेन ।

विभागीय प्रमुख डिल्लीराम शर्माले व्यवस्थापन सङ्कायमा सीम्याटबाट भर्ना पाउने विभिन्न विषय र कार्यक्रममा ८ हजारको कोटा रहेको बताए । तर, त्यो कोटा पूरा नहुने उनको भनाइ छ ।

nepali kendriya bibhag

त्रिवि नेपाली केन्द्रीय विभागले हालै स्नातकोत्तर तहका लागि विद्यार्थी भर्ना आह्वान गर्‍यो । स्नातक तहमा जुनसुकै विषय पढेकाले पनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने व्यवस्थासहित आवेदन आह्वान गरेको थियो । अङ्ग्रेजी केन्द्रीय विभागले समेत स्नातक तहमा जुनसुकै विषय पढेकाले स्नातकोत्तर तहमा अङ्ग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको थियो । तर, दुवै विभागमा पर्याप्त आवेदन नपरेपछि आवेदनको म्याद थप गर्ने तयारी भइरहेको छ ।

नेपाली विभागका विभागीय प्रमुख प्राडा खगेन्द्र प्रसाद लुइँटेलले धेरैभन्दा धेरै विद्यार्थीलाई नेपाली भाषा पढ्ने अवसर मिलोस् भनेर यस्तो व्यवस्था गरिएको बताए । नेपाली भाषा नेपाल र नेपालीको पहिचान भएको भन्दै यो पढ्नका लागि बन्देज लगाउन नहुने उनको भनाइ छ ।

‘हामीले विद्यार्थी घट्यो, हामीलाई गाह्रो भयो भनेर यस्तो व्यवस्था गरेका होइनौँ । यो नियम धेरै पहिला नै लागु हुनुपर्थ्यो । तर, ढिलै भए पनि गरेका छौँ । यसले धेरै नेपाली भाषा पढ्न इच्छुक विद्यार्थीलाई राम्रो अवसर मिलेको छ,’ उनले भने ।

विश्वविद्यालय अनुदान आयोगको रिपोर्ट अनुसार २०७८/०७९ मा ५ लाख ७९ हजार ४८८ विद्यार्थी उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालयमा भर्ना भएका थिए । जसमध्ये त्रिभुवन विश्वविद्यालयमा मात्रै ४ लाख ५४ हजार ६५ जना विद्यार्थी भर्ना भएका थिए, जुन ७८.३६ प्रतिशत थियो ।

किन घटे विश्वविद्यालयमा विद्यार्थी ?

नेपाली विभागका प्रमुख लुइँटेलले विद्यार्थी घट्नुको थुप्रै कारण रहेको बताए । परिवेशले समेत विद्यार्थी घट्ने कुरा निर्धारण गरेको उनको भनाइ छ । धेरै विश्वविद्यालय खुलेसँगै विद्यार्थीले अन्य विश्वविद्यालयमा समेत पढ्न थालेपछि त्रिविमा घटेको देखिएको उनको भनाइ छ ।

त्यस्तै आईए, आईएड जस्ता कोर्ष फेजआउट भएर प्लस टु आएसँगै विद्यार्थीहरू विदेशिने क्रम बढेको उनले बताए । जसले गर्दा उच्च शिक्षातर्फ विद्यार्थी घटेको उनी बताउँछन् ।

बजारको माग अनुसार नयाँ विषय नहुनु पनि विद्यार्थी सङ्ख्या घट्नुको कारण रहेको उनको भनाइ छ । नेपाली विद्यार्थीको लर्को विदेशी विश्वविद्यालयतर्फ भएपछि नेपालका विश्वविद्यालय प्रायः सबैले विद्यार्थी अभाव झेल्न थालेको उनी बताउँछन् । विश्वविद्यालयमा बढिरहेको राजनीतिका कारण समेत विद्यार्थीको आकर्षण कम भएको उनले प्रस्ट पारे ।

त्रिविका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमाले समयमै परीक्षा नहुनु, परीक्षाको नतिजा आउन समेत बर्सौँ कुर्नुपर्ने जस्ता कारणले पनि विद्यार्थी सङ्ख्यामा कमी आएको हुन सक्ने बताए ।

स्नातकका कुनै विषयमा पढाइ सुरु भएको डेढ वर्षसम्म विद्यार्थीले परीक्षा दिन पाएका छैनन् । यसको असर स्नातकोत्तर तहको पढाइमा परेको छ । स्नातकोत्तर तहको सबै पढाइमा सेमेस्टर प्रणाली लागु गरिएको छ । स्नातक र स्नातकोत्तर तहको पढाइको तादात्म्य नमिल्दा स्नातकोत्तर तहको पढाइ प्रभावित भएको विभागीय प्रमुख लुइँटेलले बताए ।

त्रिविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले भने केहीबाहेक अधिकांश केन्द्रीय विभागमा विद्यार्थी अभाव नरहेको बताएका छन् । केन्द्रबाहेक अन्य जिल्लामा पनि सोही विषयको पढाइ हुने भएकाले विद्यार्थी त्यतातिर गएर केन्द्रमा कम भएको उनको भनाइ छ ।

अब के गर्ने ?

भर्खरै चार वर्षे आफ्नो कार्यकाल सकेर फर्किएका निवर्तमान उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविको सुधारका लागि तत्काल गर्नुपर्ने कार्यहरू अघि सारेका छन् । उनले त्रिविको विद्यमान ऐन परिवर्तन गरेर प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था संशोधन गर्नुपर्ने बताए । उनले खुला प्रतिस्पर्धाबाट शैक्षिक व्यक्तिलाई नै कुलपति नियुक्ति गर्न सुझाव दिए । त्यस्तै विश्वविद्यालयलाई ट्रस्ट मार्फत सञ्चालन गरिनुपर्ने उनको सुझाव छ ।

पूर्वउपकुलपति प्राडा माथेमाले त विगतदेखि नै बोर्ड अफ ट्रष्टिजमार्फत विश्वविद्यालय सञ्चालन गरिनुपर्ने बताउँदै आएका छन् । त्यस्तै विद्यार्थी घट्यो भनेर रोइलो गर्नुको साटो विद्यार्थी घट्नुको कारण पत्ता लगाइ त्यसको निराकरण गर्नुपर्ने उनले बताए ।

समयसापेक्ष र विश्व बजारमा बिक्न सक्ने खालको जनशक्ति निर्माणका लागि विश्वविद्यालयको अहम् भूमिका रहने उनको भनाइ छ । उनले भने, ‘हामीले नेपालमा मात्र नभई विश्व बजारको माग अनुसारको जनशक्ति उत्पादनतिर ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप