आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा

इन्जिनियरिङ पढ्ने विद्यार्थी संख्या घटेको चर्चा : के हो वास्तविकता ?

त्रिवि भन्छ– इन्जिनियरिङ पढ्ने विद्यार्थी भर्नाबारे चलेको हल्ला सत्य होइन
बुधबार, २७ मङ्सिर २०८०, १६ : ५७
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत इन्जिनियरिङ पढ्ने विद्यार्थी संख्या घटेको चर्चा चलिरहेको छ । विभिन्न कलेजमा भर्ना भएका विद्यार्थी र सिट संख्या उल्लेख गरेर विद्यार्थी घटेको भनेर चर्चा चलेको हो ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विद्यार्थी भर्ना प्रक्रियाबारे सम्पूर्ण विवरण वेबसाइटमा राख्छ । त्यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा विद्यार्थी संख्या घटेको हल्ला चलाइएको देखिन्छ ।

इन्जिनियरिङमा भर्ना प्रक्रिया पूरा भइसकेको छैन । आईओईले भर्ना सम्बन्धी जानकारी वेबसाइट admission.ioe.edu.np मा राख्ने गर्छ । प्रत्येक कलेजले उक्त वेबसाइटमा विद्यार्थी भर्ना हुने बित्तिकै अपलोड गर्नुपर्छ । त्यो तथ्याङ्क सबैले सार्वजनिक रूपमै देख्न सकिन्छ ।

आईओईको भर्ना तथ्याङ्कअनुसार हालसम्म पुल्चोक इन्जिनियरिङ कलेजमा ६२४ सिटमध्ये ३० मात्रै खाली छ । त्यस्तै थापाथली इन्जिनियरिङ कलेजमा ४३२ सिटमध्ये १०८ सिट खाली छ । त्यस्तै पश्चिमाञ्चल क्याम्पसमा ४३२ सिटमध्ये ११९ सिट खाली छ । पूर्वाञ्चल क्याम्पसमा ५२८ सिटमध्ये १०१ सिट खाली छ । काठमाडौँ इन्जिनियरिङ कलेजमा ३८४ सिटमध्ये १५४ सिट खाली छ ।

कान्तिपुर इन्जिनियरिङ कलेजमा २८८ सिटमा २२८ सिट खाली छ । सगरमाथा इन्जिनियरिङ कलेजमा १४४ सिटमा ६४ सिट खाली छ । त्यस्तै एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ३३६ सिटमा १६३ खाली छन् । हिमालय कलेज अफ इन्जिनियरिङमा २४० मध्ये १४१ सिट खाली छ । नेशनल कलेज अफ इन्जिनियरिङमा २४० मध्ये ३० सिट खाली छ ।

ललितपुर इन्जिनियरिङमा ९६ सिटमध्ये ६३ सिट, काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा १९२ सिटमध्ये १०६ सिट, जनकपुर इन्जिनियरिङमा १९२ मा १७२ सिट, ख्वप कलेज अफ इन्जिनियरिङमा १९२ मा ३३ सिट, चितवन इन्जिनियरिङ क्याम्पसमा २४ मा २ सिट खाली छन् ।    

निजी र सरकारी गरेर १५ वटा इञ्जिनियरिङ कलेजमा चार हजार ३४४ सिट छ । यसका लागि ८ हजारभन्दा बढीले प्रवेश परीक्षा दिएका थिए । जसमा ६ हजार भन्दा बढीको नतिजा सार्वजनिक गरिएको थियो ।

en

भर्ना प्रक्रिया अझै बाँकी नै रहेकाले अहिले नै इन्जिनियरिङ कलेजहरूले विद्यार्थी पाएनन् भन्नु गलत हुने देखिन्छ ।

ओईओईका सहायक डीन सुशिल बज्राचार्यले विद्यार्थी भर्नाबारे सामाजिक सञ्जालमा फेक समाचार आइरहेको बताए । त्यस्ता समाचारबारे आफूहरू जानकार रहेको भन्दै विद्यार्थी भर्ना प्रक्रियामै रहेको उनको भनाइ छ । 

‘अझै पनि भर्ना प्रक्रियामै छ । यो पूरा भएको छैन । पुल्चोकमा हिजोमात्र थर्ड लिष्ट निस्किएको छ । अझै थप लिष्टहरू निस्किन्छ,’ बज्राचार्यले भने, ‘थर्ड  लिष्टसम्ममा ३० सिट खाली छ । यो चौथो, पाँचौँसम्ममा भरिन्छ । सिट खाली भनेर कसले हल्ला चलायो, थाहा भएन ।’

आईओई अन्तर्गतका इन्जिनियरिङ कलेजहरूमा माघ २ गतेदेखि कक्षा सञ्चालन हुने उनको भनाइ छ । कक्षा सञ्चालन भएको एक हप्तासम्म पनि भर्नाको लिष्ट निकाल्ने उनले बताए ।

‘कक्षा सञ्चालन भएको एक हप्तासम्म पनि लिष्ट निकाल्छौँ । एक जना विद्यार्थीलाई सिभिल इन्जिनियरिङ पढ्न मन लागेको हुन्छ । सुरूमा अर्को पढ्छ । पछि यता आउँदा त्यताको सिट खाली हुन्छ । त्यस्तै त्यो ठाउँमा अर्को भर्ना गर्नका लागि प्रक्रिया नै हुन्छ । कक्षा सुरू भएको सात दिनसम्म पनि हामीले भर्ना प्रक्रिया अगाडि बढाइरहेका हुन्छौँ । अन्त्यमा सबै सिट अनुसार नै विद्यार्थी हुन्छन्,’ उनले भने ।

आईओईको तथ्याङ्क अनुसार पुल्चोकका अधिकांश शैक्षिक कार्यक्रममा सिट अनुसार नै विद्यार्थी भर्ना भइसकेका छन् । केही कार्यक्रमका लागि विद्यार्थी भर्ना प्रक्रियामै छन् ।

त्यस्तै थापाथली क्याम्पसमा समेत अधिकांश शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्ना भइसकेका छन् भने केहीमा बाँकी छन् । विद्यार्थीहरू प्रत्येक वर्ष पुल्चोक, थापाथली हुँदै अन्य क्याम्पसमा भर्ना प्रक्रिया विस्तारै गर्दै जाने गरेकाले अहिले नै विद्यार्थी सिट खाली भएको भन्न नमिल्ने सहायक डीन बज्राचार्यको भनाइ छ ।

केमिकल, मेकानिकल, सिभिल, अटोमोबाइल, इलेक्ट्रिकल, एग्रिकल्चर, इलेक्ट्रोनिक कम्युनिकेसन, कम्प्युटर इञ्जिनियरिङ लगायतका विषयमा धेरै विद्यार्थी भर्ना हुन बाँकी रहेको तथ्याङ्कले देखाउँछ ।

विगतका वर्षहरूमा पनि यसरी नै पहिलो, दोस्रो मात्र नभई दशौँ चरणसम्म भर्ना प्रक्रिया जाने गरेको थियो । यो पटक पनि तेस्रो चरणको भर्ना प्रक्रिया पूरा हुँँदा आधाभन्दा बढी विद्यार्थी भर्ना भइसकेको सहायक डीन बज्राचार्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप