आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक ५० वटा फेसबुक ह्याकको उजुरी

साइबर ब्युरोका एसपी भन्छन्– ‘३ महिनामा पासवर्ड परिवर्तन गर्नुस्’
बिहीबार, २८ मङ्सिर २०८०, १७ : ०४
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ ।

पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी बढेको साइबर ब्युरोका प्रवक्ता (एसपी) पशुपति रायले रातोपाटीलाई बताए । उनले भने–‘ह्याकिङ सम्बन्धी उजुरी बढेको छ ।’ आजभोलि दैनिक ५० वटा फेसबुक ह्याक सम्बन्धी उजुरी ब्युरोमा दर्ता हुने गरेको छ ।

प्रयोगकर्ताले फेसबुक अकाउन्ट खोलेर पासवर्ड बिर्सिने र रिकभरी गर्नका लागी आवश्यक इमेल आइडी पनि बिर्सिने समस्याका कारण ह्याकका घटना बढिरहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यस वर्ष साउनदेखि अहिलेसम्म ब्युरोमा ३ हजार ७८५ वटा फेसबुक ह्याक भएका उजुरी दर्ता भएका छन् । उजुरी दर्तापछि अनुसन्धान गरिने एसपी रायले जानकारी दिए । उनले भने–‘ टेक्निकल्ली अनुसन्धान गर्छौ, अनुसन्धानका लागी सेवा प्रदायक कम्पनीसँग पनि समन्वय गर्छौँ ।’

फेसबुक ह्याक हुनबाट रोक्न कम्तीमा ३ महिनामा पासवर्ड परिवर्तन गर्न एसपी रायले सुझाव दिएका छन् । एसपी राय भन्छन्–‘३ महिनामा पासवर्ड चेन्ज गर्नुस् ।

मङ्सिर १३ मा पर्साका एसपी कोमलबिक्रम शाहको फेसबुक ह्याक भयो । लामो प्रयासपछि ब्युरोले उनको आइडी रिकभर गराएको छ । कर्मचारी, राजनीतिक दलका नेताहरू र अन्य सामाजिक प्रतिष्ठा आर्जन गरेकाहरूको फेसबुक ह्याक भएको उजुरी दैनिक आउने गरेको छ । पछिल्लो दुई सातायता त्यस्ता उजुरी अत्यधिक बढेको एसपी रायले जानकारी दिए ।

ह्याकरविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को परिच्छेद–९ अनुसार ब्युरोले मुद्दा चलाउने गरेको छ । तर, अधिकांश ह्याकरहरू भियतनाम लगायतमा देशमा बस्ने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

सामाजिक सञ्जालबारे कानुन नहुँदा अनुसन्धानमा समस्या हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

ब्युरोमा साउन यता १२ वटा प्राइभेसी सम्बन्धी उजुरी दर्ता भएको छ । एक जनाको फोटो वा भिडियो धेरै मानिसहरूलाई पठाएको घटनामा प्रहरीले ‘प्राइभेसी’ भङ्ग गरेको कसुरमा कारबाही गर्ने गरेको छ । ह्वाट्स एपमा सम्पर्क गरेर नाङ्गो बन्न आग्रह गर्ने र भिडियो बनाएर बार्गेनिङ गर्ने घटना पनि ब्युरोमा अनुसन्धान गरिरहेको छ । त्यस्तो घटनालाई प्रहरीले ‘सेक्सर्सन’ भनेको छ । २०८० साउन पछि ६६ वटा सेक्सर्सनका घटना दर्ता भएका छन् ।

पछिल्लो ५ महिनामा सामाजिक सञ्जालमार्फत महिलालाई  हैरानी दिने ‘हेट स्पिच’ का घटना २२६ वटा दर्ता भएका छन् । हेट स्पिचमा संलग्नहरूलाई विद्युतीय कारोबार ऐन–२०६३ को दफा–४७ अनुसार कारबाही गर्ने गरिएको एसपी रायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप