शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

एमाले सांसद लक्ष्मी कोइरीलाई ज्यान मुद्दाबाट सफाइ

बिहीबार, २८ मङ्सिर २०८०, १७ : ५८
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । बिहीबार महोत्तरी जिल्ला अदालतले कोइरीलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको हो । 

महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरी र पवन कापरलाई कर्तव्य ज्यान मुद्दामा सफाइ दिएको छ । अन्य ७ जना प्रतिवादीलाई भने जन्मकैदको फैसला सुनाइएको छ । 

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । 

महोत्तरी जिल्ला अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी महेन्द्र झा का अनुसार कोइरी र पवन कापरले सफाइ पाएका हुन् भने ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर महोत्तरीको जलेश्वरमा हत्या गरिएको थियो । सोही हत्या प्रकरणमा लक्ष्मी महतो कोइरी लगायतलाई अभियुक्त बनाएर जिल्ला अदालतमा मुद्दा चलेको थियो । 

महोत्तरी जिल्ला अदालतले लक्ष्मी महतो कोइरीलाई २०७६ असोज २ गते एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध परिवार उच्च अदालत जनकपुर गएपछि उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसपछि कोइरी फरार भएका थिए । 

प्रहरीको फरार सूचीमा रहेका भएपनि कोइरी २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप