बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालेन- हर्क साम्पाङसहितको संलग्नतामा नयाँ दल खुल्न लागेको हो ?

शुक्रबार, २९ मङ्सिर २०८०, २१ : ४२
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । देशमा फेरि नयाँ दल खुल्न लागेकोबारे चर्चा परिचर्चा सुरु हुन थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलगायतको सक्रियतामा नयाँ पार्टी खुल्न लागेको चर्चा सुरु भएको हो । दुबै मेयर स्वतन्त्र लौरो चिह्नमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगेका हुन् । 

दुबै मेयरहरुले वर्तमान राजनीतिक दलका नेताहरुप्रति तिखो प्रहार गर्दै आएका छन् भने भ्रष्टाचार र बेथितिको पनि विरोध गर्दै आएका छन् । यस्तैमा काठमाडौँ आएको मौकामा हर्कले  बिहीबार मेयर बालेन शाहसँग १ घण्टा छलफल गरे । बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले छलफल गरेका थिए। 

उक्त भेटपछि साम्पाङले फेसबुकमा बालेनसँगको तस्बिर राख्दै आफूहरु विशाल बन्ने उल्लेख गरेका थिए ।  ‘जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !’ उनको भनाइ थियो । उनको स्टाटसले अब नयाँ दल बनाउन दुई मेयर लागिपरेको टिकाटिप्पणी भइरहेको छ।  

यस्तैमा शुक्रबार सामाजिक सञ्जालमा  साम्पाङले अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत गरेका छन् । ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’, साम्पाङको प्रश्न छ । 

देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को को हुनुहुन्छ ?’ 

देशमा ‘परिवर्तन’ ल्याउने दाबीका साथ नयाँ दलहरु खुल्ने क्रम जारी छ । यस्तोमा बालेन र साम्पाङसहितले के नयाँ पार्टी खोल्लान् ? या खोलेमा कहिलेसम्म मूर्तरुप पाउला ? त्यो चासोको विषय बनेको छ । नयाँ पार्टी खोल्नेबारे विभिन्न चरणमा छलफल भइरहेपनि कहिलेसम्ममा घोषणा हुनेबारे हालसम्म कुनै टुंगो नलागेको बालेनका निकटस्थहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप