आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एमालेको सङ्कल्प यात्रा

विश्लेषकको नजरमा १८ दिने अभियान

परिवर्तन विरोधीलाई साइजमा ल्यायो : पोखरेल, राष्ट्रिय समस्या समाधान कसरी हुन्छ ? अभियानले बोलेन : खतिवडा
आइतबार, ०१ पुस २०८०, २० : २९
आइतबार, ०१ पुस २०८०

विराटनगर । ठुलो तामझाम र लावालस्करसहित मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ मङ्सिर २६ गते कोशी प्रदेश प्रवेश गर्दा तनावपूर्ण थियो । 

यात्रा अवधिभर कोशी प्रदेशको पहिचानको आन्दोलनलाई केन्द्रित गर्दै आक्रामक भाषण दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पहिचानको आन्दोलनमा रहेका संघ संस्थाले पार्टीको अभियान नै अवरुद्ध गर्ने तयारी गरे । एमालेको अभियान कोशी प्रदेश प्रवेश गर्दै गर्दा पहिचानवादीले मङ्सिर २५ गते नै बन्द र विरोधका कार्यक्रम आह्वान गरे ।

दुई पक्षको आक्रामक कार्यक्रम र वाद विवादलाई नजिकबाट हेरिरहेको सुरक्षा संयन्त्रले सुरक्षाको मजबुत प्रबन्ध गर्‍यो । एमालेको अभियान कोशी प्रवेश गरेकै दिन सुरक्षाकर्मीहरूले एक दर्जन नेता तथा कार्यकर्तालाई उदयपुर र खोटाङबाट पक्राउ गर्‍यो । दोस्रो, तेस्रो दिनमा लगातार सुरक्षाकर्मीहरूले पहिचानवादीका कार्यक्रमलाई निस्तेज बनाउन नेतृत्व गरिरहेका नेताहरूलाई पक्राउ गरिरह्यो । यो बिचमा झण्डै तीन दर्जन पहिचानवादीहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । कतिपय छुटेका छन् भने कतिपय अझै प्रहरीको हिरासतमा छन् । अभियानकै क्रममा ओलीमाथि धनकुटाको लेगुवामा आक्रमणको प्रयास भयो । 

त्यस्तै अनेकौँ विरोध र अवरोधकाबिच एमालेको सङ्कल्प अभियान पाँचथरको चिवाभन्ज्याङमा पुगेर आइतबार समापन भएको छ । सामान्य घटनाबाहेक अप्रिय घटना हुन पाएन भने एमालेले गरेका सार्वजनिक सभा, समारोहहरूमा सर्वसाधारणको उपस्थिति पनि उल्लेख्य रह्यो । केही दर्जन सवारी साधन ओहोरदोहोर गर्ने मध्यपहाडी राजमार्गमा लावालस्कर गाडीहरू कुदे । अन्तिम दिन अध्यक्ष ओलीले हेलिकप्टरबाट चिवाभन्ज्याङ पुगेर नेपालको झण्डा गाडे । 

ओली आइतबार नै काठमाडौँ फर्केका छन् । अभियानको औपचारिक समापन काठमाडौँमा आगामी ५ गते हुने बताइएको छ । 

योबिचमा एमालेले चलाएको अभियानले दिएको सन्देश चाहिँ के हो भन्ने विषयमा बहस र चर्चा भइरहेको छ । कतिपय विश्लेषकहरूले एमालेको अभियानले व्यवस्था विरोधीहरूलाई मत्थर पार्न सफल भएको बताएका छन् भने कतिपयले राष्ट्रिय समस्या समाधानका लागि एमालेको अभियानले कुनै पनि भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । 

अध्यक्ष ओलीले भने राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको दाबी गरे । ‘देशको राजनीति अलमलमा छ,  देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ सङ्कल्प अभियानको अन्तिम बिन्दु चिवाभन्ज्याङमा अध्यक्ष ओलीले भने, ‘सङ्कल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’ 

ओलीले पहिचानवादीलाई लक्षित गर्दै अवाञ्छित चिन्तन पराजित भएको पनि बताए । ‘यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आम जनताको मनोबल उच्च भएको छ’, उनले भने ‘सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा यो यात्राले दिएको छ ।’

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले पनि एमालेको यात्राले परिवर्तन विरोधीहरूलाई ओझेलमा पारिदिएको बताए । ‘एमालेको यात्राले केही सकारात्मक काम गरेको छ । एमालेको नजरबाट हेर्दा अहिलेको सन्दर्भमा आफ्ना नेता र कार्यकर्तालाई सपना देखाउने काम भएको छ । त्यो भनेको ८४ मा बहुमत ल्याउँछौँ । त्यसका लागि यो यात्रा हो भन्ने एउटा सन्देश हुनसक्छ,’ पोखरेलले भने,  ‘अर्को पाटो राजा ल्याउनुपर्छ भन्दै आन्दोलन चर्केला जस्तो देखिएको सन्दर्भमा भएको यात्राका क्रममा अब राजतन्त्र फर्कँदैन, गणतन्त्र यस्तो हो भनेर एमालेका अध्यक्षले दिएको सन्देशले राजतन्त्र पक्षधरको क्रियाकलाप ओझेलमा परे ।’

पोखरेलका अनुसार पहिचानको विषयमा भने प्रदेशमा आएपछि ओली नरम सुनिएको बताए । ‘राज्यले पनि अभियानलाई राम्रो सुरक्षा प्रदान गर्‍यो । पहिचान पक्षधरले पनि विरोध गर्नुपर्छ भनेर श्राद्धमा बिरालो बाँधे जस्तो मात्रै गरेको हो कि जस्तो लाग्छ । यद्यपि पहिचान पक्षधरले विरोध गरे पनि एमालेको अभियान रोकिएन,’ उनले भने, ‘एमालेलाई पहिचानको विरोधी मानेर केही गर्नुपर्छ भन्ने खालको कुरा गरेको जस्तो मलाई लाग्छ । तर, संगठित हिसाबले प्रतिरोध गर्नसक्ने अवस्था थियो भने त एमालेको यात्रा सहज ढंगले अगाडि बढ्ने थिएन ।’

एमालेको अभियानले सरकारलाई पनि राहत भएको विश्लेषक पोखरेलले बताए । ‘सरकारलाई पनि एमालेको अभियानले सहयोग गर्‍यो । सत्तारुढ गठबन्धन र प्रतिपक्ष परिवर्तनको एजेण्डालाई टिकाउने कुरामा एक ठाउँमा छन् भन्ने सन्देश पनि दियो । एमालेको अभियानले परिवर्तन पक्षधरलाई फाइदा नै गर्‍यो,’ उनले भने ।  

यस्तै ओलीले आफ्नो सम्पूर्ण शक्ति लगाएर अभियान चलाएको आफूले पाएको उनले बताए । ‘अहिले हुन्छ वा हुँदैन भन्ने ठानेर अध्यक्ष केपी ओलीले सम्पूर्ण शक्ति (शारीरिक, मानसिक, बौद्धिक)लगाएको देखियो । एउटा मुलुकभित्रको कोर एरिया, मध्य पहाडी भूखण्डमा परिवर्तनको पक्षमा जागरण ल्याएको र गणतन्त्रको पक्षमा ल्याएको देखियो,’ उनले भने । 

उता, राजनीतिक विश्लेषक डम्बर खतिवडाले भने राष्ट्रिय समस्या समाधानका लागि एमालेको यात्राले कुनै भूमिका खेल्न नसकेको जिकिर गरे । ‘लोकतन्त्रमा राजनीतिक दलहरू आ–आफ्नो क्रियाकलाप गरिरहन्छन् । जनतासँग संवाद गर्ने बहाना पनि चाहिन्छ । त्यस दृष्टिकोणले एमालेको यात्रा राम्रै हो । त्यसबाहेक राष्ट्रिय राजनीतिमा कुनै पनि योगदान गर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘अहिलेको मुख्य समस्या भनेको दलतन्त्र हो, भ्रष्टाचार हो, आर्थिक महँगी हो, आर्थिक मन्दी र आर्थिक सङ्कट हो, वित्तीय अनुशासनहीनता हो । अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र चलखेल हो, भूराजनीतिक चलखेल हो । यसलाई हल गर्न एमालेको यो यात्राले के योगदान गर्‍यो ? के सन्देश दियो ? आर्थिक सङ्कट हल गर्ने एमालेको प्रस्ताव र उपाय के हो ? राष्ट्रिय ऋण बढ्यो, पोखरा र भैरहवा विमानस्थल बनेर पनि अन्तर्राष्ट्रिय उडान आएन, त्यसको हल गर्ने एमालेको उपाय के हो ? मानिस विदेशी रहेका छन् उनीहरूलाई रोक्ने एमालेको उपाय के हो ? एमालेले काहीँ भनेको त सुनिएन ।’

देशको जनसङ्ख्या सबै काठमाडौँ वरिपरि र तराईका २२ जिल्लामा सरेको दृष्टान्त दिँदै खतिवडाले त्यसलाई कसरी हल गर्ने ? भन्ने विषयमा एमालेको अभियानले केही नदिएको बताए । 

उनका अनुसार पहिचानको मुद्दामा पनि एमालेलाई पूर्वमा आएपछि गाह्रो बनायो । ‘नेपाली समाजमा पहिचानको मुद्दा जसरी बसेको छ । त्यसलाई कुनै न कुनै हिसाबले सम्बोधन नगरेसम्म लामो समयसम्म पिरोल्छ,’ खतिवडाले भने, ‘पहिचानवादीले पनि राजनीतिक कार्यक्रम अवरोध गर्नुलाई राम्रो मान्न त सकिँदैन । एमालेले यात्रा गरेको बेला टसल गर्नु राम्रो नराम्रो भन्ने अर्कै विश्लेषण गर्न सकिन्छ । तथापि एमालेले कार्यक्रम छोट्याएर भाग्नु पर्ने अवस्था त आयो । खोटाङतिर खास कार्यक्रम गरेको देखिएन । ओखलढुङ्गाबाट एकैपटक वसन्तपुरमा खुल्ला कार्यक्रम भयो । माझ किराँत भरि एमालेले कार्यक्रम राम्रोसँग गर्न सकेन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप