शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : मिसन चौरासी !

सोमबार, ०२ पुस २०८०, १० : १९
सोमबार, ०२ पुस २०८०

आशा र विश्वास 
लगनगाँठो कसेर हनिमुन मनाउन नपाउँदै
विश्वास मुकामको बाटो हुँदै
सफल सपनाहरूको खाँडो जगाउन
अरब जित्न साउदी पसे
आशा विश्वास फर्कने बाटो हेरेर
तन्नेरी जवानीलाई
विपनामा कल्पेर कल्पना
तन्नेरी रहरहरू पूरा गर्दैछन्  सपनाहरूमा ।
मौलाएर फुल्न फक्रिन नपाएको 
प्रेम फूल 
सामाजिक सञ्जालको बगैँचामा फुलाउँदैछ ।
तिमी चाहिँ
मिसन चौरासीको बिगुल फुक्दैछौँ
                   ०००
भरोसाको बाँधहरू भत्केर
धैर्यताको नदी बन्दै बगेर टाढा पुगिसकेको छ ।
पिडाको नाइल नदी भेट्न 
विवस छन् 
तन्नेरी जवानी पराइको परदेशमा बिताउन 
बिरामी परेका छन् गाउँ घरको सभ्यता 
दलनदेखि दैलोसम्म सिरो घाँस उम्रेको छ ।
बार्दलीको खाँबो मक्केर झरी सकेको छ ।
बुढो हुँदै गएको बाआमा
उहाँहरू सँगै बुढो हुँदै गरेको बुढो घर 
परदेशको सस्तो श्रमबजारमा लिलाम गरेको 
रगतपसिनाको प्रतिफलमा
सदरमुकाम बसाइँ सरेको छन् 
आशाहरू
युवाबिना रित्तो भएको छ गाउँ 
अझै भन्दै छौ तिमी 
मिसन चौरासी हाम्रो जित 
अनि मात्रै जनताको जिन्दगी सुनिश्चित  
                   ०००
घात र घिन अँगालोमा बाँधेका तिमीहरू
पौरखबिनाको 
आलिसान धनी जीवनको रस चुस्न सिपालु 
जनताको अपरिहार्य आधारभूत समस्याको हल गर्न 
सकि रहेको छैनौ
अन्धकारको बिचमा 
आश्वासनको दीप बन्न खोज्दछौँ ।
जनतालाई उपचारको काल्पनिक कथा सुनाएर
तिमी गर्छौ उपचार 
संसारकै उत्कृष्ट अस्पतालहरूमा
जनताको मनका गहिराइमा, 
पीडा पटक पटक दिन्छौँ 
कति बिते कति 
तिमीहरूको उधारो मिसन 
अझै भन्दैछौ मिसन चौरासी !
                ०००
मध्यपूर्बको मरुभूमिदेखि 
साइबेरियाको चिसो हावा बग्ने
युक्रेन रुसको युद्धमा जीवन जित्न
अरूका लागि 
आफ्नै आफ्ना युद्ध लड्दै गरेको 
नेपाली जीवनलाई
तिम्रो मिसनको के छ काम ?
फस्टाउँदै गरेको पासपोर्टको व्यापार
मान्छे निर्यात गर्ने मान्छे बेच्ने पसल 
छन्, छ्यापछ्याप्ती सहरभरि
देखे धेरै तिमीहरूको मिसन
भोगे धेरै तिमीहरूको मिसन
कोरा सपनाहरूको च्याँखे थाप्दै,
सोझासीधा जनताको 
भाग्य र भविष्यमा खेलाँची गर्दै
जनताको रगतपसिना मिसिएको करबाट
सङ्कल्पको खाँडो जगाएर 
फगत यात्रा गर्दैछौँ ।
थाहा भएन ! 
केका लागि मिसन ८४ को गफ छाड्दैछौँ ?
                              
पाँचखाल, काभ्रेपलाञ्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप