सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सिम्रौनगढ घटना

‘कमाउने छोरा गुमाएपछि सहकारी र लघुवित्तको ऋण कसरी तिर्ने ?’

सोमबार, ०२ पुस २०८०, १४ : ४०
सोमबार, ०२ पुस २०८०

बारा । प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका वडा नं १ का लक्ष्मी मुखिया बिनको निधन भएपछि उनको परिवार शोकमा डुबेको छ ।  नगरपालिकाको विरोध कार्यक्रम हेर्न गएका मुखियाको बुधवार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो । 

छोरा मृत्यु भएपछि आमा सुरथिया देवी भाव विह्वल अवस्थामा छिन् । घरमा कमाउने छोराको ज्यान गएपछि नाबालक नाति नातिनाको रेखदेख मात्रै होइन सहकारी र लघुवित्तको १० लाख ऋण कसरी तिर्ने भन्ने चिन्ता उनमा छ । 

मुखियाकी आमा सुरथिया देवी प्रहरीको लापरबाहीका कारण आफ्नो छोराले अकालमा ज्यान गुमाउनु परेको बताउँछिन् । 

मृतक मुखियाको २ वर्षको छोरा र ४ महिनाकी नाबालक छोरी छन् । 

सम्पत्तिको नाममा गुठीको ५ धुर सार्वजनिक जग्गामा बनाएको सानो घर बाहेक केही छैन । स्थलगत रिपोर्टिङको क्रममा उनको घरमा पुग्दा आमा सुरथिया सासले बोल्दै रुँदै थिइन्, श्रीमती अचेत  अवस्थामा थिइन् भने नाबालक बच्चाहरू आमा र हजुरआमाको अनुहार हेरेर रोइरहेका थिए । 

‘कमाउने छोरा पुलिसको गोली लागेर मर्‍यो अव हामी कसरी बाच्ने ? साना किसान र लघुवित्तको १० लाख कर्जा छ ,कसरी तिर्ने ?’ आमा सुरथियाले रुँदै भनिन् ‘साना पोतापोतीलाई कसरी हुर्काउने, पढाउने ?’

sa4

मृतक मुखियाले घर बनाउने ज्यालादारी काम गरेर परिवार पेट पाल्दै आएका थिए । दैनिक ज्यालादारी काम  नपाएको दिन छाक टार्न धौधौ हुन्थ्यो । सिम्रौनगढ नगरपालिकामा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले  सेवा सुविधा नपाएका भन्दै कार्यालय मुलगेटमा ३ महिनादेखि शान्तिपूर्ण धर्ना बस्दै आएका छन् । 

गत बुधवार नगरप्रमुख किशोरी प्रसाद कलवारले पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई सिम्रौनगढमा हाजिर गराउन ल्याएपछि झडपको अवस्था सिर्जना भएको थियो । सोही क्रममा  आन्दोलनकारीले नगरप्रमुखको गाडी तोडफोड गरेपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय युवा लक्ष्मी मुखियाको ज्यान गएको हो ।  

नगर सभामा नेपाली कांग्रेस बहुमत रहेको सिम्रौनगढमा नगरप्रमुख कलवारले मुख्यमन्त्रीको इशारामा प्रमुख प्रशासकीय प्रमुख ल्याएको आरोप छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको निजी निवास पनि यसै पालिकाको वडा नं ३ मा छ । 

sa6

सेवा, सुविधा नपाएका कर्मचारी र नगरप्रमुखबिचको द्वन्द्वमा स्थानीय युवकको ज्यान गएको छ । मुखियाको शव वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा छ । सिम्रौनगढ नगरपालिका नेपाली कांग्रेसका वडाध्यक्षहरूले भने इप्रका सिम्रौनगढका प्रहरी निरीक्षक रविभुषण यादवले मुख्यमन्त्रीको इशारामा गोली चलाएको भन्दै घटना भएको दिनको प्रहरी निरीक्षक यादवको कल डिटेल चेक जाँच गर्नुपर्ने, नगरप्रमुख कलवारमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति, परिवारको व्यवस्थापन र रोजगारको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् । सिम्रौनगढ नगरपालिकामा कानुनी रूपमा नगर सभा प्रमाणित नहुँदा स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षकले गत वर्षदेखिको तलब सुविधा पाएका छैनन् । 

sa5

हाल देखिएको समस्यालाई लिएर बारा निर्वाचन क्षेत्र नं १ का संघीय सांसद अच्युत मैनाली, नगरप्रमुख कलवार, नेपाली कांग्रेसका पूर्व नगरप्रमुख विजय शंकर यादवबिच पटक पटक छलफल भए पनि निकास भने निस्कन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप