सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘साइबर हमला’ ले इरानको इन्धन आपूर्तिमा कटौती

सोमबार, ०२ पुस २०८०, १९ : ३६
सोमबार, ०२ पुस २०८०

तेहरान । इरानले इजराइल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको उसको भनाइ छ । 

तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उनले उक्त हमलाका लागि बाहिरी शक्तिलाई दोष दिँदै भने, “यहुदीवादी (इजराइल) र अमेरिकाले अन्य मोर्चामा झट्का लागेपछि समस्या सिर्जना गर्न खोजे ।”

यसअघि उपतेलमन्त्री जलिल सलारीले इरानी जनताले अनुदानमा पेट्रोल खरिद गर्न प्रयोग गर्ने कार्डमा केही समस्या रहेको बताएका थिए । प्रमुख तेल उत्पादक इरान विश्वमा सबैभन्दा सस्तो पेट्रोलको मूल्यमध्येको एक मुलुक हो । यहाँ एउटा कार्डले इरानीहरूलाई १५ हजार रियाल (करिब तीन अमेरिकी सेन्ट) प्रतिलिटर सहुलियतदरमा प्रतिमहिना ६० लिटरसम्म खरिद गर्न अनुमति दिन्छ । 

उपतेलमन्त्री सलारीका अनुसार प्रणाली असफल भएपछि पेट्रोल स्टेसनहरूले ‘अनलाइन प्रणालीलाई विच्छेद गरेका छन्’ र इन्धनको अफलाइन आपूर्ति भइरहेको छ । एएफपीका संवाददाताका अनुसार सोमबारको अवरोधका कारण तेहरानमा केही स्टेसनबाहिर कारहरूको लामो लाइन लागेको छ र अन्य पूर्णरूपमा बन्द गरिएको छ । 

इरानका राष्ट्रपति इब्राहिम राइसीले अनुसन्धान गर्न आदेश दिँदै सङ्टक समधानका लागि ‘तत्काल उपाय’ अपनाउन आग्रह गरेका छन् । अधिकारीहरूले ‘सङ्कट समिति’ गठन गरेका छन् र मन्त्री सलारीले प्रणाली केही घन्टाभित्र ठिक हुनसक्ने अपेक्षा व्यक्त गरे । 

सन् २०२१ अक्टोबरमा इरानले यस्तै प्रकारको एक साता लामो अवरोधको सामना गर्नुपरेको थियो । त्यसका लागि अधिकारीहरूले बाहिरी तत्वहरूले गरेको अभूतपूर्व साइबर हमलालाई दोष दिएका थिए । 

अनुदान प्रणालीमा सुधार र ठूलो मात्रामा तस्करीमाथि नियन्त्रण गर्ने उद्देश्यले इरानमा पहिलो पटक सन् २००७ मा इन्धन कार्ड लागु गरिएको थियो । इरानको अर्थतन्त्र आन्तरिक अव्यवस्थापन र बाहिरी दबाबका कारण थला परेको छ । सन् २०१८ मा अमेरिका ऐतिहासिक आणविक सम्झौताबाट फिर्ता भएको थियो र केही वर्षका लागि हटाइएको प्रतिबन्धलाई उसले पुनः लागु गरेको छ । 

इरानी सरकारले उसको कट्टर दुश्मन इजराइलमाथि उसको आणविक कार्यक्रमलाई लक्षित गरी तोडफोड आक्रमण र हत्या गरेको आरोप लगाएको छ । अमेरिका र इजराइलले इरानमाथि यस क्षेत्रमा मित्र देशहरूको सेना र जहाजविरुद्ध हमला गराएको आरोप लगाएका छन् ।-(रासस/एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप