त्रिविको पाठ्यक्रम समयानुकूल बनाउन विद्यार्थीको सुझाव
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोह मनाएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
यद्यपि दीक्षित विद्यार्थीहरूले त्रिविको सबै सङ्कायको पाठ्यक्रम ‘आउट–डेटेड’ भइसकेकाले त्यसलाई समयानुकूल बनाउनुपर्ने खाँचो रहेको औंल्याएका छन् ।
हेटौंडा निवासी डा आर्यन मानन्धरले महाराजगञ्ज मेडिकल कलेजमा अध्ययन गरे । सल्यान जिल्ला अस्पतालमा कार्यरत मानन्धर दीक्षान्त समारोहका लागि काठमाडौँ आइपुगेका हुन् । डा मानन्धरले मेडिकलको कोर्ष पुरानै रहेको बताउँदै यसलाई अब चाँडै समयानुकूल बनाइएन भने मेडिकल शिक्षा नै कमजोर हुने बताए ।
मोडेल नेपाल कलेजबाट बिबिए गरेका धुलिखेलकी इस्मा श्रेष्ठ स्नातकोत्तरको अध्ययनका लागि विदेश जाने तयारीमा छिन् । नेपालको व्यवस्थापन सङ्कायमा कोर्षमा प्रयोगात्मक नभएको र कोर्ष पनि पुरानै रहेकाले बजारमा बिक्नै गाह्रो हुने गरेको उनले बताइन् । श्रेष्ठले भनिन्, “अहिले आवश्यकताअनुसारको शिक्षा छैन । बजारमा प्रतिस्पर्धा गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्ने खाँचो छ । ‘थ्योरी’मात्रै पढेर काम पाइँदैन अनि विदेश जानुपर्ने बाध्यता हुन्छ ।”
त्यस्तै, रानीवनकी अरुणा गौलीले त्रिविबाट विजनेस एडमिनिस्ट्रेसन पढिन् । गौलीले अबको योजना विदेश गएर पढ्ने रहेको बताइन् । उनले भनिन्, “नेपालमा पढाइ खासै राम्रो र प्रतिस्पर्धा गर्ने खालको छैन । बाहिर धेरै ‘एड्भान्स’ भइसक्यो । हाम्रो बजारलाई चाहिएको शिक्षा नै छैन । त्रिविअन्तर्गतको सबै सङ्कायको कोर्ष फेर्नुपर्ने आवश्यकता खट्किसक्यो तर त्यसलाई परिवर्तन गरिएको छैन ।” उनले, स्नातक पूरा गर्न पाँच वर्ष नै लाग्ने बताउँदै पास हुन पनि एक वर्ष बरबाद गर्नुपर्ने अवस्थाप्रति शिक्षा क्षेत्र सचेत हुनुपर्ने बताइन् ।
यद्यपि हेटौंडाका आर्यन मानन्धरले आगामी योजना सुनाउँदै भने, “अब लोकसेवा दिने विचार गरेको छु । अहिले भने कर्णाली जिल्लामा बसेर केही समय चिकित्सा सेवा गर्ने इच्छा छ ।” डा मानन्धरले आफ्नो देशको माया लागेको बताउँदै भने, “विदेश जान धेरै पैसा खर्च गर्नुको साटो यहीँ बसेको बेस् । फेरि बाहिर अहिले सुरक्षा पनि पहिलेजस्तो छैन ।”
देशमा स्वास्थ्य सेवाको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै मानन्धरले भने, “चिकित्सकलाई नेपालमा काम गरेअनुसारका तलब छैन । त्रिविले धेरै समय लगाएर सेमेस्टर सकाउँदा विद्यार्थी पढेर निस्किन नै धेरै समय लाग्छ ।”
त्यस्तै, चितवन मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका महोत्तरी जिल्ला जलेश्वरका प्रतीककुमार चौधरीले उच्च शिक्षाका लागि अमेरिका जाने योजना सुनाए । उनले भने, “मेडिकलको कोर्ष अपडेट गर्नुपर्ने आवश्यकता छ । धेरै पुरानो भयो, यति शिक्षाले प्रतिस्पर्धा गर्न नेपाली विद्यार्थीलाई भविष्यमा समस्या हुन्छ । त्यसमाथि नेपालमा चिकित्सलाई सुरक्षा नभएको देख्दा दुःख लाग्छ । हुनुपर्ने जति न त देशमा चिकित्सकलाई सम्मान छ न त काम गरेअनुसारको तलब नै छ ।”
तर लुम्बिनीकी खुश्बु अग्रहरीले नेपालमै बस्ने र काम गर्ने योजना रहेको बताइन् । अग्रहरीले पोखरा मल्टिपल क्याम्पसबाट स्नातक गरेर अङ्ग्रेजी विषयबाट स्नातकोत्तर गर्दै छिन् र देशमै आफ्नो भविष्य खोज्दै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण