सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागेका छन् : सचेतक बर्तौला

मङ्गलबार, ०३ पुस २०८०, १९ : १९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन्  । 

सचेतक बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरु कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरु माथिल्लो तहको सेटिङमा लागेको बताए । उनले राजनीतिक स्वार्थमा ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहमा सेटिङ गरेर मजुवा, भैसे, बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीति रहेको दाबी गरे । उनले यो काममा कर्मचारीहरुको पनि संलग्नता रहेको जानकारीमा आएको उल्लेख गरे । 

राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुनसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गरे । उनले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरु धरासायी र व्यवसायिक योजना विहीन भएको दाबी गरे । उनले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरुमा नियुक्त गर्न सरकारसँग माग गरे । उनले हेटौँडा सिमेन्टको महाप्रबन्धक कृषिको विज्ञ भएको बताए । उनले अहिले सरकारी उद्योगहरु बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उल्लेख गरे । उनले अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको बताए  ।

सचेतक बर्तौलाले ३८ वर्ष पुरानो सिमेन्ट उद्योगको टेक्नोलोजी परिमार्जन नगरे निजी उद्योगसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको बताए । उनले १५५ बिघा जग्गामा फैलिएको सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगमा थोरै लगानी गर्दा चल्ने अवस्था रहेको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप