मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

भारतका विभिन्न बैंकमा ४२ हजार करोडभन्दा बढी रकम बेवारिस

बुधबार, ०४ पुस २०८०, ११ : ५६
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । भारतका विभिन्न बैंकमा बेवारिस रकम अर्थात् ‘अनक्लेम्ड डिपोजिट’ बढ्दै गएको छ । मंगलबार भारत सरकारले त्यहाँको संसदमा यसबारे तथ्याङ्क पेस गरेको थियो ।

सरकारले पेस गरेको तथ्याङ्क अनुसार मार्च २०२३ सम्म भारतका विभिन्न बैंकमा जम्मा भएको बेवारिस रकम ४२ हजार २७० करोड रुपैयाँ पुगेको छ । यो यस्तो रकम हो, जो विभिन्न बैंकमा जम्मा भएर पनि त्यसका हकवाला कोही नदेखिएका हुन् ।

बिजनेस स्ट्याण्डर्डको रिपोर्ट अनुसार सन् २०२२ मा सार्वजनिक र निजी क्षेत्रका बैंकमा ‘अनक्लेम्ड डिपोजिट’ ३२ हजार ९३४ करोड रुपैयाँ थियो । तर सन् २०२३ को मार्चसम्ममा यो रकम बढेर ४२ हजार २७२ करोड पुगेको छ ।

भारतका वित्त राज्यमन्त्री भागवत के कराडले राज्यसभामा एक प्रश्नको लिखित जवाफमा भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया)ले बेवारिस रकमको परिमाण घटाउन र सही हकवालालाई रकम फिर्ता गर्न विभिन्न कदम उठाएको चर्चा गरे ।

कसरी हुन्छ ‘अनक्लेम्ड डिपोजिट’ ?

विभिन्न बैंकले वार्षिक रुपमा आफ्नो बैंक अन्तर्गतका खाता पुनरावलोकन गर्दछन् । यस क्रममा कुन खाता निष्क्रिय छ भन्ने पनि पत्ता लगाइन्छ ।

जब कुनै खातावालाले १० वर्ष यता आफ्नो खातामा रकम जम्मा नगरेको खण्डमा वा उक्त खाताबाट रकम ननिकालेको खण्डमा त्यस्तो खातामा रहेको रकमलाई ‘अनक्लेम्ड डिपोजिट’ भनिन्छ ।

त्यस्तो खातावालासँग बैंकले सम्पर्क गर्ने प्रयास गर्दछ । तर जुन खातावाला सम्पर्क हुन सक्दैन वा उसको हकवाला सम्पर्क हुन सक्दैन, त्यस्तो खातामा रहेको रकमको परिमाणसहित सम्बन्धित बैंकले केन्द्रीय बैंकलाई जानकारी दिन्छन् । त्यसपछि त्यस्तो रकमलाई डिपोजिटर एजुकेशन एन्ड अवेयरनेस फण्डमा सारिन्छ ।

‘अनक्लेम्ड डिपोजिट’लाई लिएर भारतको केन्द्रीय बैंकले सचेतना अभियान सञ्चालन गर्दछ, जसबाट त्यस्तो खातावालाको कानुनी हकदार पत्ता लगाउन सकियोस् । कुनै खातावालाको मृत्यु भएमा वा खातावालाले आफ्नो दस्तावेजमा कसैलाई हकवाला ठहर नगरेमा पनि ‘अनक्लेम्ड डिपोजिट’ बढ्ने विज्ञहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप