मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
आन्दोलन चिकित्सकको, हैरानी बिरामीलाई

दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)

मङ्गलबार, १२ साउन २०८३, १९ : ४५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • चिकित्सकहरूमाथि भएको दुर्व्यवहारको विरोधमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको छ ।
  • यस बन्दले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएका बिरामीहरू गम्भीर मर्कामा परेका छन् ।
  • दुर्गम जिल्लाहरूबाट ठुलो खर्च र सास्ती खेपेर आएका बिरामीहरू अस्पताल बन्द हुँदा अलपत्र परेका छन् ।

काठमाडौँ । चिकित्सकमाथि भएका दुर्व्यवहार र कुटपिटको विरोधमा स्वास्थ्यकर्मीले देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । सोही क्रममा काठमाडौँका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएका सर्वसाधारण गम्भीर मर्कामा परेका छन् ।

चिकित्सकहरूमाथि भएको आक्रमणको विरोधमा चिकित्सक संघको आह्वानमा देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालहरू बन्द गरिएपछि उपचारको आसमा टाढाबाट आएका बिरामीहरू अलपत्र परेका हुन् ।

आकस्मिक रुपमा बन्द गरिएका कारण दुर्गम जिल्लाहरूबाट ठुलो खर्च र सास्ती खेपेर आएका बिरामीहरू वीर अस्पतालको मूल ढोका बाहिरै बस्न बाध्य छन् । गुल्मीबाट एक महिनाअघि काठमाडौँ आइपुगेकी ७० वर्षीया वृद्धा हिँड्न समेत नसक्ने अवस्थामा आजको पालोमा जाँच गराउन वीर अस्पताल पुगेकी थिइन् । अस्पताल बन्द भएको थाहा पाएपछि उनी स्तब्ध बनिन् ।

चिकित्सकमाथि हातपात गर्नु गलत भए पनि अस्पताल नै बन्द गरेर सर्वसाधारणलाई सास्ती दिनु न्यायसङ्गत नभएको उनको बुझाइ छ ।

यस्तै पीडा ओखलढुङ्गाबाट ढाडको हड्डी दुख्ने समस्या लिएर आएकी बिमाया र उनीसँगै आएका ७० वर्षीय छत्रबहादुर तामाङको पनि छ । सोमबारमात्र काठमाडौँ आइपुगेका उनीहरू आज अस्पताल बन्द भएपछि दोधारमा छन् ।

जनकपुरबाट ढाड दुखाइको उपचार गराउन आएका नागेश्वर यादव बिहान ८ बजे अस्पताल पुग्दा ढोका बन्द देखेपछि निराश बने । उनले आक्रोश पोख्दै भने, 'डाक्टर कुटिनु दुःखद् हो र उनीहरूले सुरक्षा पाउनुपर्छ, तर एक ठाउँको समस्यालाई लिएर देशभरका अस्पताल बन्द गरिदिँदा हामीजस्ता टाढाबाट ऋण काढेर आउने बिरामी कहाँ जाने ?'

बन्दको असर वीर अस्पतालमा मात्र नभई राष्ट्रिय ट्रमा सेन्टरमा पनि उत्तिकै देखिएको छ । ट्रमा सेन्टरमा बुवाको घुँडाको उपचार गराइरहेका मकवानपुर गढी(६ का नरबहादुर स्याङ्तानका अनुसार, अप्रेसनका लागि तयारी अवस्थामा राखिएका र अघिल्लो रातदेखि भोकै तिर्खै बस्न भनिएका बिरामीहरूको अप्रेसन समेत आज अन्तिम समयमा आएर रोकिएको छ । जसले गर्दा आक्रोश र अन्योलको वातावरण सिर्जना भएको उनले बताए ।

सर्लाही लालबन्दी –१२ की एक महिला जेठ २ गते नै खुट्टाको अप्रेसनका लागि काठमाडौँ आएकी थिइन् । आजका लागि तय गरिएको उनको अप्रेसन स्वास्थ्य संस्था बन्दका कारण तेस्रो पटक रद्द भई सोमबारका लागि सारिएको छ । दिनभर भोकै(तिर्खै बस्नुपर्दा र पटक पटक पालो सर्दा बिरामी र कुरुवाहरू चरम आर्थिक र मानसिक तनावमा परेका छन् ।

चिकित्सकहरूको जिउज्यानको सुरक्षा र न्यायको माग जायज भए पनि संवेदनशील स्वास्थ्य क्षेत्रलाई नै बन्द हड्तालको थलो बनाउँदा निमुखा नागरिकले ज्यान गुमाउनुपर्ने जोखिम बढेको छ । यस संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सरकार र सरोकारवाला पक्षहरू तत्काल वार्तामा बसी निकास निकाल्न आवश्यक देखिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप