वर्षमानको नेतृत्वमा रोल्पाका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र
काठमाडाैँ । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणमा काममा ढिलाइ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाका सङ्घीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान सरकारी निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो । आर्थिक वर्ष ०६४–०६५ देखि सुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम–मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकामा प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएको नेता पुनले जानकारी दिए ।
उक्त सडकखण्डअन्तर्गत हाल होलेरी–दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट–घर्तीगाउँ–दुई खोली–खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेकोबारे प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम नै बाँकी रहेकाले त्यसको पनि प्रबन्ध मिलाइदिन ज्ञापनपत्रमा माग गरिएको छ । विगतमा घोराही–होलेरी सडकखण्डको ३१.५ किलोमिटर सडक कालोपत्रे भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मत सम्भार नगरेका कारण पिच भत्किएर सो ठेक्का रद्ध गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन्न प्रधानमन्त्रीसँग माग गरे ।
जवाफमा प्रधानमन्त्रीले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित मन्त्रालयको टिमले आफूसँग विकास निर्माणका काममा भएका प्रगति समीक्षाका लागि समय लिएकाले सोही बैठकमा शहीद मार्ग निर्माण तथा कालोपत्रेका लागि तत्काल काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता जनाएको पुनले जानकारी दिए ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिका अध्यक्ष जनक पुन र परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा बालुवाटार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण