शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
जाजरकोट भूकम्प

जाजरकोटमा ४६ सयले मात्र पाए आवास निर्माणको पहिलो किस्ता

अहिलेसम्म ४१ सय मात्रै अस्थायी आवास निर्माण
बिहीबार, ०५ पुस २०८०, १३ : २५
बिहीबार, ०५ पुस २०८०

सुर्खेत । भूकम्प गएको डेढ महिना बितिसक्दा पनि जाजरकोटमा अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको छ । प्राप्त विवरण अनुसार अहिलेसम्म जाजरकोटमा जम्मा चार हजार १७१ वटा मात्रै अस्थायी आवासहरू निर्माण भएका छन् । जबकि जाजरकोटमा ३३ हजार बढी घरहरूमा भूकम्पले क्षति पुर्‍याएको छ । 

चिसो बढेसँगै नागरिकहरूले त्रिपालमै ज्यान गुमाइरहे पनि सरकारी ढिलासुस्ती लगायत यावत् कारण अस्थायी आवासको काम हुन नसकेको हो । चिसोले नागरिकको ज्यान त्रिपालमै गइरहेको भए पनि सरकारी निकायहरूले भने आवास निर्माणमा तदारुकता देखाउन सकिरहेका छैनन् । अहिले निर्माण भएका आवास भने विभिन्न राजनीतिक दलहरूले मात्रै बनाएका हुन् । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा १५०, नलगाडमा दुई हजार चार सय ७१, बारेकोट गाउँपालिकामा एक हजार ३६५, कुशे गाउँपालिकामा १०८ र शिवालय गाउँपालिकामा ७७ वटा अस्थायी आवास निर्माण भएका छन् । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा अहिलेसम्म अस्थायी आवास निर्माण गरेको रेकर्ड प्रशासनसँग छैन । 

कार्यविधि अनुसार तयार गरेको रिपोर्ट अनुसार जिल्लाभर ३३ हजार ५५ वटा लाभग्राही छन् । अहिले सम्पूर्ण नागरिकहरू त्रिपालमुनि छन् । 

khalanga

कुन पालिकामा कति क्षति, कतिले पाए पहिलो किस्ता ?  

७ वटा पालिका रहेको जाजरकोटमा अहिलेसम्म पहिलो किस्ता बापतको ५० करोड ९८ लाख ७५ हजार रकम पालिकाहरूमा पठाइसकिएको छ । त्यसमध्ये ११ करोड ५६ लाख बराबरको रकम भूकम्प पीडितलाई वितरण गरिसकिएको छ । ३३ हजार मध्ये १३ हजार १४५ जना परिवारसँग सम्झौता भएको छ भने चार हजार ६२४ जनाले मात्रै पहिलो किस्ता रकम प्राप्त गरेका छन् । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार सबैभन्दा बढी भेरी नगरपालिकामा चार हजार ५४९ लाभग्राही रहेका छन् । अहिलेसम्म सम्झौता भएका ५९२ लाभग्राहीले मात्रै अस्थायी आवासका लागि पहिलो किस्ता रकम प्राप्त गरेका छन् । अहिलेसम्म १ करोड ४८ लाख रकम वितरण भएको छ । प्रशासनबाट यो नगरका लागि तीन करोड ३७ लाख २५ जार रकम निकासा भइसकेको छ । 

सबैभन्दा बढी मानवीय क्षति भएको नलगाडमा भने पहिलो किस्ताको रकम वितरण गरेको रेकर्ड छैन । नलगाडमा ८ हजार ९७ लाभग्राही छन् । तीन हजार ६६४ लाभग्राही रहेको छेडागाड नगरपालिकाका एक हजार ८६ परिवारको मात्रै सम्झौता भएको छ । त्यसमध्ये जम्मा ९६ जनाले पहिलो किस्ता रकम प्राप्त गरेका छन् । यो नगरका लागि पहिलो किस्ता बापत ९ करोड १६ लाख रकम निकासा भइसकेको छ । त्यसमध्ये अहिलेसम्म २४ लाख रकम मात्रै वितरण भएको छ । 

५ हजार ५८६ लाभग्राही रहेको बारेकोट गाउँपालिकाका एक हजार ६५ परिवारले पहिलो किस्ता रकम पाएका छन् । निकासा भएको १३ करोड ९६ लाख ५० हजार मध्ये दुई करोड ६६ लाख २५ हजार बराबरको रकम वितरण भएको छ । कुशे र जुनीचाँदेका कुनै पनि भूकम्प पीडितले अहिलेसम्म पहिलो किस्ता रकम पाएका छैनन् ।

कुशेमा पाँच हजार २८७ लाभग्राही छन् भने अहिलेसम्म १४० परिवारको मात्रै सम्झौता भएको छ । तर, तीनैले पनि रकम पाएका छैनन् । जुनीचाँदेमा दुई हजार ५६३ लाभग्राही छन् । यहाँका पनि प्रभावितहरूले अनुदान पाएका छैनन् ।

शिवालय गाउँपालिकाका दुई हजार ८७१ परिवारले रकम प्राप्त गरेका छन् । यहाँ तीन हजार ३०९ लाभग्राही छन् भने यहाँ ८ करोड २७ लाख २५ हजार रकम जिल्ला विपद्बाट निकासा भइसकेको छ । त्यसमध्ये अहिलेसम्म ७ करोड १७ लाख बराबरको रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप