सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोटमा ४६ सयले मात्र पाए आवास निर्माणको पहिलो किस्ता

अहिलेसम्म ४१ सय मात्रै अस्थायी आवास निर्माण
बिहीबार, ०५ पुस २०८०, १३ : २५
बिहीबार, ०५ पुस २०८०

सुर्खेत । भूकम्प गएको डेढ महिना बितिसक्दा पनि जाजरकोटमा अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको छ । प्राप्त विवरण अनुसार अहिलेसम्म जाजरकोटमा जम्मा चार हजार १७१ वटा मात्रै अस्थायी आवासहरू निर्माण भएका छन् । जबकि जाजरकोटमा ३३ हजार बढी घरहरूमा भूकम्पले क्षति पुर्‍याएको छ । 

चिसो बढेसँगै नागरिकहरूले त्रिपालमै ज्यान गुमाइरहे पनि सरकारी ढिलासुस्ती लगायत यावत् कारण अस्थायी आवासको काम हुन नसकेको हो । चिसोले नागरिकको ज्यान त्रिपालमै गइरहेको भए पनि सरकारी निकायहरूले भने आवास निर्माणमा तदारुकता देखाउन सकिरहेका छैनन् । अहिले निर्माण भएका आवास भने विभिन्न राजनीतिक दलहरूले मात्रै बनाएका हुन् । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा १५०, नलगाडमा दुई हजार चार सय ७१, बारेकोट गाउँपालिकामा एक हजार ३६५, कुशे गाउँपालिकामा १०८ र शिवालय गाउँपालिकामा ७७ वटा अस्थायी आवास निर्माण भएका छन् । जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा अहिलेसम्म अस्थायी आवास निर्माण गरेको रेकर्ड प्रशासनसँग छैन । 

कार्यविधि अनुसार तयार गरेको रिपोर्ट अनुसार जिल्लाभर ३३ हजार ५५ वटा लाभग्राही छन् । अहिले सम्पूर्ण नागरिकहरू त्रिपालमुनि छन् । 

khalanga

कुन पालिकामा कति क्षति, कतिले पाए पहिलो किस्ता ?  

७ वटा पालिका रहेको जाजरकोटमा अहिलेसम्म पहिलो किस्ता बापतको ५० करोड ९८ लाख ७५ हजार रकम पालिकाहरूमा पठाइसकिएको छ । त्यसमध्ये ११ करोड ५६ लाख बराबरको रकम भूकम्प पीडितलाई वितरण गरिसकिएको छ । ३३ हजार मध्ये १३ हजार १४५ जना परिवारसँग सम्झौता भएको छ भने चार हजार ६२४ जनाले मात्रै पहिलो किस्ता रकम प्राप्त गरेका छन् । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार सबैभन्दा बढी भेरी नगरपालिकामा चार हजार ५४९ लाभग्राही रहेका छन् । अहिलेसम्म सम्झौता भएका ५९२ लाभग्राहीले मात्रै अस्थायी आवासका लागि पहिलो किस्ता रकम प्राप्त गरेका छन् । अहिलेसम्म १ करोड ४८ लाख रकम वितरण भएको छ । प्रशासनबाट यो नगरका लागि तीन करोड ३७ लाख २५ जार रकम निकासा भइसकेको छ । 

सबैभन्दा बढी मानवीय क्षति भएको नलगाडमा भने पहिलो किस्ताको रकम वितरण गरेको रेकर्ड छैन । नलगाडमा ८ हजार ९७ लाभग्राही छन् । तीन हजार ६६४ लाभग्राही रहेको छेडागाड नगरपालिकाका एक हजार ८६ परिवारको मात्रै सम्झौता भएको छ । त्यसमध्ये जम्मा ९६ जनाले पहिलो किस्ता रकम प्राप्त गरेका छन् । यो नगरका लागि पहिलो किस्ता बापत ९ करोड १६ लाख रकम निकासा भइसकेको छ । त्यसमध्ये अहिलेसम्म २४ लाख रकम मात्रै वितरण भएको छ । 

५ हजार ५८६ लाभग्राही रहेको बारेकोट गाउँपालिकाका एक हजार ६५ परिवारले पहिलो किस्ता रकम पाएका छन् । निकासा भएको १३ करोड ९६ लाख ५० हजार मध्ये दुई करोड ६६ लाख २५ हजार बराबरको रकम वितरण भएको छ । कुशे र जुनीचाँदेका कुनै पनि भूकम्प पीडितले अहिलेसम्म पहिलो किस्ता रकम पाएका छैनन् ।

कुशेमा पाँच हजार २८७ लाभग्राही छन् भने अहिलेसम्म १४० परिवारको मात्रै सम्झौता भएको छ । तर, तीनैले पनि रकम पाएका छैनन् । जुनीचाँदेमा दुई हजार ५६३ लाभग्राही छन् । यहाँका पनि प्रभावितहरूले अनुदान पाएका छैनन् ।

शिवालय गाउँपालिकाका दुई हजार ८७१ परिवारले रकम प्राप्त गरेका छन् । यहाँ तीन हजार ३०९ लाभग्राही छन् भने यहाँ ८ करोड २७ लाख २५ हजार रकम जिल्ला विपद्बाट निकासा भइसकेको छ । त्यसमध्ये अहिलेसम्म ७ करोड १७ लाख बराबरको रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप