शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आईपीएलको अक्सनपछि रातारात करोडपति बनेका एक आदिवासी युवा

बिहीबार, ०५ पुस २०८०, १४ : ११
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । यतिबेला भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्, रोविन मिन्ज । आदीवासी समुदायबाट आएर विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो खेलाडीको रूपमा उनको चर्चा चुलिएको हो ।

पहिलो पटक आईपीएलको अनुभव बटुल्ने तयारीमा रहेका २१ वर्षीय रोविन एकाएक करोडपती पनि बनेका छन् । दुबईमा भएको आईपीएलको अक्सनमा २० लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको रोविनलाई गुजरात टाइटन्सले तीन करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गर्‍यो ।

रोविन र उनको परिवारका लागि पनि यो अप्रत्याशित समाचार थियो । रोविनका पिता सुरक्षा गार्डको रूपमा काम गर्छन् । एउटा एजेन्सीमार्फत हाल उनी राँची विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् । दुबईमा भएको आईपीएलको अक्सनमा आफ्ना छोरा आफूले कल्पनासम्म नगरेको रकममा गुजरात टाइटन्समा आबद्ध भइरहँदा पनि उनी विमानस्थलको सुरक्षामै सक्रिय दिए ।

रोविनको पिता फ्रान्सिस मिन्जलाई यो समाचार उनका साथीले विमानस्थलमै सुनाएका थिए । उनका लागि यो अप्रत्याशित र अपार खुसीको समाचार थियो । किनभने विश्वभरका दिग्गज क्रिकेटरहरुको बिचबाट उनका छोरा आईपीएलका लागि छानिएका थिए ।

रोविनको परिवार झारखण्डस्थित गुम्ला जिल्ला अन्तर्गतको विकट तेलगाउँबाट राँची बसाई सरेको हो । उनको पुर्ख्यौली गाउँ विकट आदिवासी क्षेत्र अन्तर्गत पर्छ । रोविनको परिवार उनी सानै हुँदा कामको सिलसिलामा राँची आएको थियो ।

राँचीमा जताततै क्रिकेटको माहोल थियो । आखिर राँची विश्व चर्चित क्रिकेट महेन्द्रसिंह सिंह धोनीको क्षेत्र न हो । क्रिकेटको त्यही माहौलमा सानो उमेरदेखि रोविन पनि रम्न पुगे । आफ्नो छोराको इच्छा बुझेर पिता फ्रान्सिसले पनि सानै उमेरदेखि रोविनलाई क्रिकेट सिक्ने व्यवस्था मिलाइदिए ।

रोविन क्रिकेटको कला सिक्नका लागि धोनीकै एकेडेमीमा भर्ना भए । उनी धोनीको क्रिकेट एकेडेमीमा भर्नामात्र भएनन्, सँगसँगै उनले धोनीलाई आफ्नो आदर्श पनि बनाएर र हरेक कुरामा उनकै अनुकरण गर्न थाले । धोनीलाई एकेडेमीमा प्रशिक्षक चञ्चल भट्टाचार्यले क्रिकेट सिकाउँथे । भट्टाचार्य त्यही ब्यक्ति हुन्, जसले धोनीलाई पनि सानै उमेरदेखि क्रिकेटको कला सिकाएका थिए ।

रोविन धोनीको पदचिह्नलाई पछ्याउँदै विकेटकिरको भूमिका निर्वाह गर्न पनि तम्सिए । ‘क्रिकेटमा राँचीको ताल नै बेग्लै छ । राँचीका हरेक युवा धोनीको पदचिह्नलाई पछ्याउँदै विकेटकिपर नै बन्न चाहन्छन्,’ प्रशिक्षक भट्टाचार्य भन्छन् ।

अहिले रोविन राँचीको सोनेट क्रिकेट क्लबमा आबद्ध छन् । उनले विभिन्न प्रतियोगितामा आफ्नो आक्रामक ब्याटिङका कारण धेरैको मन पनि जितिसकेका छन् । उनका अहिलेका प्रशिक्षक आसिफ हकले त रोविनलाई उपनाम नै दिएका छन्, ‘राँचीको क्रिस गेल ।’ वेस्ट इन्डिजका आफ्नो समयका आक्रामक ब्याट्सम्यान गेलको नामबाट रोविनले आफ्नो उपनाम पाएका हुन् ।

‘हामी रोविनलाई राँचीको क्रिस गेल भनेर बोलाउँछौँ । गेलजस्तै रोविन पनि धुँवादार ब्याटिङ गर्छन् । उनी पनि गेलजस्तै बायाँ हाते ब्याट्सम्यान हुन् । खेलका क्रममा चौका र छक्का वर्षाउन माहिर छन् । पक्कै पनि उनी नयाँ पुस्ताका गेल हुन् । उनको ब्याटिङ हेर्दा गेलकै झल्को आउँछ,’ प्रशिक्षक आसिफ भन्छन् ।

धोनी पनि रोविनको खेलबाट प्रभावित छन् । आईपीएलको अक्सनभन्दा अगाडि पनि संयोगले रोविनको पितासँग धोनीको भेट भएको थियो । संयोगले धोनी राँची विमानस्थलबाट कतै जाँदै थिए । त्यतिबेला रोविनका पिता पनि विमानस्थलमा सुरक्षा गार्डको भूमिकामा तैनाथ थिए ।

त्यही मौकाको फाइदा उठाउँदै धोनीका पिताले आईपीएलको अक्सनमा आफ्नो छोरा पनि सहभागी भएको जानकारी गराएका थिए । त्यसको जवाफमा धोनीले पनि रोविनका पितालाई उनको पुत्र आफैमा क्षमतावान् खेलाडी भएका बताएका थिए ।

समाचारमा जनाइएअनुसार, त्यतिबेला धोनीले रोविनका पितालाई भनेका थिए रे, ‘रोविन आफैमा क्षमतावान् खेलाडी हुन् । आईपीएलको अक्सनमा धेरै क्लबले उनीमाथि आँखा लगाएका छन् । यदि कुनै क्लबले उनलाई खरिद गरेन भने म रोविनलाई आफ्नो क्लबबाट आईपीएल खेलाउने छु ।’ धोनी चेन्नई सुपर किङ्सका कप्तान पनि हुन् । तर, अक्सनमा रोविनको नाम घोषणा हुँदा गुजरात टाइटन्सले चेन्नईलाई झन्डा उठाउने अवसर नै दिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप