शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागमती कलेजद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग

शनिबार, ०७ पुस २०८०, १८ : २४
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । बागमती स्कुल/कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ गरिएको छ ।  काठमाडौँको सुकेधारामा रहेको स्कुलमा शनिबार भएको कार्यक्रममा सामाजिक अभियन्ता एवं वैज्ञानिक डा. महावीर पुनको सहभागिता थियो । 

कार्यक्रममा पुनले विद्यार्थीहरूलाई घोकन्ते शिक्षाभन्दा पनि व्यवहारिक शिक्षा आवश्यक रहेको बताए ।  उनले विद्यार्थीहरूलाई दैनिक जीवनमा आइपर्ने र समस्या समाधान गर्न सक्ने खालको शिक्षा प्रदान गर्नुपर्ने सुझावसमेत दिए । ‘हामीले के शिक्षा दिइरहेका छौँ,  विद्यार्थीले त्यसलाई उपभोग गर्न सकिरहेका छन् कि छैनन् भन्नेमा ध्यान दिनुपर्नेछ,’ कार्यक्रममा सहभागी पुनले भने, ‘विद्यार्थीहरूलाई घोकन्ते विद्याभन्दा पनि सीपमूलक शिक्षा चाहिएको छ ।’ उनले यस्ता कार्यक्रम विद्यालयको पाठ्यक्रममै समावेश हुनुपर्नेमा जोड दिए ।

विद्यार्थीहरूले बनाएका विज्ञान प्रविधिको अवलोकन गर्दै उनले यस्तै खाले कार्यक्रम अन्य विद्यालयहरूमा पनि गरिनुपर्ने सुझाए । विद्यार्थीहरूले पनि आफूले बनाएका सामग्रीहरूबारे कार्यक्रममा सहभागी भएकाहरूलाई जानकारी गराएका थिए ।

गणित तथा विज्ञानसँग सम्बन्धित ५२ वटा स्टलसम्मै पुगेर वैज्ञानिक पुनले विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए । वैज्ञानिक पुन र बागमती फाउन्डेसनका अध्यक्ष डा. सुरेन्द्र सिटौलाले सामूहिक रूपमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ को शुभारम्भ गरेका थिए ।

बागमती कलेजका निर्देशक अश्मिन सिटौलाले प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न संस्था सदैव तयार हुने प्रतिबद्धता जनाए । कार्यक्रममा बागमती कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यार्थी तथा अभिभावकहरू सहभागी रहेको कार्यक्रममा बागमती हस्पिटालिटी एन्ड म्यानेजमेन्ट क्लबको आयोजनामा ‘फुड फेस्टिभल’ समेत गरिएको थियो । जसमा कक्षा ११ र १२ का होटेल म्यानेजमेन्ट विषय पढिरहेका विद्यार्थीहरूले खानाका विभिन्न परिकार बनाएर कार्यक्रममा सहभागीहरूलाई खुवाएको बागमती कलेजका प्राचार्य विशाल पराजुलीले जानकारी दिए । उनले यस्ता कार्यक्रम हरेक वर्ष क्यालेन्डरमै राखेर गरिरहेको पनि जानकारी दिए । उनका अनुसार यो आठौँ संस्करण हो ।

बागमती स्कुलका प्रधानाध्यापक श्यामदत्त अधिकारीले बागमती रोबोटिक्स क्लबको योगदानमाथि चर्चा गर्दै यसमा संलग्न विद्यार्थी तथा शिक्षकहरूको प्रशंसा गरे । उनले आगामी दिनमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने पनि जनाए ।

कार्यक्रममा प्राथमिक तहका विद्यार्थीलक्षित गरी खेल्ने सामग्रीका स्टलहरूसमेत राखिएका थिए । कार्यक्रममा तीन हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप