सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस क्राइस्टको जन्मोत्सव, प्रतिबन्ध र सान्ता क्लजको मिथक

सोमबार, ०९ पुस २०८०, १२ : ३३
सोमबार, ०९ पुस २०८०

इजरायलको जेरुसेलम सहर नजिकै बेथलहेम भन्ने स्थानमा जिसस क्राइस्ट ख्रिस्टको जन्म भएको बाइबलमा उल्लेख गरिएको छ । तर पनि येसु ख्रिस्टको जन्ममिति बारेमा बाइबल नै मौन रहेको छ । जन्ममितिको विषयमा न्यु क्याथोलिक इन्साइक्लोपिडियाले इसाइ समुदायभित्र पनि एकमत छैन भनेर प्रस्ट पारिएको छ । ख्रिस्टको जन्म २५ डिसेम्बरको दिन भएको हो भनेर आधिकारिक रूपमा प्रमाणित नभए पनि त्यसको पुष्टि गर्ने प्रशस्त आधार भने पाइन्छ । उहाँको जन्मको स्मरण अधिकांश क्रिस्चियनले संसारभरी यसै दिन गर्ने गरेका छन् । 

चौथो शताब्दीको उत्तराद्र्धतिरबाट मात्र भिन्दाभिन्दै मितिमा भए पनि ख्रिस्ट जन्मको स्मरण गर्न चर्चहरूमा क्रिसमस मनाउने प्रचलन सुरु भएको पाइन्छ । चर्चहरूका अनेकौँ प्रयासपछि कालान्तरमा डिसेम्बर महिनाको २५ तारिखलाई ख्रिस्ट जन्मको स्मरण गर्ने औपचारिक मिति कायम गर्ने अधिकांश इसाई समुदाय सहमत हुन पुगेका हुन् । रोम सम्राट् कन्स्टन्टाइनले ख्रिस्टको जन्म दिन मनाउनु पर्छ भनी घोषणा गरेर आफ्ना नागरिकलाई देशव्यापी रूपमा ख्रिस्ट जन्मको उत्सव मनाउन आह्वान गरेका थिए । उनी रोमी सम्राटहरूमध्ये पहिलो क्रिस्चियन सम्राट थिए ।

क्रिस्चियन इतिहासमा आधिकारिक रूपमा पहिलो पटक क्रिसमस सन् ३३६ मा रोममा मनाइएको कुरा उल्लेख छ । क्रिस्चियन इतिहासकार सेक्टस जुलियस अफ्रिकानसले सन् ३२१ मा सर्वप्रथम डिसेम्बर २५ को दिन ख्रिस्टको जन्मदिनका हो भनेर परिचित गराउन भरपर्दो तथ्य र त्यसका आधार प्रस्तुत गरेका थिए ।

आजका क्रिस्चियन देश भनेर चिनिएका बेलायत र अमेरिका जस्ता देशले विगतमा कानुन बनाएर क्रिसमस मनाउन प्रतिबन्ध लगाएको इतिहास छ । सन् १६४७ मा बेलायतको संसद्ले एउटा कानुन पारित गरेर क्रिसमसलाई अवैध घोषणा गरेको थियो भने सन् १६५२ मा यसमाथि पूर्णतया प्रतिबन्ध नै लगायो । इतिहासकार पेनी एल. रिस्टाडका अनुसार क्रिसमसका दिन चर्चलाई सजाएको खण्डमा जरिवाना र जेल सजाय हुन्थ्यो । उता अमेरिकाको म्यासाचुसेट्स बे कोलनीमाडमा पनि सन् १६५९ देखि १६९१ सम्म क्रिसमस मनाउन नपाउने कानुन पारित गरेर प्रतिबन्ध लगाइएको थियो । अङ्ग्रेजी भाषामा क्रिसमसलाई एक्समास भनेर सङ्क्षिप्त शब्दमा पनि लेखिने गरेको छ । जुन छापा माध्यममा बढी प्रयोग भइरहेको छ । 

येसु ख्रिस्टको जन्मको स्मरणमा गाइने भजनमध्ये विश्वमै सर्वाधिक रूपमा गाइने गीत ‘शान्तमय रात’ हो । सन् १८१८ मा अस्ट्रियन पादरी जोसेफ मोरले यस भजनको रचना गरेका थिए । ग्रिक भाषाको क्यारुल्स शब्द ल्याटिन र फ्रेन्च हँुदै त्यही शब्द अंग्रेजीमा आइपुग्दा क्यरोल हुन आइपुगेको हो । क्यारोल शब्दको अर्थ क्रिसमससँग सम्बन्धित अर्थात येसु ख्रिस्टको जन्मसँग सम्बन्धित भजनहरू भन्ने बुझिन्छ । जसको वास्तविक अर्थ धेरै मानिस वरिपरि गोलाकार भएर नाच्नु र ख्रिस्टको जन्मको बारेमा भजन गाउनु हुन्छ । 

टर्कीका विसप सन्त निकोलसले गाउँसहरका दुःखी, गरिब र अनाथ केटाकेटीका लागि उपहारहरूको भारी आफैँले बोकेर प्रायः रातको समयमा बाँड्न जान्थे भनिन्छ । उनले अनाथ बालबालिकाप्रति देखाएको अपार मायामा कुनै शङ्का छैन । उनको मृत्यु भएको शताब्दीयौँपछि सन् १०८७ मा उनको अस्तुलाई व्यापारीहरूले माइराबाट चोरेर इटालीमा ल्याए । यसले गर्दा उनको ख्याति युरोपमा पनि फैलियो । 

सन् १८७० मा अमेरिकी चित्रकार थोमस नास्टले पहिलो पटक काल्पनिक क्रिसमस बाजेको एउटा नक्सा उतारेका थिए । लामो दारी, बुढो शरीर उपहारहरूको भारी बोकेर हिँडिरहेको यो चित्र बालकहरूमाझ असाध्यै लोकप्रिय छ । आजका धेरै बालबालिकाहरू दन्त्यकथाको काल्पनिक लोकप्रिय पात्र सान्ता क्लज हुन र चित्रमा देखिए जस्तै लामोदारी, बुढो शरीर र उनको काधमा उपहारको भारी थिए होला भनेर विचार गर्छन् । आज संसारभरी सान्ता क्लजको नाम नसुनेका मानिसहरू कमै होला । सान्ता क्लजको बारे क्रिसमसको सन्दर्भमा बनाइएको लोकप्रिय गीतहरूपनि छन् । विगत केही दशकदेखि अत्यन्त लोकप्रिय भइरहेको सान्ता क्लज स्वरूपको गुडिया क्रिसमस वृक्षलाई सजाउन झुन्डाइने गरिन्छ । यही काल्पनिक पात्र सान्ता क्लजको भेष धारण गरेर क्रिसमसको अवसरमा मनोरन्जन गर्नुबाहेक यसको न कुनै अर्थ छ न त क्रिसमस र बाइबलसँग सान्त क्लचको कुनै सम्बन्ध छ । 

क्रिसमसको समयमा सबै वृक्षहरूको पात झरिसक्ने भए पनि देवदारको वृक्ष सदाबहार हुनेहुनाले क्रिसमसमा सजाउनका लागि देवदार वृक्ष नै छानिएको हो । क्रिसमसमा देवदारको वृक्षलाई सजाउने परम्पराको सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चितता भए पनि सातौँ शताब्दीको मध्यतिर क्रिसमस वृक्ष सजाउने परम्परा जर्मनीबाट प्रारम्भ भएको मानिन्छ । अहिले क्रिसमस रुखको ब्यापार गरेर सबभन्दा बढी आम्दानी क्यानडाले गरिरहेको छ । वास्तविक क्रिसमस वृक्षको विकल्पमा प्लास्टिकबाट बनेको नक्कली वृक्षको प्रयोग पनि व्यापक रूपमा भइरहेको छ ।

क्रिसमसको शुभकामना व्यक्त गर्ने कार्डमा शुभेच्छा लेखेर पोस्टकार्ड आदान प्रदान गर्ने प्रचलन विश्वव्यापी छ । बेलायतका जोन क्यालकोट हर्सनले सन् १८४३ मा पहिलो पटक क्रिसमसको शुभकामना कार्ड सर हेनरी कोलका लागि डिजाइन गरेका थिए । आजका आधुनिक पोस्टकार्ड त्यसैका परिमार्जित स्वरूप हुन् । त्यस कार्डमा जोन क्यालकोटले येसु ख्रिस्टको जन्म उत्सव र आउँदै गरेको इसा संवत्को नयाँ वर्षको निम्ति संयुक्त रूपमा शुभेच्छा व्यक्त गर्ने यस्ता शब्द प्रयोग गरेका थिए– मेरी क्रिसमस एन्ड ह्याप्पी न्यु इयर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मित्रलाल डङ्गोल
मित्रलाल डङ्गोल
लेखकबाट थप