बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा भएको झडपमा नौ विद्रोहीको मृत्यु

सोमबार, ०९ पुस २०८०, १७ : ४१
सोमबार, ०९ पुस २०८०

मनिला । फिलिपिन्स सरकार र माओवादी विद्रोहीबिच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार फिलिपिन्सको सेनाले श्रृङ्खलाबद्ध सशस्त्र कारबाही गरेको छ । कारबाहीमा नौ लडाकुको गोली लागि मृत्यु भएको छ । 

फिलिपिन्सको कम्युनिस्ट पार्टी र यसको सशस्त्र शाखा न्यू पिपुल्स आर्मी (एनपीए) ले घोषणा गरेको दुई दिने एकतर्फी क्रिसमस युद्धविरामको सुरुवातमा दक्षिणी सहर मलयबाले नजिकैका चार दुर्गम गाउँहरूमा युद्ध भएको एक सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेनाको चौथो इन्फेन्ट्री डिभिजनले मलयबलेमा भएको झडपको विस्तृत विवरण तत्काल सार्वजनिक गरेको छैन तर सेनाले नौ जना एनपीए विद्रोही मारिएको पुष्टि गरेको छ ।

सन् १९८६ मा मार्कोसका पितालाई सत्ताच्युत गरेयता पूर्ववर्ती सरकारहरूले सुरु गरेको असफल वार्तापछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको सरकार र विद्रोहीहरूले अर्को वर्ष शान्ति वार्ता पुनः सुरु गर्ने योजना बनाएको गत महिना घोषणा गरेका थिए । 

फिलिपिन्समा विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहले हजारौँको ज्यान लिइसकेको छ ।

विद्रोही समूहले एकपक्षीय रूपमा मङ्गलबार विद्रोहको ५५ औँ स्थापना दिवसको उपलक्ष्यमा दुई दिन ‘सामरिक आक्रमणहरू’ स्थगन गर्ने शनिबार घोषणा गरेको थियो । 

करिब २६ हजार छापामार बाँकी रहेको अनुमान गरेको सरकारले एनपीएसँग यस वर्ष क्रिसमस युद्धविराम नगर्ने बताएको थियो ।-(रासस/एएफपी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप