बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

स्नातक तहमा कानुन र कृषि विषय पढाउने तयारीमा हेटौंडा उपमहानगरपालिका

मङ्गलबार, १० पुस २०८०, १९ : १०
मङ्गलबार, १० पुस २०८०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले प्राविधिक शिक्षातर्फ स्नातक तहको २ वटा विषयको अध्यापनका लागि तयारी अघि बढाएको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको नेतृत्वमा मंगलबार उक्त विषयहरु अध्यापनका लागि २ वटा शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर उपमहानगरपालिकाले २ वटा कलेज सञ्चालन गर्ने तयारी अनुसार शैक्षिक संस्थाहरुको अनुगमन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार हेटौंडामा कानुनतर्फको बीएएलएलबी ५ वर्षे कोर्ष र कृषितर्फको आइएस्सी एजी ४ वर्षे कोर्ष संचालन गर्ने उद्देश्य अनुरुप शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन गरिएको हो । उपमहानगरपालिकाको अगुवाइमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर हेटौंडामा नै सो विषयहरु अध्यापनका लागि तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले जानकारी दिए ।

उनका अनुसार मंगलबार विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादवराज कोइरालाको टोलीले सो विषयहरु अध्यापन हुने २ वटा शैक्षिक संस्थाहरुको अनुगमन गरिएको हो । उक्त विषयहरु अध्ययापनको प्रक्रिया अघि बढाउन हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कानुन र हेटौंडा–१६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा कृषि तर्फको उक्त विषयहरु संचालनका लागि अनुगमन गरिएको उनले बताए ।

गत असोजमा उपमेयर बानियाँको नेतृत्वमा विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सूचिकृत गरिएको थियो । सोका आधारमा उपकुलपति कोइरालाको टिम विद्यालयको अनुगमनका लागि हेटौंडा आएको हो । अनुगमन टोलीले दुवै विद्यालयको भौतिक संरचना तथा आवश्यक पूर्वाधारको स्थलगत अनुगमन गरेको थियो । टोलीले कानुन र कृषि संकायका लागि आवश्यक ल्याब तथा कक्षा कोठाको समेत अनुगमन गरिएको थियो ।

अनुगमन पश्चात उपकुलपति डा. कोइरालाले स्थानीय तहले नै अभिभावकत्व लिएर उक्त विषयहरु अध्यापनको तयारी गरेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय तहको प्रयास सकारात्मक रहेको भन्दै नामकरण तथा पुस्तकालयलाई थप व्यवस्थित बनाउन सुझाव दिए । उनले उक्त विषयहरु अध्यापनका लागि पूर्वाधारहरु पर्याप्त रहेकाले थप प्रक्रियाहरु अघि बढाउने बताए ।

अनुगमन टोलीमा विश्वविद्यालयका डिन प्रा. डा. पवन कुमार झा, हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहाल, वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला, हेटौंडा क्याम्पस सञ्चालन समिति अध्यक्ष आनन्दराम पराजुली लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप