सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको पहिलो वेयरेबल कम्प्युटर अर्थात् ह्युमनको एआई पिन

बुधबार, ११ पुस २०८०, १४ : ४०
बुधबार, ११ पुस २०८०

काठमाडौँ । सन फ्रान्सिस्कोस्थित एउटा कम्पनी ह्युमनले नोभेम्बरमा लञ्च गरेको एआई पिन नामक वेयरेबल कम्प्युटरको प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीले बताएअनुसार जसले छिटो बुक गर्छ उनीहरुले नै कम्प्युटर पाउनेछन् । कम्प्युटरको डेलिभरी चाँहि २०२४ को मार्चमा हुने बताइएको छ ।

एप्पलका दुई पूर्व कर्मचारीले खोलेका हुन् ह्युमन । यो कम्पनीलाई च्याटजीपीटी बनाउने कम्पनी ओपन एआईका प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यानले समर्थन गरेका छन् ।

एआई पिन सानो अनि हलुका उपकरण हो । यसलाई कपडामा टाँस्न सकिन्छ । यो डिभाइसले सेन्सर्स, पोजेक्टर्स र एआई प्रविधिको मद्दतले युजरलाई फिचर र फङ्शन दिन्छ ।

के हो एआई पिन ?

एआई पिन स्क्रीनलेस वेयरेबल डिभाइस हो । यसलाई प्रविधिसँग इन्टर्याक्ट गर्न बढी प्राकृतिक र सहज तरिकाको रुपमा बनाइएको छ । यो सानो अनि हलुका उपकरण हो । यसलाई कपडामा जहाँ पनि अड्काउन सकिन्छ । यसमा क्वालकम स्न्यापड्रयागन प्रोसेसर जडान गरिएको छ । यो उपकरणमा क्यामरा, माइक्रोफोन र एक्सेलेरोमिटर समेत कयौँ प्रकारका सेन्सर जडान गरिएको छ । यसमा एउटा इन–बिल्ट प्रोजेक्टर पनि छ । यसलाई कुनै सतह वा हातमै पनि जानकारी डिस्प्ले गर्न प्रयोग गर्न सकिन्छ ।

एआई पिनले सेन्सर र एआई प्रविधि दुवैको साहारामा लार्ज ल्याङ्ग्वेज मोडलमा प्रयोगकर्ताको सन्दर्भ बुझेर काम गर्छ । सोही अनुसार प्रयोगकर्तालाई सम्बन्धित जानकारी उपलब्ध गराउँछ । उदाहरणका लागि तपाई सडकमा हिडिरहनु भएको छ भने एआई पिनले आफ्नो क्यामराबाट आसपासको चिजबिज र भवनहरु चिन्छ अनि तपाईलाई कहाँ हुनुहुन्छ भन्ने जानकारी दिन्छ । कम्पनीले सन् २०२४ मा एआई पिनमा नेभिगेशनल क्षमता थप्ने भएको छ ।

एआई पिनलाई अन्य उपकरणहरु कन्ट्रोल गर्न पनि प्रयोग गर्न सकिन्छ । यसलाई तपाईँले फोन गर्न, म्यासेज पठाउन प्रयोग गर्न सक्नु हुन्छ । यसमा गीत सुन्न सकिन्छ र स्मार्ट होम डिभाइसलाई कन्ट्रोल गर्न पनि सकिन्छ । यसको मद्दतले एआईबाट चल्ने कयौँ अनुवाद सेवा, भर्चुअल असिस्टेन्ट र पर्सनल ट्रेनरलाई पनि एक्सेस गर्न सकिन्छ । यसलाई गोपनीयतामा विचार गरेर बनाइएको छ । यसमा बिल्ट–इन प्राइभेसी इन्डिकेटर पनि छ । क्यामरा, माइक्रोफोन र इनपुट सेन्सर्स एक्टिभ भएपछि यो इन्डिकेटरले प्रयोगकर्तालाई अर्लट गरिदिन्छ ।

एआई पिन एक्लिप्स, लुनार र इक्विनक्स गरी तीन भ्यारिएन्टमा उपलब्ध छ । यी भ्यारिएन्टको मूल्य क्रमशः ६९९ डलर, ७९९ डलर रहेको छ । कम्पनीले अहिले भने अमेरिकामा मात्रै यसको अर्डर लिइरहेको छ । अन्यत्र यसको अर्डर कहिले लिन सुरु गर्छ भनेर स्पष्ट रूपमा भनिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप