आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
स्थलगत रिपोर्ट

मोरङको जङ्गल छोडेनन् हात्तीले, यतै बस्न लागेका हुन् ?

दुई महिनादेखि हात्ती र मान्छेको दोहोरो आतङ्क
शुक्रबार, १३ पुस २०८०, १२ : ३०
शुक्रबार, १३ पुस २०८०

विराटनगर । कानेपोखरी–७ को कानेपोखरी बजारमा ३६ वर्षदेखि होटल चलाएर बसेका राम रायमाझी अहिले साँझ पर्नासाथ होटल बन्द गर्छन् । तीन दर्जनजति घर तथा होटल रहेको उक्त बजार पूर्वपश्चिम राजमार्गमा आवत–जावत गर्नेहरुका लागि खाजा खाने खास ठाउँ हो । त्यहाँ तोङ्बा, सुकुटी, सेकुवाका पारखीहरु प्रशस्तै भेटिन्छन् । पछिल्लो समय रायमाझीले होटलमा तोङ्वा राख्न छाडेका छन् । किनकि तोङ्वाको गन्ध थाहा पाउने बित्तिकै जङ्गली हात्ती आएर आक्रमण गर्न सक्छन् ।

त्यही डरले उक्त बजारमा लोकल रक्सी पार्ने काम लगभग बन्दजस्तै भएको छ । ३६ वर्षसम्म होटल सञ्चालन गरेर बस्दा रायमाझीलाई यो पटकको जस्तो हात्तीको बथान आएको र यति लामो समय बसेको थाहा छैन ।

Kanepokhari-bazar-tatha-Makai-ra-haiwe-(9)

बेलबारी–१०, भाउन्नेका राजु मगर पूर्वपश्चिम राजमार्गमै दैनिक मकै पोलेर बेच्ने गर्छन् । तर, उनी आजकाल साँझ पर्न नपाउँदै पोका पन्तोरा कसेर सिटी सफारीमा हाल्छन् र साँझमै घर पुग्छन् । किनकि साँझ परेपछि हात्तीको आक्रमणमा पर्ने डर उनलाई छ । ‘कतिखेर निस्कन्छ, थाहै छैन । भाग्नु त पर्‍यो नि,’ उनी भन्छन् ।

मकै पोलेरै व्यापार गरिरहेका जगत ठकुरीको पीडा पनि उस्तै छ । ‘भर्खरै कानेपोखरी बजारमा हात्ती निस्किएको थियो । लेटाङतिर गयो । पहिलेपहिले त साँझसम्म मकै बेच्थ्यौँ । अहिले साँझसम्ममा घरै पुगिसकेका हुन्छौँ,’ उनी सुनाउँछन् ।

हाइवेमा मकै पोल्ने मगर र ठकुरीजस्तै स्थानीय तरकारी, फलफूल बेच्ने दर्जनौँ मानिस आजकाल साँझसम्म बस्नै डराउँछन् ।

जङ्गल छेउ हाइवेमा पसल तथा व्यापार गर्नेहरु मात्रै हात्तीको त्रासमा छैनन् । विगत डेढ महिना यता सुन्दरहरैंचा, बेलबारी, कानेपोखरी र पथरीमा हात्तीले बालीनाली सखाप पारिदिने हो कि, घर भत्काइदिने हो कि, ज्यानै लिने हो कि भन्ने त्रासमा छन् स्थानीय ।

Kanepokhari-bazar-tatha-Makai-ra-haiwe-(8)

स्थानीय जनप्रतिनिधिलाई जनताले हात्ती आउने गुनासो गरेर हैरान बनाउँछन् । ‘जनप्रतिनिधि बन्यौँ, जनताले भनेको ठाउँमा नजाउँ भने भएन । दिनरात सुत्न नपाउने अवस्था आयो,’ कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी भन्छन्, ‘हात्तीको यस्तो त्रासको अवस्था त अहिलेसम्म मैले थाहा पाएको थिइनँ ।’

जनप्रतिनिधि मात्रै होइन, स्थानीय प्रहरीलाई पनि उत्तिनै हैरान छ । शान्ति सुरक्षाको जिम्मा पाएको, सीमित स्रोत, साधनको भरमा सानो सानो टुकडीको रुपमा बसेको प्रहरी चौकीमा रातबिरात हात्तीले सताएको फोन आउँछ । प्रहरीले निर्धारित र नियमित काम गर्न सकेकै छैनन् । तनाव हात्तीकै छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल भन्छन्, ‘डेढ महिना यता अरु काम गर्नै पाएका छैनौँ, खाली हात्ती आएको भनेरमात्रै फोन आउँछ ।’

Kanepokhari-bazar-tatha-Makai-ra-haiwe-(6)

हात्ती प्रायः दिउँसोको समयमा हाइवेको उत्तरतिरको जङ्गलमा बस्छन् । जङ्गलमा खानेकुरा सकिएको कारण साँझ पर्नै नपाइ किसानले लगाएको बाली नालीमा पस्न खोज्छन् । प्राकृतिक हिसाबले शान्तिपूर्ण ढङ्गले जङ्गलमा विचरण गर्न दिइनुपर्ने हात्तीलाई स्थानीयले कहिले ड्रोन उडाएर तनाव दिन्छन्, कहिले ढोल, झ्याम्टा, भाला, खुकुरी, ढुङ्गाको झटारोले आक्रमण गर्छन् । साइरन बजाउँछन् । हात्ती पनि चयनले बस्न पाएको छैन ।

झापाको मेचीनगर नगरपालिका, हल्दीबारी क्षेत्र सधैँ हात्तीबाट प्रभावित हुने गर्दथ्यो । तर, लामो समयपछि यतिबेला मोरङमा बसिरहेका हात्तीले मोरङलाई नै बढी प्रभावित बनाएका छन् ।

‘बेलबारीको बेतना सिमसारको क्षेत्रमा २८–३० वटा छन् । लगभग ४ वटा सुन्दरहरैंचाको लाटीझोडा साझेदारी वनतिर गएका छन् । उर्लाबारीको मंगलबारेबाट मधुमल्लाको पूर्वतिर ३ वटासम्म रैथाने हात्ती छन् । जाँते एरियामा पनि केही हात्ती घुमिरहेको जानकारीमा आएको छ,’ मोरङका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले बताए ।

Belbarima-Hatti-(7)

अहिलेसम्म हात्तीले २० जना किसानको घर तथा बालीनालीमा क्षति पुर्‍याएको छ । यही सिजनमा झापा, मोरङ र सुनसरीमा गरी ६ जनाको ज्यान पनि लिइसकेको छ ।

मोरङमा यति ठुलो समूहमा यति लामो समय हात्ती बसेको २०–२५ वर्ष यताको इतिहासमा अहिलेसम्म नसुनिएको घिमिरे बताउँछन् । यसरी हात्ती कहिलेसम्म बस्छन् भन्ने टुङ्गो नभएपनि पुस अन्तिमतिर फर्किन्छन् भन्ने अनुमान गरिएको उनको भनाइ छ ।

अहिले धेरै समय हात्ती टिक्नुमा झण्डै आधा दर्जन हात्तीका छावा छन् । उनीहरु लामो समयसम्म हिँड्न सक्दैनन् । त्यसकारण पनि हात्ती यतै अल्मलिएको घिमिरेको दाबी छ ।

हात्ती विज्ञ अर्जुन कार्की अहिले हात्ती भएका क्षेत्रहरु पहिला हात्तीले विचरण गरेकै ठाउँ भएको बताउँछन् । ‘लामो समयदेखि झापाको बाहुनडाँगीमा ब्लक गरेका थियौँ । तर, उनीहरु यस पटक भत्काएर छिरे,’ कार्कीले भने । 

Belbarima-Hatti-(5)

हात्ती करिडोरको चर्चा

केही समय अगाडि हात्ती प्रभावित क्षेत्रमा पुगेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती करिडोर बनाउने र पर्यटकलाई फोटो खिचाएर आम्दानी लिने भाषण गरे । उनै कार्कीले प्रदेश सरकारको बजेटमा हात्ती करिडोर क्षेत्रका लागि सम्भाव्यता अध्ययन गर्न भनेर ५० लाख रुपैयाँ राखेका छन् । प्रदेश सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय सहयोग लिएर हात्ती करिडोर बनाउनु पर्ने हात्ती विज्ञ अर्जुन कार्की बताउँछन् ।

तर, सरकारले बाहुनडाँगीमा हात्तीको समस्या भए पनि चारआलीको जङ्गलमा घेराबारा गरेको उनले बताए । ‘जङ्गलमा हात्ती चर्न दिनुपर्नेमा जङ्गललाई घेरा लगाएर बस्तीमा पठाएको अवस्था छ,’ उनले भने, ‘मेची खोलाबाट हात्तीलाई भारततिरै फर्काउनका लागि राज्यले ध्यान दिनुपर्छ । यो वर्षमात्रै ६ जनाको मृत्यु भएको छ । ५० लाख क्षतिपूर्तिमै सकिएको छ । यसरी मान्छे र राज्यको सम्पत्तिलाई क्षति हुन दिनुभएन । भारतबाट आउने हात्तीलाई रोक्न सीमा क्षेत्रको १७ किलोमिटर क्षेत्रमा ग्रीन बेल्ट बनाएर हात्ती रोक्नुपर्छ ।’

यद्यपि अहिले मान्छेहरु हात्तीमैत्री बन्दै गएको कार्कीको अनुभव छ । ‘पहिलेपहिले एउटा हात्ती आउँदा २ सय मान्छे खेद्न आउँथे । अहिले मानिस चुप लागेर बसेका छन् । हात्तीलाई यताबाट घेर्ने, उता पठाउने, उताबाट फेरि यता पठाउने काम भइरहेको छ,’ मोरङमा लामो समय हात्ती बस्नुको कारण खोतल्दै कार्कीले भने, ‘अहिलेसम्म आसाम पुगिसक्नुपर्ने हो । नेपालको जङ्गलमा अहिले हात्ती बस्न सक्ने अवस्था छैन । हात्तीलाई ढोल, ढ्याङ्ग्रा ठोकेर तर्र्साएर मेची पारी पुर्‍याउनु आवश्यक छ ।’

हात्ती विज्ञ सान्तराज ज्ञवालीले पनि लामो समयपछि मोरङमा हात्तीको हुल यति धेरै दिन बसेको सुनाए । यसको कारण हात्तीको बासस्थानमा सुधार आएको हुनसक्ने उनी बताउँछन् । खेती प्रणाली ढिलो भएको कारण पाक्ने बेलासम्म हात्तीले खानयोग्य कृषि उत्पादन पर्खेको पनि हुनसक्ने उनको भनाइ छ । ‘यस्तै हात्तीले आफूलाई सुरक्षित गरेको पनि हुनसक्छ,’ उनले भने, ‘मोरङका जङ्गलहरु हात्तीमैत्री भएको हुन पनि सक्छ ।’

Belbarima-Hatti-(9)

बासस्थान पर्याप्त भएको भए उनीहरु १२ महिना नै नेपाल बस्न सक्ने ज्ञवालीको दाबी छ । ‘तर, त्यति ठुलो संख्याको हात्तीलाई कोशी पूर्वको जङ्गलले थेग्न सक्ने अवस्था देखिँदैन । यदि हात्ती बस्ने अवस्था आयो भने मानव–हात्ती द्वन्द्व अझै बढाउन सक्छ,’ उनले भने, ‘किनकि जङ्गलमा खाने कुरा नपाएर हात्ती बस्तीतिर पस्छ ।’

हात्तीको बासस्थान साँघुरिएको पनि ज्ञवालीले सुनाए । ‘खानकै लागि र पानीको लागि उनीहरु धेरै हिँड्ने खालका जनावर हुन् । उनीहरुको बासस्थान साँघुरिएको छ । ब्रम्हपुरादेखि नेपालको पश्चिमसम्म पुग्ने हात्तीहरु अहिले सीमित घेरामा रहेका जङ्गलमा बस्नुपर्ने बाध्यतामा छन्,’ उनले भने, ‘यिनीहरु प्राकृतिक ढङ्गले विचरण गर्ने जन्तु हुन् । तर, मानिसले उसलाई लखेट्ने प्रयास नै गरिहेको छ । त्यसकारण हात्ती अहिले तनावमा छन् । दोहोरो आतङ्क र असर देखिएको छ ।’

अन्तर सिमानामा भएको कारण नेपाल र भारतका कोशी प्रदेश र पश्चिम बंगाल प्रदेशको सहकार्यमा यिनीहरुको सुरक्षा र व्यवस्थापनमा सहकार्य गर्नुपर्ने ज्ञवालीको सुझाव छ । तर, हात्तीको करिडोर बनाउन सजिलो नभएको उनको भनाइ छ । ‘उदयपुरसम्म हात्तीको करिडोर बनाउने कुरा अहिले त्यति सम्भव देखिँदैन । किनकि झापाबाट उदयपुरसम्म जोडिएको झण्डै डेढ दुई किलोमिटर चौडा फैलिएको जङ्गल चाहिन्छ,’ उनले भने, ‘यो मान्छे हिँड्ने बाटो बनाएजस्तो होइन । यत्रो ठुलो जनावर हिँड्ने करिडोर बनाउन जङ्गल क्षेत्रको विकास हुनु अनिवार्य छ । बाहुनडाँगी मेचीबाट कोशी उदयपुरसम्म जङ्गलको व्यवस्थापन हुनुपर्छ । अहिले त्यस्तो भएजस्तो लाग्दैन ।’

Belbarima-Hatti-(3)

पहाडको चुरे फेदीबाट व्यवस्थापन गर्नसके त्यो सम्भव रहेको तर यसका लागि दीर्घकालीन सोच चाहिने ज्ञवालीले प्रस्ट पारे । ‘१५–२० वर्षपछि उक्त करिडोर बन्नसक्छ । त्यसका लागि पानीको सही व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘बासस्थानको व्यवस्थापन पनि राम्रो हुनुपर्‍यो । त्यो एउटा सम्भावित पाटो हो तर त्यसमा पनि ग्यारेण्टी गर्न सकिँदैन । करिडोर भनेको ठूलो विषय हो ।’ 

ड्रोनबाट खेद्न कति सम्भव ?

बेलबारी–१० मा रातको समयमा बस्तीमा छिरेको हात्तीलाई पहिलो पटक ड्रोन उडाएर खेदाउन प्रयास गरियो । ड्रोन उडाउँदा हात्ती कान हल्लाउँदै पुच्छर ठाडो पारेर दौडियो । हात्ती भागेको हेर्न आएका मानिसले हुटिङ गरे । जहाँ हात्तीले सखाप पार्ने बालीभन्दा मान्छेले मडारेरै धेरै बाली नस्ट गरे । अहिले पनि यो क्रम चलिरहेको छ ।

बेलबारी नगरपालिकासँगको सहकार्यमा अहिले अनिल प्रधान नेतृत्वको टोलीले ड्रोन उडाएर हात्तीलाई बस्तीबाट धपाइरहेको छ । यसको प्रभावकारिता अहिलेसम्म देखिइरहेको छ । तर, यो दीर्घकालीन हिसावले भरपर्दो नरहेको विज्ञहरु बताउँछन् ।

Belbarima-Hatti-(10)

‘भारतमा हेलिकप्टरले त केही गर्न सक्दैन । यसको प्रभावकारिता भने अब एक हप्तामात्रै हुनसक्छ । त्यसपछि हात्तीले टेर्न नै छोड्छ नि । ड्रोन उडाउनु असुरक्षित पनि बनेको छ । किनकि ड्रोन उडाउने भन्दा रमिता हेर्नेहरु पनि आइरहेका छन् । रातको समयमा हात्ती देखिँदैन,’ हात्ती विज्ञ कार्कीले भने ।

५ दिनदेखि ड्रोन उडाएर हात्ती धपाउन थालिएको हो । एउटै ड्रोनले लक्ष्मीमार्गको केराबारीमा १५ वटा हात्तीको हुल भगायो ।

हात्ती विज्ञ ज्ञवाली ड्रोन उडाएर मनोरञ्जन लिन र केही दिन धपाउन सके पनि यो दीर्घकालीन समाधान नभएको बताउँछन् ।

Belbarima-Hatti-(11)

डिभिजन वन कार्यालय मोरङले भने विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।  सामुदायिक वनसमूहले आगो बाल्नका लागि दाउरा दिएको छ । वनक्षेत्र र आवादी क्षेत्रमा बत्ती लगाएको छ । पालिकाहरुले पनि हात्ती धपाउन, दमकल र जेसीबीको प्रयोग गरिरहेका छन् । सुरक्षा निकाय, वन कार्यालय, वन उपभोक्ता समूह र स्थानीय तहले संयुक्त रुपमा काम गरिरहेका छन् ।

वन कार्यालयले विद्यार्थीहरुका लागि विद्यालयमा सचेतना कार्यक्रम पनि गरिरहेको छ । अर्थात् पहिलो पटक हुलका हुल आएको हात्तीलाई मोरङका प्रायः सबै सरकारी निकायले झेलिरहेका छन् भने हात्तीले पनि मान्छेको लखेटाइ झेलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप