सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

आन्दोलनले निम्त्याएको भय : ईपीएस परीक्षा प्रणाली बन्द हुने खतरा !

शुक्रबार, १३ पुस २०८०, २१ : २२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । ‘शान्त स्वाभाव । आफ्नो कर्ममा पूर्ण विश्वास गर्ने र लगनशील तथा परिश्रमी’, यी गुण दक्षिण कोरियालीहरूको हो । रिसलाई सकभर निकै टाढा राख्न खोज्छन् ।

हिंसा, बन्द हड्ताल, आन्दोलन नरुचाउने कोरियन रोजगारदाता कामप्रतिको लगावका कारण नै नेपाली कामदारलाई रोज्ने गर्छन् । जसले गर्दा बर्सेनि धेरै नेपाली रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर कोरिया जाने गरेका छन् ।

हाल कोरियामा ४५ हजार भन्दा बढीको संख्यामा नेपाली श्रमिक छन् । सन् २००८ देखि हालसम्म १ लाख ५ हजार भन्दा बढी नेपाली कोरिया पुगिसकेका छन् । एकातिर कोरिया जाने नेपाली बढिरहेका छन् भने अर्कोतिर पछिल्लो समय कोरियाका नाममा आन्दोलन समेत बढिरहेको छ ।

आज मात्रै उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न नदिएको भन्दै आन्दोलनरत दुई जनाको ज्यान गयो । प्रहरीसँगको झपडमा दुई जना युवा ज्यान गुमाउन पुगे ।

ईपीएसका विषयमा नेपालमा भइरहेका हरेक गतिविधि कोरिया सरकारले नियालिरहेको हुन्छ । कोरियाले नेपालमै कार्यालय स्थापना गरेर ईपीएसबारे कार्य गर्दै आएको छ ।

एचआरडी दक्षिण कोरिया मार्फत उसले ईपीएसको कार्य गर्दै आएको हो । उसले नेपालमा भइरहेको आन्दोलनबारे समेत नियालीरहेको हुन्छ ।

पछिल्लो गतिविधिले  ईपीएस बन्द हुने खतरा बढेको बताइन्छ । पछिल्लो समय ईपीएसलाई लिएर बढी नै आन्दोलन चलिरहेका छन् । शुक्रबारको आन्दोलन सीप बिल्डिङको क्षेत्रका लागि आवेदन दिएका तर पास हुन नसकेकाहरूले उत्पादनमूलक क्षेत्रमा समेत आवेदन दिन पाउनुपर्ने माग राखेर भएको हो ।  ३१ हजार भन्दा बढीको संख्यामा रहेका उनीहरूले सूचना जारी भएदेखि नै ज्ञापनपत्र बुझाउने, ईपीएस कार्यालय घेराउ गर्ने, धर्ना दिने लगायतका कार्य गर्दै आएका छन् ।

यसअघि गत असारमा कोरिया रिटर्नीहरूले पनि आन्दोलन गरे । परीक्षामा पास गराएर लामो समयदेखि कोरिया नपठाएको भन्दै उनीहरू आन्दोलित बनेका थिए ।

पाँच वर्ष कोरियामा काम गरेर फर्केर आएकाहरू सन् २०२२ मा पुनः परीक्षा दिएर पास भई कोरिया जान प्रतीक्षारत थिए । तर, कोरिया जाने पालो नआएको भन्दै उनीहरूले ईपीएस कोरिया शाखा कार्यालयमा धर्ना दिनुका साथै सरकारविरुद्ध नाराबाजी गरेका थिए । पछि उनीहरूसँग सम्झौता गरियो । उनीहरूसँगको सम्झौताका कारण केही समय नयाँ आवेदन नै बन्द गरिएको थियो ।

उनीहरूसँग सहमति गरिएपछि अहिले आन्दोलनरत युवाहरू समेत त्यसलाई रिफ्रेन्स लिन थालेका छन् । केही समय अगाडि कोरियामा  नै पनि नेपालीहरूले विरोध प्रदर्शन गरेका थिए ।

यसरी पटक पटकको आन्दोलन तथा विरोधलाई कोरियनहरूले नजिकबाट नियालिरहेका छन् । उनीहरूले यस विषयमा कुनै पनि निर्णय गर्न सक्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय चिन्तित छ ।

मन्त्रालयका सह–सचिव राजिब पोखरेलले ईपीएसँग जोडिएर हुने आन्दोलनबारे कोरियालीहरू सधैँ जानकार रहने गरेको बताए ।

विरोध प्रदर्शनका कारण कोरियाले ईपीएसको कोटा अन्यत्र लैजान्छ कि भन्ने डर यथावत् रहेको उनको भनाइ छ ।

कोरियाले ईपीएस मार्फत नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ । ‘सबै देशमा एउटै छनौट प्रणाली लागू हुन्छ । कुनै देशको लागि फरक गर्दैन । यस्तो अवस्थामा हामीले भनेर हाम्रा लागि मात्रै नियम परिवर्तन नगर्न सक्छ’ पोखरेलले भने ।

कहिलेकाहीँ हुने घटनाबारे त कन्भिन्स गराउन सकिने तर, निरन्तर यस्तै खालको घटना घटिरहेको खण्डमा केही भन्न नसकिने उनको भनाइ छ ।

‘अहिले भइरहेको आन्दोलनको विषय र अदालतबाट आएको आदेशबारे एचआरडी कोरियासँग कुरा गरेका थियौँ । जवाफमा अदालतबाट आदेश आएको भए हुन्छ आवेदन लिन्छौँ भनेर कन्भिन्स भएका थिए,’ पोखरेलले भने ।

ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले ईपीएस प्रणाली खतरामा रहेको संकेत गरे । ‘अहिलेको आन्दोलनले केही नहुन सक्छ । तर, हामीले केही भन्न सक्ने अवस्था हुँदैन’, उनले भने ।

यसअघि कोरोना महामारीको बेला लामो समय ईपीएस रोकिएको थियो । त्यसपछि विभिन्न मापदण्ड तय गरेर खोलिएको थियो । कोरिया सरकारले कोभिडको कारण देखाउँदै ट्रान्जिट बन्द गरेर सिधा हवाई उडानमार्फत् कामदार लैजाने भनेको थियो । सोही आधारमा २०७८ सालदेखि सिधा उडानमार्फत् कामदार जाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप