शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती भ्रमण वर्ष घोषणा

सोमबार, १६ पुस २०८०, १८ : १९
सोमबार, १६ पुस २०८०

हेटौंडा । बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउने भएको छ । पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य अनुसार सोमबार पत्रकार सम्मेलन गर्दै भ्रमण वर्षको घोषणा गरिएको हो ।

भ्रमण वर्ष घोषणा गर्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशील बनाउने लक्ष्य लिएको बताए । विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचारप्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मूल उद्देश्य भएको उनले बताए ।

विगतमा कोभिड–१९ को महामारी तथा अन्य विभिन्न कारणले पर्यटन व्यवसाय सुस्ताएकाले त्यसलाई गतिशील बनाउन प्रदेश भ्रमण वर्ष कार्यान्वयनबाट सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।

‘भ्रमण वर्षले आनन्द, आतिथ्यता र एकताको साथै कला, संस्कृति, रहन सहन, परम्पराको संरक्षण, सम्वद्र्धन र पर्यटकीयस्थल र सम्भावनाको पहिचान, प्रचार–प्रसार र विकासमा योगदान पु¥याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सहयोगी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ मन्त्री महर्जनले भने ।

प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्न भ्रमण वर्ष घोषणा गरिएको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालले जानकारी दिए ।

वर्षको सुरुवात भएसँगै भ्रमण वर्षको घोषणा गरिएको र केही दिनमा नै औपचारिक कार्यक्रम मार्फत भ्रमण वर्षको कार्यक्रमहरु अघि बढाइने उनले बताए । भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई विविध कार्यक्रममा विभाजन गरी खर्च गरिने सचिव रिजालले बताए । भ्रमण वर्ष सफल बनाउन श्रव्य दृश्य सामाग्री उत्पादन तथा विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने, प्रदेशका प्रमुख गन्तव्य समेटिएको पुस्तक तथा ब्रोसर तयार गर्ने, पर्यटन वर्षका विभिन्न टिसर्ट, ज्याकेट, स्टिकरलगायत प्रचार सामाग्री उत्पादन तथा वितरण गर्ने, पर्यटकीय नक्सा तयार गर्नेलगायतका कार्यक्रम तय उनको भनाई छ ।

सचिव रिजालका अनुसार भ्रमण वर्षको अवधिमा मन्त्रालयले भ्रमण वर्षको लोगो, नाराहरु, पर्यटकीय गन्तव्यको विवरण समेटिएको होडिङ बोर्ड लगायतका सामग्रीहरु निर्माण गरिनेछ । बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको नक्सा निर्माण गरी वितरण गर्ने, विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएर पर्यटन प्रवर्द्धनका लागि स्टलहरु राख्ने र प्रदर्शनी गर्ने, विदेशी पाहुना तथा राजदूतहरुलाई बागमती प्रदेश भ्रमण गराउने, विभिन्न पर्यटकीय प्रतियोगिताहरु संचालन गर्ने र सद्भावना दूत नियुक्त गर्ने लगायतका कार्यक्रमहरु भ्रमण वर्षमा संचालन गरिने उनले बताए ।

भ्रमण वर्षको उद्घाटन समारोहमा २० लाख रुपैयाँ, प्रचार प्रसार अन्तर्गत १० लाख ५० हजार रुपैयाँ, अन्य निकायहरुसँगको समन्वयमा पर्यटन प्रवर्द्धनका कार्यक्रम संचालनका लागि ३० लाख रुपैयाँ, पर्यटकीय गन्तव्यको प्रचार प्रसार सामग्री निर्माणका लागि १५ लाख रुपैयाँ, पर्यटन तथा हस्तकलाका सामग्रीहरुको ब्राण्डीङका लागि ५ लाख रुपैयाँ, पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमका लागि ३ लाख रुपैयाँ, कार्यालय तथा अन्य कार्यक्रमका लागि ८ लाख रुपैयाँ भ्रमण वर्षभर खर्च गर्ने तयारी मन्त्रालयले गरेको छ ।

भ्रमण वर्षका लागि बजेट अपुग हुने भएकाले २ करोड रुपैयाँ बढी रकम माग गर्ने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरिएको सचिव रिजालले बताए । जस अनुसार विदेशी पाहुना तथा राजदूतको भ्रमणका लागि १० लाख रुपैयाँ, प्रचार प्रसारका लागि २५ लाख रुपैयाँ, स्थान विशेष पर्यटन प्रवर्द्धनका लागि ७५ लाख रुपैयाँ, अन्य प्रवद्र्धनात्मक कार्यका लागि १० लाख रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि काम गरेका व्यक्तिहरुको सम्मानका लागि १५ लाख रुपैयाँ गरी कुल २ करोड ५० लाख रुपैयाँ बढी बजेट माग गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप