शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

भूकम्प प्रभावित क्षेत्रमा रास्वपा : स्वास्थ्य सेवादेखि २०३ वटा अस्थायी आवास निर्माणसम्म

'स्वास्थ्य शिविरबाट दुई हजार सात सय लाभान्वित'
मङ्गलबार, १७ पुस २०८०, १० : ५६
मङ्गलबार, १७ पुस २०८०

सुर्खेत । कात्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा अन्य दलहरू जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो उपस्थिति जनाएको छ । उद्धार कार्यदेखि स्वास्थ्य सेवा र आवास निर्माणको काममा रास्वपा सहभागी भएको छ । 

प्रभावित क्षेत्रमा अहिलेसम्म रास्वपाले २०३ वटा अस्थायी आवास निर्माण सम्पन्न गरेको छ । सुरुमा सभापति रवि लामिछाने प्रभावित क्षेत्रमा आई जाजरकोट, रुकुमका बस्तीमा पीडितसँग साक्षात्कार गरे । उनले सरकार, दातृनिकाय तथा सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । 

RSP le banayako ghar 2

भूकम्प गएको पहिलो दिनदेखि नै रास्वपा कर्णाली प्रदेश इन्चार्ज पवनराज देवकोटाको नेतृत्वमा विकासविज्ञ तथा रास्वपा नेता पुस्तक चन्द, रास्वपा कर्णाली प्रदेश योजना तथा नीति तर्जुमा विभाग प्रमुख इन्जिनियर मानबहादुर शाही र पार्टीका विदेश विभागका सदस्य रत्नबहादुर विश्वकर्मालगायतका नेता कार्यकर्ता उद्धार, उपचार, राहत वितरण र अस्थायी आवास निर्माणका लागि खटिए । 

इन्जिनियरसमेत रहेका प्रदेश योजना तथा नीति तर्जुमा विभाग प्रमुख मानबहादुर शाहीका अनुसार उद्धार तथा उपचारका क्षेत्र अन्तर्गत आठबिसकोट–१४, रुकुमपश्चिम तथा जाजरकोट नलगाडमा स्थानीय युवासँगको सहकार्यमा भग्नावशेष पन्छाउने तथा पुरिएका सामग्री निकाल्ने, मरेका पशुचौपायको व्यवस्थापन कार्य भएको थियो । 

यस्तै डा. मुकुल ढकालको नेतृत्वमा डा. तोशिमा कार्की, डा. निकोलास भुसाल, डा. दीक्षा देवकोटा लगायतका १७ जना डाक्टरको टिमले जाजरकोट अस्पतालमा आई निरन्तर एक महिनासम्म घाइते तथा बिरामीको उपचारमा संलग्न भए भने डा. तोशिमाको नेतृत्वमा आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोट, सानीभेरी गाउँपालिका–४ वलिवाङ, नलगाड नगरपालिका–१, चिउरी तथा भेरी नगरपालिकाका विभिन्न बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिए । ती शिविरबाट दुई हजार सात सयभन्दा बढी बिरामी लाभान्वित भएको रास्वपाको दाबी छ । 

meshin hastantaran

साथै आर्ट अफ लिभिङ नेपालका प्रमुखको संयोजनमा दुई दिने ट्रमा रिलिफसम्बन्धी कार्यक्रमसमेत गरिएको शाही बताउँछन् । राहत सामग्री हस्तारण तथा वितरणतर्फ तेस्रो दिनदेखि नै रास्वपमा फिल्डमा खटिएको थियो । 

‘जिल्लामा कुनै पनि सङ्घसंस्थाबाट राहत सामग्री नआइरहेको अवस्थामा हाम्रो पार्टी केन्द्रीय कार्यालयका तर्फबाट जिल्ला प्रशासन कार्यालय जाजरकोटमा सभापतिज्यू स्वयंले खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो,’ शाही भन्छन्, ‘रुकुम प्रशासनमा त्रिपाल तथा न्यानो कपडा हस्तान्तरण गरिएको थियो । जसले सबै सरोकारवाला निकायहरूलाई राहतमा केन्द्रित हुन उत्प्रेरित ग¥यो ।’

रास्वपाले लाखौँ मूल्य बराबरका स्वास्थ्यका सामग्री पनि प्रभावित जिल्लामा हस्तान्तरण गरेको छ । डा. तोशिमाको नेतृत्वमा जाजरकोट अस्पताललाई स्टेपलाइजर मेसिन हस्तान्तरण गरिएको छ भने मिसन अस्पताल चौरजहारीलाई पाँच थान र आधारभूत अस्पताल नलगाडलाई दुई थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको शाही बताउँछन् । आठबिसकोट नगरपालिका–१३ को आधारभूत विद्यालयमा १०६ जना, बाल विकास केन्द्र ठुला बगरका ३० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ भने सानीभेरी गाउँपालिका–४, खालचौरमा ५१ जना विद्यार्थीलाई न्यानो कपडा, कपी, कलमसहित १५० जना अभिभावकलाई न्यानो कपडा र खानेकुरा वितरण गरिएको छ । 

jajarkot hospitalma meshin hastantaran

यस्तै प्रदेश इन्चार्ज देवकोटाका अनुसार जाजरकोट कुसे गाउँपालिकाका दलित, वृद्ध, सुत्केरी तथा बालबालिकाका लागि ३९६ जनालाई न्यानो कपडा पालिकाका सभापति हिरमबहादुर नेपालीको नेतृत्वमा वितरण गरियो  ।

त्यसैगरी भेरी नलगाड नगरपालिका तथा दार्मा गाउँपालिकाका १२१ जना सुत्केरी तथा गर्भवतीहरूका लागि न्यानो कपडा र आठबिसकोट नगरपालिका–१३ मा २२ घरपरिवारलाई डसना वितरण गरिएको उनको भनाइ छ । 

अस्थायी आवास निर्माण
इन्जिनियर मानबहादुर शाहीको नेतृत्वमा रास्वपाले सबैभन्दा पहिला अस्थायी आवास निर्माणको काम सुरु गरेको थियो । शाही आफैँ प्रभावित क्षेत्रकै बासिन्दा भएकाले पनि उनले सुरुमा मृतक परिवारहरूका लागि आवास निर्माण गरेका थिए । 

Abas banaudai- man ba shahi RSP

उनी भन्छन्, ‘भूकम्प गएको १० दिन भइसक्दासमेत सरकार तथा विभिन्न सरोकारवाला राहतलगायतका कुरामा मात्रै रुमल्लिइरहेका थिए । एकातिर भूकम्पले पारेको मानवीय तथा भौतिक क्षतिले गाउँबस्ती आघात अवस्थामा रहेका थिए । अर्कातिर तिहार चलिरहेको तथा जाडो मौसम बढ्न थालेको अवस्थामा सबै पक्षलाई सही मार्गनिर्देशनको खाँचो थियो ।’ 

त्यसपछि आफूहरू भूकम्पपीडितलाई त्रिपालबाट मुक्त गरी अस्थायी आवास निर्माणतिर केन्द्रित भएको उनले बताए । ‘त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई त्रिपालमुक्त गरी अस्थायी आवास निर्माण गर्नु पर्छ भन्ने सोचका साथ हाम्रो टिमले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मृतक, सुत्केरी, वृद्धवृद्धा, एकल महिला, अपाङ्गलाई प्राथमिकीकरण गरी लक्ष्मीपूजाको दिनदेखि अस्थायी आवास निर्माण कार्यमा जुटेका थियौँ,’ शाहीले भने, ‘पहिलो पटक आठबिसकोट नगरपालिका–१४ का भूकम्मबाट मृत्यु भएका दस परिवारको अस्थायी आवास निर्माण कार्यको सुरुवात ग¥यौँ, भाइटीकाका दिन गणेश मल्लको आवास निर्माण गरी हस्तान्तरण गरेका थियौँ ।’ 

abash nirman ma

अहिलेसम्म मृतक परिवारका २०, अपाङ्ग २०, एकल महिला २८, सुत्केरी २१, ज्येष्ठ नागरिक २०, दीर्घरोगी ३ घर तथा दुईवटा नमुना बस्ती नलगाड नगरपालिका—१ को ठुलाबगर र सानीभेरी गाउँपालिका–४, गोलचौरमा गरी २०३ अस्थायी आवास निर्माण भएको उनको भनाइ छ । भूकम्पबाट आफन्त र सम्पत्ति गुमाई अन्योलमा रहेका गाउँबस्तीलाई ‘आफ्नो घर आफैँ बनाऔँ’ भन्ने अभियान सञ्चालन गर्न समुदायलाई परिचालन गरी स्थानीय स्रोत, साधन र सीपमा आधारित अस्थायी आवास निर्माणका मोडल दिन सफल भएको उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप