शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको तल्लो तहमा १२ सय पद रिक्त : कोहीले पार्टी छाडे, केही विदेश लागे

मङ्गलबार, १७ पुस २०८०, १८ : २६
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा वडादेखि जिल्ला तहसम्म १२ सय ४ पद रिक्त रहेको पाइएको छ । कांग्रेस महामन्त्री गगन थापाले मङ्सिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिलाई तल्लो तहको रिक्त पदको विवरण पठाउन निर्देशन दिएका थिए ।

कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ–नगरपालिका र वडा तहका कार्यसमितिमा निर्वाचन र मनोनयन गर्न बाँकी पदको विवरण मागेको थियो । कांग्रेसमा विधानअनुसार केन्द्रीय समितिसहित आठ तहमा संगठन संरचना छ ।

पार्टी विधानमा हरेक तहका कार्यसमितिका सभापतिलाई २० प्रतिशत सदस्य मनोनयनको अधिकार छ भने पदाधिकारीमध्ये कोषाध्यक्ष कार्यसमिति बैठकबाट मनोनीत गर्ने व्यवस्था छ ।

प्रदेशले पठाएको विवरणमा जिल्ला सभापति, उपसभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पालिका र वडाका पदाधिकारी संख्या बढी छ । सात वटा प्रदेशमध्ये सबैभन्दा बढी बागमती र कर्णालीमा कम पद रिक्त रहेको देखिन्छ । कांग्रेसका वडादेखि जिल्ला तहसम्म बागमती प्रदेशमा २६८ र कर्णालीमा ५६ पद रिक्त छन् ।

जिल्लाले पठाएको विवरणमा केहीले पार्टी छाडेको, केही विदेश लागेको, केहीको मृत्यु भएको केही कारबाहीमा परेको उल्लेख छ ।

कुन प्रदेशमा कति पद रिक्त ?

इलाम र खोटाङ बाहेक कोशी प्रदेशमा पार्टीका १९६ पद रिक्त रहेको पाइन्छ । कोशी प्रदेशमा कांग्रेसका तीन ३ वडा सभापतिसहित २० जना पदाधिकारी तथा सदस्य र ५८ जना प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ ।

यस्तै एक पालिका सभापतिसहित २९ जना पदाधिकारी तथा सदस्यको पद रिक्त रहेको पाइएको छ । एक जना प्रदेशसभा क्षेत्रीय सभापतिसहित २० जना पदाधिकारी तथा सदस्यको पद रिक्त छ भने ६ जना प्रदेश अधिवेशन प्रतिनिधिको पद पनि खाली छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्रीय समितिमा पदाधिकारी र सदस्य गरी १७ जना, एक जिल्ला सभापतिसहित ३८ जना पदाधिकारी तथा सदस्य रिक्त रहेको विवरणमा उल्लेख छ । ६ जना महाधिवेशन प्रतिनिधि र २ जना महासमिति सदस्यको पद खाली छ । कोशी प्रदेशमा पद रिक्तको कारण मृत्यु, कारबाही, सम्पर्क विहीन, विदेश गएको लगायत छन् ।

मधेस प्रदेशका पाँच जिल्लामा वडा सभापतिदेखि महाधिवेशन प्रतिनिधिसम्म २३८ पद रिक्त छन् । जसमा पाँच वडासभापतिसहित ३२ पदाधिकारी तथा सदस्य, ७३ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ ।

यस्तै दुई जना पालिका सभापतिसहित ३८ जना पदाधिकारी तथा सदस्यको पद रिक्त छ भने प्रदेशसभा क्षेत्रीय समितिका एक सभापतिसहित २० जना पदाधिकारी तथा सदस्यको पद पनि रिक्त छ ।

६ जना प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधिसभा क्षेत्रीय समितिका ३७ जना पदाधिकारी तथा सदस्यको पद रिक्त छ । जिल्ला तहमा पदाधिकारी तथा सदस्य गरी २० जना र १२ जना महाधिवेशन प्रतिनिधिको पद रिक्त छ । कांग्रेसको पद रिक्तको कारणमा मधेस प्रदेशमा पार्टी परित्याग गर्नेको संख्या बढी देखिन्छ । बारा, पर्सा र सर्लाहीबाट रिक्त पदको विवरण आउन बाँकी छ ।

बागमती प्रदेशमा ११ जिल्लामा कांग्रेसका वडा सभापतिदेखि महासमिति सदस्यसम्म गरी २६८ पद रिक्त छन् । कांग्रेसको वडा तहमा चार सभापतिसहित ३२ पदाधिकारी तथा सदस्य र ६७ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ । यस्तै पालिका तहमा दुई सभापतिसहित २३ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा एक सभापतिसहित २८ पदाधिकारी र ३६ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिका ४१–४१ पदाधिकारी तथा सदस्यको पद रिक्त छ । बागमती प्रदेशमा कांग्रेसको पद रिक्त हुनुमा विदेश गएको, कारबाही, मृत्यु र पार्टी परित्याग देखिन्छ । काठमाडौँ र चितवनबाट पार्टीका रिक्त पदको विवरण कांग्रेस केन्द्रीय कार्यालयमा आइपुगेको छैन ।

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लाबाट १२७ रिक्त पदको विवरण आएको छ । जसमध्ये कांग्रेसको वडा तहमा ती जना सभापतिसहित १२ पदाधिकारी तथा सदस्यको पद रिक्त छ भने ४६ प्रदेश क्षेत्रीय प्रतिनिधिको पद खाली छ ।

यस्तै पालिका तहमा ९ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा एक सभापतिसहित १४ पदाधिकारी तथा सदस्य र १३ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिमा १४ र जिल्ला समितिमा १९ पदाधिकारी तथा सदस्यको पद रिक्त छ । गण्डकी प्रदेशभित्र महाधिवेशन प्रतिनिधिमा तीन पद छन् । मुस्ताङ र स्याङ्जाबाट रिक्त पदको विवरण आउन बाँकी छ ।

लुम्बिनी प्रदेशमा कांग्रेसका वडादेखि जिल्ला तहसम्म २३७ पद रिक्त छन् । वडा तहमा तीन सभापतिसहित २४ पदाधिकारी तथा सदस्य, ९८ प्रदेश क्षेत्रीय प्रतिनिधि, पालिका तहमा २ वडा सभापति गरी ३१ पदाधिकारी तथा सदस्यको पद रिक्त छ । यस्तै एक प्रदेशसभा क्षेत्रीय सभापति गरी २९ पदाधिकारी तथा सदस्य र २० प्रदेश अधिवेशन प्रतिनिधिको पद खाली छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिमा २६ पदाधिकारी तथा सदस्य, ८ महाधिवेशन प्रतिनिधि र १ महासमिति सदस्यको पद रिक्त छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलालले तयार पारेको विवरणमा लुम्बिनी प्रदेशको जिल्लामा तहमा कुनै पनि पद रिक्त छैन । यद्यपि लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये नवलपरासी र बर्दियाको रिक्त पदको विवरण आउन बाँकी छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये ६ जिल्लामा ५६ रिक्त पदको विवरण यहाँ उल्लेख छ । कांग्रेसको वडा तहमा तीन सभापति गरी १९ पदाधिकारी तथा सदस्य र १४ प्रदेशसभा क्षेत्रीय प्रतिनिधिको पद रिक्त छ । यस्तै पालिका तहमा एक सभापतिसहित ४ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा ४ पदाधिकारी तथा सदस्य र ४ प्रदेश अधिवेशन प्रतिनिधिको पद खाली छ ।

जिल्ला समितिका ६ पदाधिकारी तथा सदस्य र एक महाधिवेशन प्रतिनिधिको पद रिक्त छ । सचिव दुलालका अनुसार रुकुम पश्चिम, डोल्पा, सुर्खेत र जुम्लाको विवरण आउन बाँकी छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा कांग्रेसका वडादेखि जिल्लासम्म ८२ पद रिक्त छन् । वडा तहमा ३ सभापति गरी २१ पदाधिकारी तथा सदस्य, प्रदेशसभा क्षेत्रीय समितिमा २ सभापतिसहित ९ पदाधिकारी तथा सदस्य, २४ प्रदेश अधिवेशन प्रतिनिधिको पद रिक्त छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्रीय समितिका १३ पदाधिकारी तथा सदस्य र जिल्ला समितिका १२ पदाधिकारीको पद रिक्त छ । महाधिवेशन प्रतिनिधिको तीन पद पनि रिक्त छ । यहाँ नेपाली कांग्रेस अछामको विवरण उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप