बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजीनामाको अन्तर्य

राजीनामा होल्ड गर्दा सरकार र स्वयम् प्रधानमन्त्रीलाई नै असर पुग्छ : गजुरेल

बुधबार, १८ पुस २०८०, १५ : ११
बुधबार, १८ पुस २०८०

काठमाडौँ । मङ्सिर २० गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको उक्त राजीनामा बुधवार बिहानसम्म स्वीकृत भएको छैन । 

एक महिना पुग्न लाग्दासमेत राजीनामा स्वीकृत नभएकोमा प्रधानमन्त्रीसँग गजुरेलले आक्रोश पोखेका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले लामो समय राजीनामा होल्ड गर्दा सरकार र स्वयं प्रधानमन्त्रीलाई नै असर पुग्ने बताए । 

‘मैले मङ्सिर २० गतेबाट नै लागु हुने गरी राजीनामा दिएको हुँ । त्यस दिनबाट म बालुवाटार र सिंहदरबार कार्यालय गएको छैन । लामो समयसम्म उहाँले राजीनामा किन होल्ड गर्नुभयो, मैले बुझेको छैन । राजीनामा स्वीकृत नहुँदा सरकार र प्रधानमन्त्रीलाई नै असर गर्छ’, उनले भने । 

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् । यद्यपि पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीमा गजुरेलले कुरा उठाएको सापकोटाले जानकारी दिए । त्यतिबेला प्रचण्डले राजीनामाको विषयमा गजुरेलसँग छुट्टै कुराकानी गर्ने जवाफ दिएको उनले बताएका छन् ।

गत वर्ष माघ ९ गते मन्त्री सरह सेवा सुविधा दिएर प्रधानमन्त्री प्रचण्डले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए । तथापि अप्रत्याशित रूपमा पद त्याग गर्नुको खास कारणबारे राजीनामा स्वीकृत भएपछि मात्र खुलाउने गजुरेलले बताउँदै आएका छन् । 

माओवादीलाई पुनः सत्ता राजनीतिमा बलियो शक्तिमा स्थापित गर्न भ्रष्टाचारको फाइल मुख्य हतियार भएकाले खुट्टा नकमाउन गजुरेलले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । यस्तै ललिता निवास र सुन प्रकरणसम्म आइपुग्दा माओवादीकै उच्च नेताहरू संलग्न भएको विषय बाहिरिएको थियो ।  यसै विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले साउन २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाएका थिए । 

९ किलो भेप सुन प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको समेत संलग्न भएको विषयमा नेताहरूले प्रचण्डसँग प्रश्न उठाएका थिए । उक्त बैठकमा आक्रोशित रूपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले पनि सुन प्रकरणमा जेल जान तयार भएर बस्न चेतावनी दिएका थिए । 

सरकार नै ढल्ने स्थिति आए पनि नक्कली  शरणार्थी, ललिता निवास र सुन प्रकरणमा दोषीमाथि कारबाही अगाडि बढाउन बैठकले  म्यान्डेट दिएको थियो । तर बैठकको निर्णय र गजुरेलको सुझावलाई उपेक्षा गर्दै पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, बाबुराम भट्टराई र पार्टीभित्रकै नेताहरूलाई जोगाउने काम गरेको, अनुसन्धानमा  खटिएका अधिकृतहरूलाई सरुवालगायत गर्ने स्थिति आएपछि नैतिक रूपमा  पदमा बस्न नचाहेकाले उनले राजीनामा दिएको बताइएको छ । 

भुटानी शरणार्थी र ललिता निवास प्रकरणको फाइल खोल्दासम्म सरकारको उचाइ ह्वात्तै बढेको थियो । यस प्रकरणमा बहालवाल सचिव, पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसुरक्षा सल्लाहकारलगायत हाई प्रोफाइलका राजनीतिज्ञ, प्रशासक र गिरोह पक्राउ परेका थिए । ठुलठुला भ्रष्टाचारका फाइल खोलेर जनस्तरमा सरकार हाइहाई भइरहेको बेला पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने गरी अनुसन्धान गरेकोमा प्रधानमन्त्रीसँग उनले असन्तुष्टि पोखेका थिए । 

नक्कली शरणार्थी प्रकरणमा मुख्य भूमिका खेलेका काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई सरुवा भएपछि गजुरेल प्रधानमन्त्रीसँग असन्तुष्ट भएको उनी पक्षीय एक नेताले दाबी गरेका छन् । 

‘हरिबोलजीले नक्कली भुटानी प्रकरण, ललिता निवास र सुन काण्डको फाइल निष्कर्षमा नपुगेसम्म सरकारले खुट्टा कमाउन नहुने प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो । तर भनेअनुसार भएन’, गजुरेलको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘राजनीतिक दबाबमा नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान गर्न मुख्य भूमिका खेलेका अनुसन्धान अधिकृतलाई सरुवा गरेपछि उहाँ असन्तुष्ट हुनुभयो । जसका कारण उहाँले मंसिर पहिलो साता नै राजीनामा दिन खोज्नुभएको थियो ।’ 

गजुरेलले राजीनामा दिने मनस्थिति बनाएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिन र पछि बसेर सल्लाह गरौँला भन्दै मनाउने प्रयास गरेको बताइएको छ । तर, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चीन गएका गजुरेलले स्वदेश फर्किएलगत्तै राजीनामा बुझाएका हुन् ।

राजनीतिक नियुक्तिमा आफ्ना मान्छे नपरेको झोँकमा राजीनामा दिएको हो भन्ने प्रश्नको गजुरेलले अस्वीकार गरेका छन् । यद्यपि १० महिने कार्यकालमा सरकार र खास गरी प्रधानमन्त्रीलाई सफल बनाउन आफूले धेरै मेहनत गरेको तर सरकार नै असफल हुने स्थिति आएपछि आफू पदमा बस्न नचाहेको उनले स्वीकार गरेका छन् । 

‘सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण र सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारलाई सफल बनाउन मैले धेरै मेहनत गरेको छु । तर पछिल्लो समय सरकार नै असफल हुने स्थिति आएपछि पदमा बस्न चाहिनँ’, उनले भने, ‘तर बाहिर चर्चा भए जस्तो राजनीति नियुक्ति वा सत्ता सौदाबाजीका लागि राजीनामा दिएको होइन । त्यो लोभीपापीले चलाएको हल्ला मात्र हो ।’

सल्लाहकारबाट दिएको राजीनामा स्वीकृत भएपछि पार्टीभित्र विचारको बहस चलाउने तयारीमा उनी रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप