सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
गठबन्धनमा भागबन्डा

राष्ट्रियसभामा सिट नपाएपछि के भन्छन् सत्ता गठबन्धनका साना दल ?

आइतबार, २२ पुस २०८०, १४ : १६
आइतबार, २२ पुस २०८०

काठमाडौँ । राष्ट्रिसभा सदस्यको चुनावका लागि सत्ता गठबन्धनले सिट बाँडफाँट गरेको छ । १९ सिटका लागि हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले भागबण्डा पाएका छैनन् ।

गठबन्धनमा रहेका चार वटा दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका बिचमा सिट बाँडफाँट भएको छ । जस अनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले एक सिट पाएका छन् ।

तर कम्तीमा एक सीट पाउनु पर्ने दाबी गरेका लोसपा, जनमत, उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले एक सिट पनि पाएनन् ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले राष्ट्रिय सभामा एक सिटमा आफूहरुको दाबी रहेको बताए । उनले भने, ‘हामीले एक सिट माग गरेका छौँ, त्यो पाउँछौँ जस्तो लाग्छ, हामी अझै आशावादी छौँ ।’

प्रधानमन्त्री प्रचण्डसँग कुराकानी चलिरहेको र एक सिट पाउनेमा आफू विश्वस्त रहेको चौधरीले बताए । उनले गठबन्धनभित्रका सबैलाई सिट मिलाउन नसके त्यो बेइमानी हुने बताए । आफूहरुले प्रधानमन्त्री अथवा गठबन्धनलाई धोका नदिएका कारण उताबाट पनि आफूहरुमाथि धोका नहुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

चौधरीले आफू महाधिवेशनको तयारीमा लागेका कारण बैठकहरुमा जान नपाएको तर गठबन्धन दलका नेताहरुसँग छलफलमै रहेको जानकारी दिए ।

यस्तै, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आफूहरुले एक सिटमा दाबी गरेको तर गठबन्धनले के निर्णय ग¥यो भन्नेबारे आफ्नो पार्टीलाई कुनै जानकारी नआएको बताइन् । शनिबार बसेको गठबन्धनको बैठकमा आफूले एक सिटमा दाबी प्रस्तुत गरेको बताउँदै उनले त्यो एक सिट पाउने हो कि नपाउने हो भन्नेबारे कुनै जानकारी नआएको बताइन् ।

गठबन्धनको आधिकारिक निर्णयको प्रतीक्षामा रहेको पौडेलको भनाइ छ ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले पनि आफ्नो पार्टीले एक सिटमा दाबी गरेको तर गठबन्धनले किन दिएन भन्नेबारे थाहा नपाएको बताए । गठबन्धनमा रहेका हरेक दलले राष्ट्रिय सभामा सिट पाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘सबैलाई दिएको भए गठबन्धनप्रति सबैको विश्वास कायम रहन्थ्यो ।’

जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी रहेको र राष्ट्रियसभा चुनावलगायतको विषयमा छलफल हुने उनले बताए ।

त्यस्तै, लोसपाका महासचिव डा.सुरेन्द्र झाले आफ्नो पार्टीले पनि एक सिटमा दाबी गरेको तर ठुला दलहरुलाई नपुगेका कारण सायद लोसपालाई नदिएको हुनसक्ने टिप्पणी गरे ।

राष्ट्रियसभामा ज–जसको सिट खाली भएका छन्, ती दलले मात्र पाउने भन्ने एउटा मापदण्ड गठबन्धनले बनाएका कारण अहिले लोसपाले भागबण्डा नपाएको हुन सक्ने उनको बुझाइ छ । तर लोसपा गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले प्रस्ट पारे । झाले भने, ‘गठबन्धन लामो समय चल्नुपर्छ भन्ने पक्षमा लोसपा छ, अरु धेरै कुरामा सहकार्य गर्न बाँकी नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप