सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोले वीरगन्ज महानगरमा एक साताका लागि विद्यालय बन्द

सोमबार, २३ पुस २०८०, १६ : ०७
सोमबार, २३ पुस २०८०

पर्सा । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण वीरगन्ज महानगरपालिकाको आग्रहमा आजदेखि एक साताका लागि विद्यालय बन्द गरिएको छ  । हुस्सु र शीतलहरका कारण बालबालिकालाई पठनपाठनमा समस्या भएकाले महानगरपालिकाले आजदेखि माघ १ गतेसम्म महागरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन लगाएको हो । 

महानगरपालिकाको शिक्षा समितिको हिजो बसेको बैठकले पुस २३ गतेदेखि माघ १ गतेसम्म महानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको शिक्षा अधिकृत हरि राउतले जानकारी दिए । कतिपय संस्थागत विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले त्यस्ता विद्यालयलाई परीक्षा सकिएपछि बिदा दिने निर्णय भएको उनको भनाइ थियो । 

यसैबीच एक्कासि बढेको शीतलहर र चिसोका कारण पर्साको जनजीवनमा असर पर्नाका साथै अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण  रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी अस्पतालमा  बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनायो । दूधे बालकदेखि ६० वर्षसम्मका बृद्धबृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् ।  चिसो बढेकाले सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ ।

चिसोले बिरामी भएका दैनिक करिब ३० देखि ३५ जनासम्म उपचारका लागि आउने गरेको नारायणी अस्पतालका सूचना अधिकारी उदयनारायण सिंहले जानकारी दिए । दैनिक बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्याको अभावमा बिरामीलाई भुईँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप