मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि देशको मेरुदण्ड, यसको विकासमा सबैको हातेमालो आवश्यक छ : प्रमुख दाहाल

मङ्गलबार, २४ पुस २०८०, १५ : ५७
मङ्गलबार, २४ पुस २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताएकी छन् । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशनको भरतपुरमा उद्घाटन गर्दै उनले देशको मेरुदण्ड कृषि भएकाले यसको विकासमा सबैको हातेमालो आवश्यक रहेको औँल्याएकी हुन् ।

प्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रमुखको हैसियतले आवश्यक मागलाई पुरा गर्ने र सहजीकरण गर्ने बताइन् ।  ‘कोभिडपछि कृषि क्षेत्रमा पनि असर परेको छ, उनले भनिन्, ‘कृषि क्षेत्र अहिले थिलथिलो अवस्थामा छ । यही समयमा सबैको जोडबलले कृषिलाई पुरानो अवस्थामा फर्काउन सकिन्छ।’

भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग पुराउने गरी भरतपुरमा महाधिवेशन गरी यहाँको पर्यटनमा सहयोग पुराउनु भएको प्रति आयोजक कमिटीलाई आभार प्रकट गरिन् । उनले भरतपुर भ्रमण वर्ष २०२४ सडकहरू निर्माणाधीन रहेकाले केही समय पछि धकेलिएको भए पनि पूर्वनिधारित तालिकाअनुसार अघि बढेको जानकारी दिइन् ।

भरतपुर दूधमा आत्मनिर्भर, पोल्ट्रीको राजधानी र देशमा दूधमा सबैभन्दा धेरै अनुदान दिने पहिलो पालिका रहेको सो अवसरमा जानकारी दिइन् । प्रमुख दाहालले दूधमा प्रति लिटर रु ३ अनुदान दिँदा अहिलेसम्म महानगरपालिकाले रु १५ करोड रुपैयाँ दुग्ध कृषकलाई उपलब्ध गराएको बताइन् ।

भरतपुर महानगरपालिकाले कृषि क्षेत्रमा राम्रै फड्को मारेको भए पनि यो अझै पर्याप्त नभएको उनको भनाई थियो ।

महाधिवेशनमा देशभरका करिब २ हजार पशुपन्छी औषधि व्यवसायीहरूको सहभागिता रहेको छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने आयोजकले जनाएको छ । मंगलबार खुल्ला सत्र सकिएको छ भने भोलि बन्द सत्रसँगै नयाँ कार्यसमिति चयन गर्ने तालिका रहेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप