शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
चितवन हत्या प्रकरण

चितवन हत्याको लहरो भारतको मोतिहारीसम्म, कसरी भयो ३ जनाको हत्या ?

१९ दिनमा पत्नी र उनका दुई प्रेमीको हत्या
मङ्गलबार, २४ पुस २०८०, १९ : ५८
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । चितवनको भरतपुरमा मङ्सिर ६ गते दुई जनाको शव भेटियो । बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको शव भारतीय नागरिक ऋषभ कुमार कुशवाहा र सन्जु देवी ‘अस्मिता’ को रहेको भन्दै उनीहरुका परिवारले सनाखत गरेका छन् ।

ऋषभ र सन्जु देवी प्रेमी–प्रेमिका हुन् । उनीहरु दुवै जना भारतको बिहार, मोतिहारीका हुन् । सन्जुका पति ३३ वर्षका अखिलेश भगतले उनीहरु दुवैको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारी भन्छन्, ‘चितवनमा दुवै जनाको हत्या गरेपछि सन्जुका पति अखिलेश भागेर भारत गएको अनुसन्धानबाट देखिन्छ ।’

ऋषभ र सन्जु देवीको हत्यासँग जोडिएका अर्का पात्र हुन् रितेश साह । बिहारस्थित मोतिहारीमा घर भएका रितेशको पनि हत्या भएको भारतीय प्रहरीको अनुसन्धान निष्कर्ष छ । अखिलेशले रितेशको पनि हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।

चितवनमा पत्नी र ऋषभलाई हत्या गरेपछि आरोपित अखिलेश मोतिहारी गएका हुन् । भारतीय प्रहरीले उनलाई रितेशको अपहरण गरेको आरोपमा खोजिरहेको थियो । तर, पक्राउ गरेपछि अखिलेशले नै भने, ‘रितेशको हत्या गरेँ ।’

रितेशको हत्याबारे अनुसन्धान गर्दै जाँदा चितवन हत्याको रहस्य पटाक्षेप भएको छ । घटनाबारे भारत र नेपालतर्फका प्रहरीले समन्वय गरेर अनुसन्धान गरेका छन् ।

कसरी भयो ३ जनाको हत्या ?

चितवनमा ज्यान गुमाएका १९ वर्षका ऋषभ, ३० वर्षीय सन्जु (अस्मिता), भारतमा हत्या गरिएका रितेश साह र हत्या आरोपित अखिलेश एक आपसमा परिचित हुन् ।

रितेश कुमार साहले ऋषभ र अखिलेशलाई काठमाडौँ ल्याएका हुन् । उनीहरु मिलेर कालिमाटीमा तरकारीको व्यापार पनि गरेको प्रहरीसँग अखिलेशले बताएका छन् ।

उनीहरु मिलेर बिजुलीको काम पनि गरे । तर, उनीहरुको बिचमा बेमेल हुने कारण बनिन् अखिलेश पत्नी सन्जुदेवी । काठमाडौँमा बस्दा रितेश र सन्जुदेवी नजिक भएको आशंकामा अखिलेशले उनको हत्या योजना बनाए । त्यसपछि भारतमा गएको मौका पारेर ऋषभसँग मिलेर रितेशको हत्या गरेको आरोपितले बताएका छन् ।

भारतीय प्रहरीले रितेशको शव गाडेको भनिएको ठाउँमा उत्खनन् गरेको छ । तर, शव नभेटिएको नेपालबाट घटनाबारे अनुसन्धान गर्न गएका नेपाल प्रहरीका अधिकृतहरुलाई भारतीय प्रहरीले बताएका छन् ।

पत्नी सन्जुदेवीको विषयमा आरोपित र रितेशलाई राखेर कालिमाटीस्थित महिला सेलमा प्रहरीले छलफल समेत गराएको भेटिएको छ ।

उनीहरु काठमाडौँ छाडेर चितवन गए । त्यहाँ पनि सामान्य व्यापार गर्दै आएका थिए । रितेशलाई हत्या गरेपछि ऋषभ, अखिलेश र सन्जु देवी चितवनमा सँगै बस्न थालेका हुन् । तर, त्यहाँ ऋषभले पत्नीमाथि आँखा लगाएपछि हत्या गर्ने निर्णय गरेको आरोपितले प्रहरीलाई बताएका छन् ।

भारतमा रितेशको हत्या गरेको १९ औँ दिनमा चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा आरोपितले पत्नी सन्जुदेवी र ऋषभको हत्या गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी नवराज अधिकारीले जानकारी दिए । उनी भन्छन्, ‘मङ्सिर २ मा अखिलेश सहितका तीनै जना बस्ने डेरामा हत्या भएको देखिन्छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार ऋषभ सुतिरहेको अवस्थामा अखिलेशले घाँटीमा सल कसेर हत्या गरे । त्यतिबेला पत्नी सन्जुदेवी कपडा धुँदै थिइन् । कपडा धोइसकेपछि ऋषभको हत्या गरेको उनले थाहा पाइन् । ‘हत्याबारे सबैलाई भनिदिन्छु’ भन्दै सन्जुदेवी कराउन थालेपछि उनको पनि हत्या गरेको अखिलेशले प्रहरीलाई बताएका छन् ।

मङ्सिर ३ गते बिहान १ बजेतिर साइकलमा हालेर भरतपुरको पारस बसपार्क भन्दा पूर्वतर्फ राजमार्गमा लगेर उनले शव फालिदिए । मङ्सिर ४ मा बिहान दुवै मृतकको कपडा लगेर उनले शव नजिकै फालेको अनुसन्धानबाट थाहा भएको छ ।

त्यसपछि मङ्सिर १६ मा आरोपित भारततर्फ गए । ३३ वर्षीय अखिलेश अहिले मोतिहारीस्थित जेलमा छन् ।

मृतकको नम्बर बन्यो ‘क्लू’

घटना भएको झण्डै डेढ महिनापछि अनुसन्धान अधिकृतहरु मृतकको पहिचान गर्न र आरोपित पत्ता लगाउन सफल भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अधिकृतहरुले हत्याकाण्ड पत्ता लगाउन २५ दिन अनुसन्धान गरे ।

परिवारले ऋषभको शव चिन्न सकेनन् तर, उनका बुबाले दिएको नम्बर घटना अनुसन्धानमा क्लू बन्यो । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘ऋषभको नम्बर पाएपछि प्राविधिक अनुसन्धान गर्दा घटना पत्ता लगाउन सफल भयौँ ।’

प्रहरीका अनुसार अखिलेशले दुई जनाको हत्यापछि ‘मेरी पत्नीलाई ऋषभले भगाएर लगेको छ’ भनेर फोन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप