सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बहस

स्टेज कार्यक्रममा साङ्गीतिक प्रस्तुतिमार्फत अतिरिक्त आम्दानीमा गायक–गायिकाकै एकाधिकार !

गीतका अन्य सर्जक र निर्माता हेरेको हेर्‍यै
शनिबार, २८ पुस २०८०, १३ : ५६
शनिबार, २८ पुस २०८०

काठमाडौँँ । यतिबेला देशका विभिन्न भागमा मेला–महोत्सव आयोजना भइरहेका छन् । ती मेला–महोत्सवमा विभिन्न गायक–गायिकालाई स्टेज प्रस्तुतिका लागि निम्त्याउने गरेको पाइन्छ । गायक–गायिकाले त्यस्ता कार्यक्रममा आफ्नो स्वरमा रेकर्ड भएका गीत गाउने गर्दछन् र त्यसबापत राम्रै पारिश्रमिक लिने गरेका छन् ।

तर, गायक–गायिकाले त्यसरी लिएको पारिश्रमिकको सानो हिस्सा पनि उक्त गीत सिर्जनामा महत्त्वपूर्ण योगदान दिने गीतकार, संगीतकारलाई दिने गरिएको पाइँदैन । जबकि, स्टेज कार्यक्रममा गाउने गरिएका कतिपय गीत निर्माणका लागि निर्र्माताले ठुलो रकम खर्चिएको हुन्छ । यस आधारमा पनि निर्माताको अनुमति बेगर उसको स्वामित्वमा रहेको गीत गायक–गायिकाले व्यावसायिक प्रयोजनका लागि अन्यत्र प्रयोग गर्नु उचित नहुने सरोकारवाला बताउँछन् । यसो गरिनु कानुनी र नैतिक रुपमै गलत भएको गीत–संगीत क्षेत्रका व्यक्तिहरु बताउँछन् ।

एउटा गीत बन्न धेरै पक्षको योगदान रहन्छ । विशेष गरेर शब्द, संगीत र स्वर । यी सबैलाई पारिश्रमिक दिएर निर्माताले गीत निर्माण गराउँछ । बिध्यावासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी गीतको आर्थिक अधिकार निर्मातामै रहने बताउँछन् ।

subash ragmi

उनी निर्माताले चाहेमा आफ्नो लगानीका गीत–संगीत गायक–गायिकालाई स्टेज कार्यक्रममा प्रस्तुत गर्न रोक्न सक्ने धारणा राख्छन् ।

रेग्मीको बिचारलाई समर्थन गर्छन् गीतकार लोकराज अधिकारी । उनी गीतमा काम अनुसारको बौद्धिक अधिकार सबैको भए पनि आर्थिक अधिकार निर्माताको हुने बताउँछन् ।

‘गीतको आर्थिक अधिकार रहने भएकाले नै निर्माताले गीतमा लगानी गर्ने हो’, अधिकारीले भने, ‘त्यसको नाफा, घाटा निर्माताले नै बेहोर्ने हो ।’

आर्थिक आम्दानी गर्न गीत कहाँ प्रयोग गर्ने, कहाँ नगर्ने भन्ने अधिकार निर्मातामै रहने अधिकारी बताउँछन् । उनी भन्छन्, ‘आर्थिक अधिकारको यहाँ सम्मान भने भएको देखिन्न । निर्माताको गीत गाएर कमाएको छु, त्यसको हिस्सा उसलाई पनि दिनुपर्छ भन्ने सोच कसैमा छैन ।’

lokraj

स्टेजमा गाउन अनुमति चाहिन्छ ?

एउटा गीत तयार हुन गीतकार (शब्द), संगीतकार (संगीत)को भूमिका गायक–गायिकाको भन्दा महत्त्वपूर्ण हुन्छ । गीतकारले कोरेको शब्दमा संगीतकारले संगीत भरेपछि मात्र गायक गायिकाले स्वर भर्ने हो । यो हिसाबले हेर्दा गायक–गायिका तेस्रो प्राथमिकतामा पर्ने भए पनि गीत–संगीतमा रजाइँ भने गायक गायिकाले नै गरिरहेको देखिन्छ ।

गीतबाट बजारमा चिनिने, चर्चा पाउनेदेखि धेरै फाइदा गायक–गायिकाले लिने गरेका छन् । सिधै भन्नुपर्दा उनीहरुले आफ्नो आर्थिक अधिकारमा रहेका मात्र होइन, आर्थिक अधिकार बाहिरका (पारिश्रमिक लिएर गाएका) गीत–संगीत समेत प्रयोग गरेर आर्थिक आम्दानी लिन्छन् । त्यसका लागि न उनीहरुले आर्थिक अधिकारवाला व्यक्तिसँग अनुमति लिन्छन्, न त्यसरी गरिएको आम्दानीको हिस्सा उक्त गीतका लागि योगदान गरेका अन्य पक्षलाई दिन्छन् ।

अर्काको लगानीका गीत–संगीत स्टेजमा प्रयोग गर्दा अनुमति लिनुपर्ने र आर्थिक बाँडफाँट गर्नुपर्ने गीतकार बीबी थापा बताउँछन् । ‘विभिन्न कार्यक्रममा गायक गायिकाले आफ्नो लगानीका गीतसंगीत सजिलै प्रयोग गर्न पाउँछन्’, थापाले भने, ‘अन्यको लगानीको गीत–संगीत प्रयोग गर्न अनुमति लिनुपर्छ ।’

गायक, गायिकाले आफैँले पारिश्रमिक लिएर गाएको गीत–संगीत प्रयोग गर्न लगानीकर्तासँग अनुमति लिनुपर्ने थापाको धारणा छ । ‘गीत गाएको पारिश्रमिक पनि लिने । त्यही गीत–संगीत आफ्नै सम्पत्ति जसरी विभिन्न स्थानमा प्रयोग गर्ने । यो त दुबै हातमा लड्डु भएन र ?’ उनले भने, ‘पारिश्रमिक लिएर गाएको गीत जहाँ प्रयोग गर्दा पनि आर्थिक अधिकारवाला व्यक्तिसँग अनुमति लिनुपर्छ ।’

गीतकार थापाको विचारसँग शत प्रतिशत सहमति जनाउँछन्  गायक, गीतकार तथा संगीतकार अर्जुन पोखरेल । उनी गायक गायिकाले अर्काको आर्थिक अधिकार रहेको गीत प्रस्तुत गरिरहेको बताउँछन् ।

‘सबै गायक–गायिकाले यसो गरिरहेका छन् भनेर म भन्दिनँ । कतिपय गायक गायिकाले अर्काको र अर्काेको आर्थिक अधिकार रहेको गीत जथाभावी प्रयोग गर्ने गरेका छन् । त्यो गलत हो,’ पोखरेलले भने, ‘मेरो मात्र होइन, कसैको पनि त्यो नगर्नुस् ।’

अर्काको गीत जथाभावी प्रयोग गर्नु भनेको नैतिक र कानुनी रुपमा पनि गलत भएको उनले सुनाए । ‘अर्काको गीत–संगीत प्रयोग अगाडि अनुमति लिनु अनिवार्य छ,’ उनले अगाडि भने ।

गायिका राधिका हमाल यो विषयमा एउटा बहस चलाउनुपर्ने बेला भएको बताउँछिन् । ‘गायक–गायिकाले अहिलेसम्म आफूले गाएको गीतमा अधिकार हुन्छ भनेर प्रयोग गर्दै आएका छन्’, हमालले भनिन्, ‘प्रयोग गर्न आर्थिक अधिकार प्राप्त व्यक्तिसँग अनुमति भने लिनुपर्छ ।’

कतिले बुझेरै पनि, कतिले नबुझेर प्रयोग गरिरहेको हमालको धारणा छ । त्यसरी प्रयोग भएका गीत–संगीतको आम्दानी आर्थिक अधिकारवालालाई दिनुपर्ने उनी बताउँछिन् ।

गीतकार दिनेश अधिकारी पनि आर्थिक अधिकार आफ्नो नरहेको गीत मैले फलानो, फलानो ठाउँमा प्रयोग गरेँ र त्यो हिसावले यति कमाएँ, यति दिन्छु भनेर गायक–गायिकाले स्वतः भन्र्नुपर्ने बताउँछन् । ‘हरेक पटक स्टेजमा प्रस्तुत गर्दा अनुमति लिनुपर्ने झन्झट होला’, दिनेशले भने ‘प्रतिलिपि अधिकारको हिसावले कमाएको हिस्सा दिनुपर्ने जिम्मेवारी भने हो ।’

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका प्रवक्ता सुरेश अधिकारी के भन्छन् ?

गीतमा पहिलो अधिकार नियमले गीतकारमा भन्छ । गीतकारले त्यो अधिकार लगानी गर्नेलाई दियो भने निर्माता (लगानीकर्ता) मा रहन्छ । त्यो अनुसार गीतमा लगानी गायक, गायिका, संगीतकार वा अन्य जसले गरेको छ उसमा रहन्छ । नैतिक अधिकार भने भूमिका अनुसारको सबैमा रहन्छ । आर्थिक  अधिकार लगानीकर्ताले सर्जकसँग गरेको सम्झौतामा अनुसार रहन्छ ।

suresh

गीतको अधिकारका लागि निर्माताले गायक गायिका वा अन्य पक्षलाई पारिश्रमिक दिएको हुन्छ । पारिश्रमिक लिएको गीतमा गायक–गायिकाको कुनै आर्थिक वा अन्य अधिकार रहँदैन भनेर भनेको छ । गायक गायिकाले स्टेजमा निर्माताको गीत गाउन पाउने नपाउने भन्ने निर्माता र रचनाकारमा भर पर्छ । गायक गायिकाले यी व्यक्तिसँग अधिकार लिएको छ, छैन भन्ने कुरोमा भर पर्ने हो । सामान्यतय गायक–गायिकाले अनुमति लिनुपर्ने देखिन्छ ।

यदि अनु्मति नलिएको खण्डमा निर्माताले मेरो गीत अन्य ठाउँमा प्रयोग नगर्नु भन्न सक्छ । प्रयोग गरे आम्दानी बाँड्नुपर्ने हुन्छ । ऐनले अधिकार स्रष्टा (गीतकार)मा दिएको छ । उहाँसँग अनुमति लिनुपर्छ भन्ने अधिकार देखाएको छ । स्रष्टाले निर्मातामा अधिकार दिएको भए निर्मातामासँग अनुमति लिनुपर्ने हुन्छ । अहिले ऐन संशोधनको तयारीमा छ । अब क्लियर भएर आउला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप