आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
चोरलाई चौतारी

बालुवा र माटो चोर्नेलाई कारबाही नगर्न सेजको पत्राचार

६ सय टिप भन्दा धेरै बालुवा र माटो चोरी, लाखौँको राजस्व हिनामिना
आइतबार, २९ पुस २०८०, ०८ : ०७
आइतबार, २९ पुस २०८०

बारा । आफ्नो जग्गाबाट माटो र बालुवा चोर्नेलाई कारबाही नगर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजले प्रहरीलाई पत्राचार गरेको छ । सेजको सार्वजनिक जग्गाबाट माटो र बालुवा चोरीमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएपछि कारबाही नगर्न सेजले प्रहरीलाई पत्र पठाएको हो ।

‘सिमरा सेजको ‘बि ब्लक’ मा उत्खनन गर्दै गर्दा एक्स्काभेटर र ट्याक्टरको सम्बन्धमा उत्खनन गरेको खाल्टो जीतपुर सिमरा उपमहानगर वडा नं १४ का वडाध्यक्ष चयन गुरुङको रोहबरमा उत्खनन गरेको सम्पूर्ण खाल्टो पुर्ने भनी इलाका प्रहरी कार्यालय सिमरामा लिखित गरिने छ’ सेजले पठाएको पत्रमा उल्लेख छ  ‘सोही लिखित सहमतिको आधारमा हाललाई नियन्त्रणमा लिएको सवारी साधन व्यक्तिलाई उपलब्ध गराई सहयोग गरिदिनु हुन सिफारिस साथ अनुरोध छ’ 

पुस १९ गते सिमरा सेजको बि ब्लकमा माटो र बालुवा चोरिरहेको अवस्थामा राती २ बजे सिमरा प्रहरीले उत्खनन स्थलबाटै एक्स्काभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । सवारी साधन नियन्त्रणमा लिने क्रममा चालक भने भागेका छन् ।

प्रहरीले ना १ क ६६४७ को एक्स्काभेटर र ना ७ त ५४०७ नं को ट्याक्टर नियन्त्रणमा लिएको छ । सेजका इन्जिनियर आनन्द भट्टले प्रहरीसँगको कुराकानीमा सेजको बि ब्लकबाट ६ सय टिप भन्दा धेरै बालुवा र माटो चोरी भएको,उत्खनन स्थलमा ठुला ठुला खाल्टाखुल्टी बनाएको र ३६ लाख भन्दा धेरैको राजस्व हिनामिना भएको जनाएका थिए । 

चोरी भएको माटो र बालुवा खोला छेउमा बालुवा प्रशोधन उद्योग सञ्चालकले लगेको प्रहरीले जनाएको छ । सेजले चोरलाई कारबाही नगर्नु भनेर प्रहरीलाई दबाब दिनुले सेजका कर्मचारी र जनप्रतिनिधिका भूमिका शङ्कास्पद देखिएको छ ।  

जीतपुर सिमरा उपमहानगर वडा नं १४ की वडाध्यक्ष चयन गुरुङले खाल्टो पुर्ने सहमतिमा एक्स्काभेटर र ट्याक्टर छोड्न सहमति भएको बताइन् । ‘चोरलाई एक न एक दिन छोड्नै पर्छ, फेरि माटो, बालुवा धेरैले चोरेका छन्, प्रहरीले त एउटा एक्स्काभेटर र ट्याक्टर मात्रै नियन्त्रणमा लिएको हो’ वडाध्यक्ष गुरुङले भनिन् ‘खाल्टो पुर्ने सहमतिमा गाडी छोड्ने सहमति भएको हो’

पुस २५ गते इप्रका सिमरालाई पठाएको पत्रमा सेजका इन्जिनियर पप्पु गिरीले हस्ताक्षर गरेका छन् । सो पत्रको बोधार्थ विशेष आर्थिक क्षेत्र प्राधिकरण त्रिपुरेश्वर काठमाडौँलाई मात्रै गरिएको छ । 

जीतपुर सिमरा उपमहानगरले भने पत्रको बोधार्थ स्थानीय तहलाई  नदिनुले चोरीमा सेजका कर्मचारीको मिलेमतो रहेको जनाएको छ । 

यता विशेष आर्थिक क्षेत्र प्राधिकरणका सेजका कार्यकारी प्रमुख डा. चण्डिका भट्टले भने सेजबाट माटो, बालुवा चोर्नेलाई क्षति भराउने र कानुन अनुसार कारबाही गर्न आफूले निर्देशन दिएको दाबी गरेका छन् । 

se1

‘सेजकै जग्गाबाट माटो चोर्नु यो त अति नै भयो, क-कसको मिलेमतोमा चोरी भएको हो सबै अनुसन्धान गरेर कारवाहीका लागि प्रहरीलाई पत्र पठाउन मैले सिमरा सेजलाई निर्देशन दिइसकेको छु’ भट्टले भने ।

यसअघि पनि जीतपुर सिमरा वडा नं ११ को सार्वजनिक जग्गाबाट हजार टिप भन्दा धेरै माटो चोरी भएको थियो । व्यक्तिको भोग चलनको जग्गाबाट सिफारिस बनाएर सार्वजनिक जग्गाबाट ५० औ लाखको  राजस्व हिनामिना हुने गरी माटो चोरी भएको घटनामा चौतर्फी दबाब आएपछि उपप्रमुख भोला प्रसाद अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भयो । 

तर माटो चोरीमा माओवादी र एमाले वडाध्यक्षहरू नै संलग्न भएको भेटिएपछि उपप्रमुख अधिकारीले छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गर्न सकेका छैनन् । जीतपुर सिमरा उपमहानगरले माटोमा प्रति घनफिट २ रुपैयाँ कर लगाएपछि माटो चोरीका घटना एकपछि अर्को सार्वजनिक भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप