आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

चित्रबहादुरका ‘दुई जिब्रा’ : दुर्गाको पालामा यूटर्न !

आइतबार, २९ पुस २०८०, १५ : ३३
आइतबार, २९ पुस २०८०

काठमाडौँ । तुलनात्मक रूपमा नेपालको राजनीतिमा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी ‘इमान र निष्ठा’को राजनीति गर्ने नेता भनेर चिनिन्छन् । तर तिनै केसी नेतृत्वको पार्टी पद प्राप्तिका लागि कतिसम्म मरिहत्ते गर्छ भन्ने कुरा सो पार्टीको पछिल्लो प्रस्तावले पुष्टि गरेको छ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिने भएपछि त्यसअघि अर्थात् माघ ११ मा १९ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका उम्मेदवार गठबन्धनमार्फत निर्वाचित हुँदैछन् । राष्ट्रिय सभाको एक पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्दैछन् । राष्ट्रपतिले मनोनीत गर्ने उक्त एक पदमा भने राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष समेत रहेकी दुर्गा पौडेललाई गर्नुपर्ने भन्दै प्रस्ताव नै गरेको छ । पौडेल नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहकी पत्नी हुन् ।

पौडेललाई उक्त पदमा प्रस्ताव गरिएको कुरा आइतबार अध्यक्ष केसीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । पौडेल प्युठानबाट गत निर्वाचनमा एमाले उम्मेदवार सूर्यबहादुर थापासँग पराजित भएकी हुन् । उनै पौडेललाई जनमोर्चाले राष्ट्रिय सभामा मनोनीत गर्नुपर्ने प्रस्ताव गठबन्धनसमक्ष अघि सारेको छ । अध्यक्ष केसी तिनै हुन् जसले यसअघि २०७७ साल असोजमा वामदेव गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत हुँदा चर्को विरोध गर्ने मध्येका एक थिए । त्यसबेला उनले गौतमसहित अन्य नेताहरूको समेत चर्को विरोध गरेका थिए ।  

‘यस्ताका हातमा राज्यसत्ता छ । कमसेकम लाज त लाग्नुपर्छ ! प्रजातन्त्रको कुरा । वार्डमा हारेका, गाउँपालिकामा हारेका, प्रदेशको चुनावमा हारेका हरुवाहरू राष्ट्रिय सभामा ल हेर्नुस् ! अनि गफ गर्ने हामी सफल भयौँ, जनता खुसी छन् भनेर’, पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा केसीले भनेका थिए ।  

त्यसबेला के भनेका थिए चित्रबहादुरले ?

ऋषि धमला : राष्ट्रिय सभाको कुरा गर्दा तपाईंलाई राम्रोसँग थाहा छ –वामदेव गौतम राष्ट्रिय सभामा इन्ट्री हुनुभयो, राष्ट्रिय सभाको सांसद बन्नुभयो । सरकारले सिफारिस गर्‍यो, राष्ट्रपतिले उहाँलाई मनोनीत गर्दिनुभयो । अव के हुन्छ भन्नुस्, उहाँ यो देशको मन्त्री बन्न सक्नुहुन्छ कि हुन्न ? संविधानको स्प्रिटको कुरा गर्दैछु म ?

केसी : त्यतिमात्रै होइन । प्रतिनिधि सभामा हारेको मन्छेले आधा दर्जन क्षेत्रबाट प्रतिनिधि सभामा आउन उहाँ (वामदेव गौतम) ले कोशिस गर्नुभयो । त्यो कुरा असफल भयो । कहीँ काम लागेन । त्यसपछि राष्ट्रिय सभामा फागुनमै ल्याउन खोजेका हुन् । राष्ट्रिय सभामा नआउने कुरा भयो । त्यस्तो गरेर अव राष्ट्रिय सभामा आइसकेपछि अब त्यति ठुलो विजय । मानौँ ब्रिटिस र इन्डियाले हडप गरेको नेपालको ठुलै भूभाग फिर्ता गरेजस्तो । भारतले कब्जा गरेका ती भूभाग फिर्ता गर्दाका दिनजस्तो । तीन तीनजना भूतपूर्व प्रधानमन्त्रीहरू, दुई-दुईवटा संविधानसभाको सभामुख भएकाहरूले त्यो क्षेत्रमा हारेको हरुवाका सय तिकडम गरेर राष्ट्रिय सभामा ल्याएपछि । अझ त्यो खादा ओढाएको दृश्य पो थियो मज्जाको त्यो हेर्नुभएन तपाईंले ? प्रचण्ड, माधवकुमार र झलनाथ खनालले बधाई र सफलताको शुभकामना ओलीजीका रिसले दिएका थिए ।

यस्ताका हातमा राज्यसत्ता छ । यस्ताका हातमा नेपाली जनताको भाग्यको निर्णायक छ गति । कमसेकम लाज त लाग्नुपर्छ ! प्रजातन्त्रको कुरा । वार्डमा हारेका, गाउँपालिकामा हारेका, प्रदेशको चुनावमा हारेका हरुवाहरू राष्ट्रिय सभामा ल हेर्नुस् ! अनि गफ गर्ने हामी सफल भयौ, जनता खुसी छन् भनेर ।

अध्यक्ष केसीले २०७९ मा पराजित पौडेललाई राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रियमा लैजान प्रस्ताव गरेपछि रातोपाटीले प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवारलाई सिफारिस गर्दा प्रश्न उठ्दैन भनेर  प्रश्न गरेको छ । तर केसीले प्रश्न उठ्नु सामान्य भएको जवाफ दिएका छन् ।

‘प्रश्न त उठाइरहन्छन् नि । प्रश्न तपाईंमाथि पनि उठ्छ । ममाथि पनि उठ्छ । अर्कामाथि पनि उठ्छ । त्यो त उठिरहन्छ नि । भन्छन् संघीयताको विरोध गर्ने अनि यही संघीय प्रणालीमा भाग लिने पनि भन्छन् । त्यही कारणले कुरा त उठिरहन्छन्’, केसीको भनाइ छ ।

यस्तो छ रातोपाटी र केसीबिचको टेलिफोन कुराकानी :

  • राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन प्रस्ताव गरेको हो ?

हो नि त्यो त सबै सार्वजनिक नै भयो नि । वक्तव्य आएपछि थाहा भएन ?

  • हैन पार्टीले आधिकारी रूपमा प्रस्ताव गरेको हो कि होइन ?

पत्राचार भन्दा पनि मौखिक प्रस्ताव गरेको हो ।

  • गठबन्धनको बैठकमा बालुवाटार तपाईं पनि जानुभएको थियो ?

होइन, हाम्रा प्रतिनिधि जानुभएको थियो ।

  • प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवारलाई सिफारिस गर्‍यो भन्ने प्रश्न उठ्ला नि तपाईंमाथि ?

प्रश्न त उठाइरहन्छन् नि । प्रश्न तपाईंमाथि पनि उठ्छ । ममाथि पनि उठ्छ । अर्कामाथि पनि उठ्छ । त्यो त उठिरहन्छ नि । भन्छन् संघीयताको विरोध गर्ने अनि यही संघीय प्रणालीमा भाग लिने पनि भन्छन् । त्यही कारणले कुरा त उठिरहन्छन् ।

  • तपाईं त निष्ठा र इमानको राजनीति गर्ने नेता हुनुहुन्छ । निर्वाचनमा पराजित भएको एक वर्षमै फेरि राष्ट्रिय सभामा भाग लिँदा अप्ठ्यारो पर्दैन ?

होइन, अलिकति अनुभव भएको । जानेको, बुझेको मान्छे पठाउनुपर्ने हामीलाई अनुभव भयो । मै जाँदिन नि प्रतिनिधिसभामा ल भन्नोस् न । साख्यै भन्ने हो भने । २०७४ सालमा म जान्न भने । जसले जतिसुकै निर्णय गरे पनि गइन किनकि  म त्यहाँ तीन चोटि गएर त्यहाँ हेरेँ । जसको संगठन छ, बजेट उसैले लुँड्याउँछ । जनताले केही ल्याइनस् भन्छन् । त्यसो हुनाले मैले ०७४ मा म उठ्दिन भने । फेरि पाँच वर्षको अवधिमा पार्टीभित्र र बाहिर पनि त्यहाँ जाँदा के हुन्थ्यो । तपाईं भागेको हो भने । फेरी ल हेर्नुस् । अब नजाँदा पनि सुख नहुने । गएपछि तैँले के गरिस् भन्छन् । 

त्यहाँ सरकार आफ्नो हुँदैन । आफ्नो पार्टीको अर्थमन्त्री हुन्न । भान्छे अर्कै हुन्छ । एमाले भए एमाले । कांग्रेस भए कांग्रेस । माओवादी भए माओवादी । भान्छे अरू नै हुन्छन् । बजेट उनीहरूले आफ्ना ठाउँमा लान्छन् । हाम्लाई त्यहाँ हेर्‍या हेरै गराउँछन् । त्यहाँ जानु तलबभत्ता बुझ्ने यताउति अनुभव भएर म ०७४ जाँदै गइन । फेरि नजाँदा पनि कुरा कोटे हेर्नुस् । किन भागेको ? 

त्यहाँ पठाउने मान्छे पनि केही बुझेको, केही जानेको अनुभव भएको पठाउनुपर्छ । खाली पाना पठाउने रसिदको हामीलाई अनुभव भएको छ नि त ।

  • अन्य जाँदा त्यति फरक नपर्ला । तर चित्रबहादुरले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा, त्यसमाथि मोहन विक्रम सिंह महामन्त्री भएको पार्टीमा किन यस्तो भयो भन्लान् नि ?

यसमा मोहनविक्रम सिंहलाई जोड्ने प्रश्नै छैन । उनी २०५६ मै कपिलवस्तुमा चुनावमा उठेकी हुन् । पछि २०६४ मा काठमाडौँबाट उठिन् । हारेको बेला कसैले कुरा उठाउन्न हेर्नुस् । उनी विद्यार्थी संगठनमा काम गरेकी हुन् । महिला संगठनमा काम गरिन् । रक्तिम संगठनमा काम गरिन् । मोहन विक्रमसँग पछि नै हो ब्याहा गरेपछि उनी नेता भएकी त होइन । उनी विद्यार्थी, महिलामा धेरै काम गर्दै आएपछि मोहन विक्रमसँग भेट हुने सन्दर्भ पर्‍यो । त्यस हुनाले जोड्छन् मान्छेले ।

  • भनेपछि पार्टीको आधिकारिक प्रस्ताव नै हो होइन त ?

हो हो । त्यो पार्टीकै प्रस्ताव हो नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप