मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माघको पूर्वसन्ध्यामा थारु युवालाई ‘मन्ड्रा र डफ’ बजाउन सिकाइयो

आइतबार, २९ पुस २०८०, २० : १४
आइतबार, २९ पुस २०८०

धनगढी । आदिवासी थारु समुदायको मौलिक संस्कृति र संस्कार हराउँदै गएको भन्दै कैलालीमा थारु युवालाई मौलिक मन्ड्रा (मादल) र डफ बजाउन सिकाइएको छ ।

थारु लेखक संघले माघ पर्वलाई लक्षित गरी कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा थारु युवालाई ३ दिनसम्म निःशुल्क रुपमा ती वाद्य सामग्री बजाउन सिकाइएको हो ।

३ दिनको तालिम प्रयाप्त नभएपनि युवाहरुलाई लोक संस्कृति र संस्कार पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा लिइएको छ ।

तालिम समापन कार्यक्रममा कैलारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर चौधरीले लोक बाजा संरक्षण तथा प्रवर्द्धनमा राज्यको ध्यान जान जरुरी रहेको बताए ।

राज्यको लगानी विना लोप हुने बताउँदै वडाध्यक्ष चौधरीले आफूहरुले पनि पालिका स्तरमा मौलिक रैथाने सीप सिकाउने कार्य गर्ने प्रतिबद्धता जनाए ।

यसैबिच थारु लेखक संघका संस्थापक सदस्य लखन चौधरीले नयाँ पुस्तालाई लोक संस्कृति र संस्कार समयमा पुस्तान्तरण गर्न नसके लोप हुने भन्दै चिन्ता व्यक्त गरे । लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न व्यवसायकरणको अवधारणा जरुरी रहेको बताउँदै उनले त्यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

ती वाद्य सामग्री बजाउन सिकाउने तालिममा ४ वर्षका बालकदेखि बृद्धसम्मको सहभागिता रहेको थारु लेखक संघका सचिव अनिल कुश्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप