सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पैसा बचाउन चीनमा परिवार नै लक्जरी होटेलको सुइटमा सरेपछि....

सोमबार, ०१ माघ २०८०, १३ : ५४
सोमबार, ०१ माघ २०८०

बेइजिङ । चीनमा एउटा परिवार घर भाडामा लिनु वा घर किन्नुको सट्टा पैसा बच्ने भन्दै लक्जरी होटेलको सुइटमा स्थायी रूपमा बसोबास गर्न थालेपछि यति बेला त्यहाँको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । आठ जनाको एउटा परिवार चीनको हनन प्रान्तको नानयाङमा रहेको लक्जरी होटेलमा २२९ दिनदेखि बसिरहेको हो । तत्कालै होटेल छाड्ने कुनै संकेत उनीहरूले गरेका छैनन् । दुई वटा बेड रुम र एउटा ठुलो लिभिङ रुम भएको लक्जरी सुइट विशेष दरमा दैनिक १ हजार युआनमा पाएपछि त्यही कोठामा अनिश्चित समयसम्म बस्ने योजना सो परिवारले बनाइरहेको छ ।

सुइटको दिनहुँको शुल्कमा बिजुली बत्ती, हिटर, पानी र पार्किङको समेत पैसा समावेश गरिएको छ । लक्जरी होटेलमा बस्दा उल्टै पैसा बचेको अनि आफूहरूको जीवन निकै सहज भएको नाम स्पष्ट नखुलाइएको सो परिवारले बताएको भन्दै समाचारहरू छापिएका छन् । होटेलमा बस्दा आफूहरू खुसी रहेको अनि आफ्नो बाँकी जीवन पनि होटेलमै बिताउने सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा परिवारका एक जना सदस्य बताइएका मु सुईले बताएका छन् ।

दैनिक १ हजार येन तिरेर बसिएको होटेलको कोठा आठ जना सदस्यका लागि ठिक्क भएको पनि  बताइएको छ । यसरी बस्दा उल्टै पैसा बच्ला भनेर आफूले कहिले पनि नसोचेको परिवारको भनाइ छ । ती परिवारको आर्थिक अवस्था राम्रै छ । उनीहरूसँग कम्तीमा पनि ५ वटा प्रोपर्टी छ । तर पनि उनीहरू होटेलमा बसिरहेका छन् । आफूहरू २०० भन्दा बढी दिनदेखि होटेलमा बसिरहेको प्रमाणित गर्न परिवारले होटेलमा हजारौँ युआन तिरेको रसिदहरू पनि देखाएका थिए ।

उनीहरूको यस भिडियोले चीनको सामाजिक सञ्जालमा बहस र विवाद सुरु भएको छ । कयौँ मान्छेहरूले यो परिवार होटेलमा बसेको देखेर आफूलाई पनि त्यस्तै गर्न मन लागेको अनि यसरी होटेलमा बस्न सस्तो पर्ने भए आफूहरू पनि बस्ने भनिरहेका छन् । केहीले भने आठ जनाको परिवारका लागि होटेलको सुई कसरी सहज भयो भनेर अचम्म मानिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप