सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कारागारमा रहेकी इरानी नोबेल पुरस्कार विजेतालाई नयाँ सजाय

सोमबार, ०१ माघ २०८०, १९ : ३३
सोमबार, ०१ माघ २०८०

पेरिस । इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उनको परिवारले सोमबार बताएको छ । 

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ । उनलाई तेहरानबाहिर दुई वर्ष निर्वासनमा बिताउन आदेश दिइएको थियो भने दुई वर्ष भ्रमणमा प्रतिबन्ध र स्मार्टफोनको प्रयोगमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । यी प्रतिबन्ध उनको रिहाइपछि लागु हुनेछ । 

परिवारका अनुसार सन् २०२१ मार्चपछि मोहम्मदीलाई यो पाँचौँ सजाय हो । यसमा अहिले १२ वर्ष तीन महिनाको कैद, एक सय ५४ कोर्रा, दुई वर्षको निर्वासन र विभिन्न सामाजिक तथा राजनीतिक प्रतिबन्ध समावेश छन् । 

परिवारले फैसलाको निन्दा गर्दै भनेको छ, “यो एउटा ‘राजनीतिक वक्तव्य’ जस्तो छ, फैसलाले ‘उहाँले बारम्बार अराजकता र गडबडी उत्पन्न गर्नका लागि इस्लामिक शासनविरुद्ध सार्वजनिक तथा व्यक्तिगत विचारहरूलाई उक्साउनुभएको र प्रोत्साहित गर्नुभएको’ आरोपलाई जोड दिएको छ ।”

मोहम्मदीलाई इरानमा मानवअधिकारका लागि सन् २०२३ को नोबेल शान्ति पुरस्कार दिइएको थियो । ओस्लोमा उनका तर्फबाट परिवारले उक्त पुरस्कार ग्रहण गरेको थियो । उनले पछिल्लो दुई दशकको अधिकांश समय कारागारभित्र र बाहिर बिताएकी छन् र सन् २०२१ नोभेम्बरमा आफ्नो सबैभन्दा पछिल्लो सजाय काट्न सुरु गरेकी छन् । 

यद्यपि तेहरानको एभिन कारगारमा रहेर पनि उनले आफ्नो अधिकारहरूका लागि अभियान सञ्चालन गर्न छाडेकी छैनन् । उनले अधिकारीहरूमाथि व्यवस्थित उल्लङ्घनको आरोप लगाएको छ र विशेषरूपमा मृत्युदण्डको उनीहरूको प्रयोगको आलोचना गरेकी छन् । 

इस्लामिक गणतन्त्र इरानमा अनिवार्य हिजाबको कट्टरविरोधी मोहम्मदीले कारागारभित्र हेडस्कार्फ लगाउने नियमहरूको पनि अवहेलना गरेकी छन् । उनका परिवारका अनुसार त्यसैले मोहम्मदीलाई धेरै दण्ड दिइएको छ । उनलाई विशेषरूपमा फोन गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।- (रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप