आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप खेलाउन अमेरिकाको न्युयोर्कमा अत्याधुनिक रंगशाला

बिहीबार, ०४ माघ २०८०, १० : ५७
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । त्यसैले विश्वकप आयोजनाका लागि अमेरिकाले क्रिकेटका नयाँ पूर्वाधारहरु पनि धमाधम तयार पार्दैछ ।

यसैक्रममा आगामी विश्वकपलाई ध्यानमा राखी न्यु योर्कमा निर्माण गरिएको नयाँ नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियमको बुधबार अनावरण गरिएको छ । उक्त क्रिकेट मैदानको निर्धारित समयभन्दा अगाडि नै अनावरण गरिएको समाचारमा जनाइएको छ ।  

अन्तर्राष्ट्रिय स्तरको उक्त क्रिकेट स्टेडियम ३४ हजार दर्शक क्षमताको रहेको छ । उक्त रंगशालामा आगामी विश्वकपका आठवटा खेल खेलाउने कार्यक्रम रहेको छ । विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल पनि जुन ९ तारिखमा सोही रंगशालामा खेलाइने कार्यक्रम रहेको छ ।

उक्त रंगशालामा विभिन्न वर्गका दर्शकको लागि छुट्टाछुट्टै क्षेत्र र सिटको ब्यवस्था मिलाइएको छ । विशिष्ठ अतिथिहरुका लागि सुविधा सम्पन्न क्याबिनको ब्यवस्था पनि गरिएको छ । उक्त रंगशालामा भारत र पाकिस्तानबिचको खेलका अतिरिक्त अन्य सात पनि खेलाइने छ ।

श्रीलंका र दक्षिण अफ्रिका, भारत र आयरल्यान्ड, क्यानडा र आयरल्यान्ड, नेदरल्यान्ड्स र दक्षिण अफ्रिका, दक्षिण अफ्रिका र बंगलादेश, पाकिस्तान र क्यानडा तथा अमेरिका र भारतबिचको खेल पनि सोही रंगशालामा खेलाइने छ ।

हाल क्रिकेट रंगशाला बनाइएको स्थानमा पहिले फर्मुला वानका खेलहरु हुन्थे । भारतको अहमादाबादमा नरेन्द्र मोदी रंगशाला बनाउने निर्माण कम्पनीले नै न्यु योर्कको क्रिकेट रंगशाला निर्माण गरेको समाचारमा जनाइएको छ । यसका अतिरिक्त लन्डनस्थित टोट्टनहाम हट्सपर फुटबल रंगशाला पनि यही कम्पनीले निर्माण गरेको हो ।

आगामी जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेको छन् ।

नेपालले आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्सासस्थित डालास रंगशालामा खेलिने छ । नेपालले दोस्रो खेल जुन ११ तारिखमा श्रीलंकासँग खेल्नेछ । उक्त खेल अमेरिकाको फ्लोरिडामा खेलाइने छ ।

यसैगरी नेपालले तेस्रो खेल जुन १४ तारिखमा दक्षिण अफ्रिकासँग खेल्नेछ । उक्त खेल सेन्ट भिसेन्टमा खेलिने छ । चौथो खेल भने नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ । उक्त खेल पनि सेन्ट भिसेन्टमै खेलिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप