सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अलबिदा

सम्झनामा योगेश वैद्य : मखमली आवाजका धनी !

शुक्रबार, ०५ माघ २०८०, १७ : ०५
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका एक नक्षत्र वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्य सधैँका लागि हामीबाट बिदा भएका छन् ।  ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौँको सुनधारास्थित भ्याली अस्पतालमा निधन भएको हो । 

‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत थुप्रै लोकप्रिय गीत उनले हाम्रा लागि छाडेर गए । यी गीत नेपाली सांगीतिक आकाशमा पहिलेझैँ फेरि पनि अवश्य गुन्जिनेछन् । फरक यत्ति हो– वैद्यको स्वर र संगीतमा नयाँ गीत रेकर्ड हुने छैन । हामीले उनलाई सशरीर भेट्न पाउने छैनौँ ।

१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएससीसम्मको अध्ययन गरेका योगेशको रेडियो नेपालबाट यात्रा सांगितिक यात्रा सुरु भएको थियो । वैद्यको पहिलो गीत ०२२ मा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा ‘कति प्यासी छ जिन्दगी...’बोलको रेकर्ड भएको थियो । त्यसपछि एउटा नेवारी गीत रेकर्ड भयो ‘जीवन जिगु...’ । त्यसपछि उनको थुप्रै गीत रेकर्ड भए ।

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेशले ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । वैद्यका संगत गरेका सांगीतिक क्षेत्रका चर्चित व्यक्तित्वहरू उनको सम्झना यसरी गर्छन् ।

मखमली आवाजका धनी

शम्भुजित बास्कोटा, विशिष्ट संगीतकार

shambujeet

योगेश वैद्य दाइको योगदानको बारेमा राष्ट्रले कसरी बोल्छ, त्यो थाहा भएन । मैले भन्नुपर्दा उहाँ सुगम संगीतको संरक्षण हो । उहाँको समय–समयको अभिव्यक्ति र उहाँले गाएको गीत र संगीत छनौटले पनि कुराले त्यो देखाउँछ । उहाँ एउटा अत्यन्तै गहन व्यक्तित्व पनि हुनुहुन्थ्यो ।

उहाँ देशमा मेलोडियस, आधुनिक र सदाबहार गीतहरू गुन्जिरहोस् भन्ने आशय राख्नुहुन्थ्यो । नेपालको संगीत क्षेत्रले उज्ज्वल र ठुलो भविष्य पाओस्, नेपाली गीतसंगीतका स्रष्टाले पनि छिमेकी मुलुकका जस्तै ज्ञान हासिल गरुन्, आफ्ना आवाजले मौलिकताले नेपाली गीतसंगीत विश्वमा फैलाउन सकून् भन्ने भावना राख्नुहुन्थ्यो । आफैँले पनि नेपाली, नेपाल भाषाका धेरै गीतहरू गाएर योगदान पुर्‍याउनु भएको छ । उहाँले गीतसंगीतका संस्थाहरूमा बसेर सल्लाह, सुझाव दिने काम समेत गर्नुभयो । नातिकाजी स्मृति समाजका उहाँ संस्थापक सल्लाहकार हुनुहुन्थ्यो । उहाँ नातिकाजी दाइको पनि प्रिय गायक हुनुहुन्थ्यो । योगेश दाइको योगदानको बारेमा मैले जति बताएँ त्यो सरल र प्रत्यक्ष देखिएको विषयवस्तुमात्र हो । उहाँ धेरै कविता लेख्ने, गीत लेख्ने र संगीत समेत दिनुहुन्थ्यो । उहाँको घरमा धेरै सृजना त्यतिकै बसेका छन् ।

तीन दिन अगाडिसम्म मैले कुरा गरेको थिएँ । आज यो सोच्नै नसक्ने घटना भयो । उहाँ मखमली आवाजका धनी हो । उहाँ नरहे पनि, उहाँका कृति हामीमाझ सधैँ रहिरहनेछ ।

अद्भुत आवाजका धनी

चेतन सापकोटा, अध्यक्ष– संगीतकार संघ  

chatan sapakota

योगेश वैद्य दाइ एउटा अद्भुत आवाजका धनी हुनुहुन्थ्यो । त्यो आवाजले म जस्ता थुप्रै युवालाई काठमाडौँ ल्यायो । म पनि उहाँको आवाजबाट प्रभावित हो । उहाँको आवाजमा जादु, कला र क्षमता थियो । उहाँको आवाजले धेरैलाई कलामा लाग्न प्रेरित गर्‍यो । मायामा डुबेकालाई मायामा बहकिन पनि प्रेरित गर्‍यो । रेडियो नेपाल बनाउने उहाँको आवाज हो । उहाँलाई चिन्न सकेन रेडियोले ।

उहाँलाई रेडियो नेपाल बनाउने गायकको रूपमा चिन्छु म । म पनि सिन्धुपाल्चोकबाट ११ वर्षमा उहाँ जस्तै गायक बन्न आएको थिएँ । संगीतको अनेक क्षमता भएको व्यक्ति हो उहाँ । उहाँमा कलाले भरिपूर्ण व्यक्ति भन्छु म । उहाँलाई हामीले अन्तिम बिदाइ उहाँकै गीत गाएर गरेका छौँ । 

हाम्रा लागि सांगीतिक गुरु

जुगल डंगोल, संगीतकार/ गायक

jugal dhongol

योगेश वैद्यको नेपाली संगीतमा रहेको योगदानको तुलना गर्ने ठाउँ छैन । उहाँको स्वर, संगीतको शैली र उहाँले त्यसलाई दिने गाम्भीर्यता एकदमै विशेष किसिमको थियो । शालीन, सरल र सबैलाई माया गर्ने उहाँको व्यक्तित्व थियो । हामीहरूका लागि उहाँ सांगीतिक गुरु हुनुहुन्थ्यो । उहाँको गीतसंगीत सुनेर हामीले सिकेका हौँ । नेपाली संगीतको आकाशमा उहाँ एक नक्षत्र हुनुहुन्छ । उहाँको शैली, गुण हामीले पछ्याउनुपर्नेछ । संगीत भनेको मनोरञ्जन मात्र होइन, एउटा साधना हो, कला हो । यसलाई कसरी परिष्कृत तरिकाबाट पस्किनुपर्छ भन्नुहुन्थ्यो । 

उहाँसँग केही काम मैले गरेँ । एउटा गीत उहाँको स्वास्थ्यको कारणले सम्पूर्ण स्ट्रुमेन्ट समेत घरमै लगेर गराएका थिएँ । उहाँसँग गर्नुपर्ने केही गति थियो । हिजो साँझ पनि एउटा गीतको ट्र्याक पठाएको थिए । सायद उहाँले सुन्न पाउनु भएन होला । मेरो दुई दिन अगाडि कुरा भएको थियो । म गीत गाउन सक्छु घरमै आउनु भन्नु भएको थियो ।

सांगीतिक क्षेत्रका चम्किलो तारा

मिलन मोक्तान,अध्यक्ष –सांगीतिक संघ नेपाल

milan moktan

योगेश वैद्य उमेर, कर्म सबैको हिसाबले मेरो दाइ हुनुहुन्थ्यो । जतिखेर पनि भव्य र सभ्य देखिने शालीन व्यक्तित्वका धनी । आधुनिक गीत धेरै मन पराउने । नेपाली सांगीतिक क्षेत्रका एउटा चम्किलो तारको रूपमा उहाँलाई हेर्छु । अहिले पनि म संगीतमा साधना गर्नुपर्‍यो भने उहाँका गीतहरू बजाएर गर्ने गरेको छु । उहाँ सांगीतिक क्षेत्रकै अभिभावकको रूपमा हुनुहुन्थ्यो । धेरै कार्यक्रममा उहाँसँग भेट हुन्थ्यो । उहाँसँग काम गर्ने अवसर भने मिलेन । उहाँ यो क्षेत्रमा लगनशील हुनुपर्छ, साधना गर्नुपर्छ, इमानदार हुनुपर्छ अनि मात्र सफलता हात पर्छ भनेर सम्झाउने, सिकाउने व्यक्ति हुनुहुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप