मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त

सोमबार, ०८ माघ २०८०, ०८ : ४९
सोमबार, ०८ माघ २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका अनुसार हालै रु आठ करोड ७४ लाखको सुन्तला जिल्लाबाट बिक्री गरिएको छ । उत्पादन थप बढाउने लक्ष्यका साथ परियोजनाले बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरेको हो । जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली र हुप्सेकोटमा मुख्य सुन्तला र मध्यविन्दुमा कागती खेतीलाई लक्षित गरी  परियोजनाअन्तर्गत सुन्तलाजात फलफूल जोन कार्यक्रम लागू भएको छ ।  परियोजना लागू भएका क्षेत्रमा अहिले अभियानकै रुपमा बगैँचा व्यवस्थापन सुरु गरिएको हो ।

प्राविधिकसहितको टोलीले अहिले किसानलाई  सुन्तलाको बगैँचा व्यवस्थापन गर्ने तरिका सिकाइ रहेको परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए । प्राविधिकको टोलीले  यही माघको १५ गतेसम्म यो अभियान जारी राख्ने छन् । गैँडाकोट, धौबादी, काफलडाँडा, छरछरे, रामकोट, देउराली, बबोक, राइकोटलगायत १६ स्थानमा सुन्तला जात फलफूलको बगैँचा व्यवस्थापन कार्य गरिने उनले जानकारी दिए । अहिलेसम्म ११ स्थानमा बगैँचा व्यवस्थापनको काम सम्पन्न भएको उनले बताए  । 

प्राविधिकसहितको टोलीले समूहमार्फत सबै किसानलाई जानकारी हुने गरी बगैँचा व्यवस्थापन गर्न सिकाउने छन् । यसपछि किसानले आ–आफ्नो बगैँचाको व्यवस्थापन गर्नेछन् । “बगैँचा व्यवस्थापनको मुख्य समय यही हो, नयाँ पालुवा नपलाउँदै व्यवस्थापन गर्नुपर्छ । त्यसैले हामीले यो समयलाई अभियानकै रुपमा अगाडि बढाएका छौँ”, कार्यालय प्रमुख सिंहले भने ।

प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, चोर हाँगा, बाक्लो हाँगा, रोगी हाँगा र भित्रपट्टि फर्केको हाँगा हटाउने, काटेको ठाउँमा विषादी लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि किसानलाई सिकाउने एकाइ प्रमुख सिंहले जानकारी दिए । उनले भने, “यी चार काम व्यवस्थापनको मुख्य काम हो, यो काम गर्ने भनेकै बिरुवा नपलाएको र सुषुप्त भएको बेलामा गर्नुपर्छ ।”

फल दिइरहेको ठूला बोट जसले फल दिइरहेका छन्, त्यस्ता बोट फल सकिएपछि मात्रै व्यवस्थापन गरिन्छ । फल नदिएका साना बगैँचाको व्यवस्थापन गर्न खर्च र समय कम लाग्छ भने, ठूला बोटको व्यवस्थापनमा खर्च र समय पनि बढी लाग्ने सिंहको भनाइ छ । कार्यालयले यस वर्ष राम्रोसँग बगैँचाको व्यवस्थापन गर्ने किसानलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत राखेको छ । 

सुन्तलाको उत्पादनसँगै किसानको आम्दानी बढाउने लक्ष्यअनुसार बगैँचा व्यवस्थापनको अभियान सञ्चालन गरिएको उनले बताए । नवलपुरमा राम्रो सुन्तला उत्पादन गर्न सकिने क्षेत्र भएकाले क्षेत्र विस्तार र भएका बोटबाट धेरै उत्पादन लिन सकियोस् भनेर कार्यालयले किसान लक्षित भएर काम गरिरहेको जनाइएको छ ।  जिल्लामा हाल आठ सय १८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गर्ने गरिएको छ । किसान गेसबहादुर रानाले  सुन्तलाको थप उत्पादन लिन बगैँचा व्यवस्थापनले सहयोग पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप