बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा राष्ट्रिय मूर्तिकला कार्यशाला, सगरहवाबारे  १८ वटा मूर्ति निर्माण

सोमबार, ०८ माघ २०८०, २२ : ४०
सोमबार, ०८ माघ २०८०

बुटवल । कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक स्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघ संस्थाहरुको आयोजनामा सम्पन्न  १५ दिने कार्यशाला सोमबार समापन गरिएको हो ।

राष्ट्रियस्तरमा ख्याति प्राप्त १५ जना मूर्तिकार र सोही सङ्ख्याका सहयोगी मूर्तिकारहरूले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् ।  कार्यशाला समापनमा बोल्दै राष्ट्रियसभा सदस्य विमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा बेवास्ता गरेको भन्दै जनस्तरमा गुनासो भइरहेको बेला सगर हवाको ऐतिहासिकता ढुङ्गामा कुँदेर सम्बोधन गरेको बताइन् ।

यस्तै प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरूको अपनत्वमा कार्यशालामार्फत पर्यटनको निभ सुरु भएको बताए । उनले यो कार्यक्रममार्फत सगरहवाको ऐतिहासिकता, पुरातात्त्विक महत्व र जगदीशपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताए । सांसद पन्थीले कार्यशालाको देशभर प्रचार भएको बताउँदै यो कार्यक्रम कसैका लागि नभई सिङ्गो कपिलवस्तुवासीका लागि भएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक र ऐतिहासिक काम भएको बताए ।  सर्जकहरूले निकै मेहनतका साथ सगर हवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको उनले बताए ।

कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगर हवाको पुरातात्त्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवर्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए । 

कार्यशालामा भएको मूर्तिकारहरूको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको छ । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा  शाक्यहरूको सामूहिक नरसंहारको घटनालाई प्रस्तरमा उतार्नका लागि कार्यशाला गरिएको थियो ।

सगहरवा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमी र तिलौराकोटबाट ६ किमी उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाइबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदीशपुर तालको दक्षिणमा रहेको छ ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौँ स्तुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ ।

सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा निर्माण गरिएका ठूलो वर्गाकारका १७ वटा स्तूप र धेरै सङ्ख्यामा साना स्तूप भेटिएको थियो । स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री रहेको पाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप