शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बीमा

लुम्बिनी प्रदेश : १० लाख जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

कुन जिल्लामा कति ?
मङ्गलबार, ०९ माघ २०८०, ०८ : २१
मङ्गलबार, ०९ माघ २०८०

बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २१ दशमलव ३३ प्रतिशत रहेको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले बताए ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका हुन् । बिमितमध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला र १ सय १७ जना अन्य समावेश छन् ।

प्रदेशमा बाँकी ७९ प्रतिशत जनसङ्ख्यालाई पनि बीमाको दायरामा ल्याउन पहल भइरहेको बीमा बोर्डका प्रदेश संयोजक साउदले बताए ।

  • कुन जिल्लामा कस्तो अवस्था ?

नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि लुम्बिनी  प्रदेशको पाल्पामा २०७३ सालमा यसको सुरुवात भएको हो । बिस्तारै अन्य जिल्लामा पनि कार्यक्रम लागु हुँदै २०७७ साल फागुनसम्म प्रदेशका १२ वटै जिल्लामा बीमा सेवा विस्तार भएको थियो ।

पाल्पामा २ लाख ३६ हजार ७ सय १७ जना स्वास्थ्य बिमित छन् । सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयले जनाएको छ ।

रुपन्देही जिल्लामा १ लाख ६१ हजार ५ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ९६, गुल्मीमा १ लाख ७ हजार ३ सय १२, कपिलवस्तुमा १ लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार १ सय १६, बाँकेमा ७१ हजार २ सय ५ बिमित छन् । यस्तै, प्युठानमा ६३ हजार ८ सय ८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिममा ४४ हजार १ सय ६८, रोल्पामा ३८ हजार ९ सय ३९ बिमित छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बीमा बापतको सेवा लिन दैनिक ३ सयभन्दा धेरै बिरामी हुने गर्दछन् । प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी दयासागर पन्थीले बीमा गराएको व्यक्ति र अन्य जिल्लाबाट रिफर आएको व्यक्तिले पनि यो स्वास्थ्य बीमाको सेवा लिन पाउने बताए ।

स्वास्थ्य बीमा लागु भएका प्रादेशिक अस्पतालहरूमा सेवाग्राही बढेको मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए । उनले  भने, ‘विगतमा भन्दा बीमा लागु भएपछि बिरामीको सङ्ख्या वृद्धि भएको छ । जसका कारण अस्पतालमा ल्याब, ओपीडी तथा फार्मेसी व्यवस्थापनमा चुनौती थपिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप