बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘एमाले संसद् र सडक दुवैतिर आक्रामक हुन्छ’

मङ्गलबार, ०९ माघ २०८०, १८ : २९
मङ्गलबार, ०९ माघ २०८०

सरकारले बेथिति बढाउँदै लगेको छ । मुलुक धेरै बर्बाद भइसकेको छ । केही सुनुवाइ  भएको छैन । जनताको दैनिक जीवन निकै कष्टकर बन्दै गएको छ । महँगी बढ्दै गएको छ । राष्ट्र ठुलो संकटमा फस्ने, असफल हुने दिशातिर गइरहेको छ । यी विषयमा सरकारलाई सचेत गराउन एमाले आन्दोलनमा जान लागेको हो । जनता आवाज सरकारले सुन्ने गरी शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने तयारी छ । सुरुमा हामीले प्रदेशस्तरीय सभा गर्छौँ । त्यसपछि सरकारको प्रतिक्रिया के हुन्छ, त्यसको आधारमा थप आन्दोलनको कार्यक्रम ल्याउँछौँ । राष्ट्र, जनताको पक्षमा हाम्रो आन्दोलन हुन्छ । 

यसको साथसाथै हिउँदे संसदमा एमाले खरो ढंगले उत्रिन्छ । सरकारले जे-जे गरिरहेको छ, ती विषय हामी तथ्यपरक ढंगले राख्छौँ । संसद् र सडक दुवैतिर हामी आक्रामक रूपमा जान्छौँ । 

एमाले सत्ता ढाल्ने अभियानका रूपमा जान लागेको होइन । हामीलाई सत्ता चाहिएको छैन । तर यो सरकार जसरी चलिरहेको छ, मुलुक बर्बादीतिर गइरहेको छ । देश बचाउन, जनतामा आशा जगाउन, राजनीतिक कोर्स परिवर्तन गर्न आवश्यक भएको छ । कोर्स परिवर्तन यही गठबन्धन कायम राखेर हुँदैन । सरकार जसरी नकारात्मक कामको चंगुलमा फसिरहेको छ, बदनामी कमाइरहेको छ, त्यसबाट मुलुक बचाउन आवश्यक छ । असफलता, बदनाम र कुकर्मबाट मुक्त हुन चाहने शक्तिहरू सडकमा आएमा सहकार्य हुनसक्छ । तर, अहिले गणितीय हिसाबले एमाले अगाडि बढेको छैन । 

जहाँसम्म राप्रपाको आन्दोलन पृथक् छ । राप्रपासँग सडकमा सहकार्य हुँदैन । त्यसमा एमालेलाई तुलना गर्नुको औचित्य छैन । सरकारलाई गम्भीर बनाउने र करेक्सन गर्ने हाम्रो अभियानको मूल लक्ष्य हो । 

एमालेले सत्ता नपाएको आन्दोलन गर्न लागिएको आरोप छ, त्यस्तो होइन । एमाले सत्तामा हुँदा के गर्‍यो ? बाहिर  हुँदा के गर्‍यो सबै प्रमाण र तथ्य सबैलाई थाह भइसकेको छ । एमाले सरकारले समृद्धि र विकासका लागि धेरै काम गरेको छ । आज विकास निर्माण ठप्प छ । बेथिति बढ्दै गइरहेको छ । राष्ट्रिय सार्वभौम सत्ता र अखण्डतामाथि खतरा उत्पन्न  भइरहेको छ । यी सबैको संरक्षक सरकार  भइरहेको छ । यो सरकारबाट कुनै अपेक्षा गर्ने ठाउँ नै छैन । त्यसैले सरकारले गरेको बदमासीबारे जनतालाई बताउने र जनबलमा सरकारलाई करेक्सन गर्न आन्दोलनमा जान लागिएको हो । 

एक वर्षसम्म सरकारले एउटा सिन्कोसमेत भाँचेको छैन । भएका सिस्टम पनि धुलीमाटी बनाएको छ । विकासमा प्रगति भएको छैन । सूचकांकहरूले एकदमै खतरा देखाइराखेको छ । अन्तर्राष्ट्रिय जगतमा पनि नेपाल खतरामा छ भन्ने विश्लेषण भइरहेको छ । त्यसैले  मुलुक बचाउने प्रमुख दायित्व एमालेको हो । 

रह्यो, मध्यावधिका कुरा । त्यो एमालेको कारण नभई सरकारको असफलताका कारण हुन्छ । यस्तो नालायक र असफल सरकार बसिरहनु कसैका लागि पनि हितकर छैन । संसदलाई सरकारले बिजनेस दिन सकेको छैन । कानुन सदनमा पेन्डिङमा  छ । सरकार आफै स्वार्थ अनुकुलको कानुन बनाउन प्रेरित छ । राजनीतिक इतिहासकै नालायक सरकार हो । केन्द्रीय समिति बैठकबाट सशक्त कार्यक्रम घोषणा गर्नेछौँ । 

(आन्दोलनका विषयमा पार्टीकी सचिव पद्मा अर्यालसँग गरिएको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पद्मा अर्याल
पद्मा अर्याल
लेखकबाट थप