शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सत्ताको छटपटीको परिणाम एमालेको आन्दोलन’

मङ्गलबार, ०९ माघ २०८०, १८ : २१
मङ्गलबार, ०९ माघ २०८०

सरकारमा नभएको असन्तुष्टिको प्रकटीकरण हो एमालेले गर्न लागेको आन्दोलन । कतिपय राष्ट्रिय राजनीति, संविधान, कानुन, साझा समस्यामा मिलेर जाऊँ भनेर हामीले भनेकै छौँ । एमालेले उठाएका कतिपय मुद्दाहरूमा सहकार्य गर्न तयार छौँ । अहिलेको संसदीय प्रणालीमा प्रतिनिधिसभामा जसले गणित पुर्‍याउन सक्छ उसैको सरकार हुन्छ । गठबन्धनलाई यो वा त्यो रूपमा हटाउन सकिएमा चार वर्ष कुर्न पर्दैन भन्ने लागेको होला । त्यसकै छटपटी, आवेग, तुष्टि भएको हामीले बुझेका छौँ । यद्यपि गणतन्त्र र संघीयताविरुद्ध एमाले नलाग्नेमा हामी प्रस्ट छौँ । व्यवस्था रक्षाकै पक्षमा एमाले लाग्छ ।

व्यवस्थामाथि नै विमति राख्ने राप्रपाको हकमा भने हाम्रो फरक बुझाइ छ । व्यवस्थै ठिक छैन भनेर बदनाम गराउन खोज्दै छ । यी दुई प्रवृत्तिले अमूर्त प्रकारको आन्दोलनको प्रसङ्ग चलाएको देखिन्छ । सरकारमा गणित पुगेन भने तालमेल हुने विषय भयो । तर सिद्धान्ततः सडकमै यी दुई शक्तिबिच तालमेल हुने स्थिति भयो भने त्यसले एमालेलाई फाइदा गर्दैन, ठुलो नोक्सान गर्छ । संविधान र व्यवस्थाप्रति अपमान हुन्छ । त्यसैले सडकमा यी दुई दलबिच तादम्यता मिल्छ जस्तो मलाई लाग्दैन । 

मध्यावधिमा जान सम्भव छैन । एमाले भित्रकै कतिपय नेताहरूले यस विषयमा बहस गरेका छन् । भर्खरै चुनाव भएको छ । ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । अहिले मध्यावधिको प्रसङ्ग उठाउनु अपरिपक्व राजनीति, अस्थिरताको निम्ता बाहेक केही होइन । त्यो कुनै हालतमा सम्भव छैन । एमाले भित्र नै निर्णय हुन्छ जस्तो लाग्दैन । 

प्रमुख विपक्षी दल नेकपा–एमालेले सरकार विस्थापनको एजेण्डासहित फागुनदेखि सडक तताउने योजनालाई सत्ताधारी दल नेकपा–माओवादी केन्द्रले सत्तामा बस्न नपाएको छटपटीको रूपमा लिएको छ ।

सरकारको कामको मूल्याङ्कन गर्दा चाहिँ यस अघिका प्रधानमन्त्रीहरूले कसरी डेलिभरी दिएका थिए ? सरकारले गरेका निर्णय के के थिए ? कार्यान्वयन के के भए भन्ने कुरासँग जोड्नु पर्छ । प्रतिपक्षले आलोचना गर्नु स्वाभाविक हो । विगतका २÷३ वटा सरकारभन्दा यो सरकारले केही गर्न खोजेको छ । यद्यपि भने जति सबै काम पुरा भएका छैनन् । दुई तिहाइको सरकार हुँदा पनि केपी ओली र हामी सँगै थियौँ । त्यस्तो कायापलट भएको थिएन । केही प्रशासनिक, केही कानुनी र केही संवैधानिक जटिलताले भनेजस्तो काम नहुनु, आर्थिक जटिलता हुनु अलग पाटा हुन् । सरकार पुरै असफल भयो भन्न मिल्दैन । फेरि अधिकांश विषयमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता सँगसँगै हुनुहुन्छ । नियमित भेटघाट भएको छ । धेरै कुराको सेयरिङ भएको छ । समस्या कहाँ छ ? हाम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थिति के हो ? आर्थिक अवस्था के हो ? कानुन कसरी बनाउने भन्नेबारे कुरा भइरहेको छ । 

एमाले संगठित शक्ति, लामो पृष्ठभूमि र इतिहास भएको पार्टी भएकाले सडकमा गएर विषयवस्तु राख्दा र जनतामा अपिल गर्दा केही न केही फरक पर्छ । तैपनि कतिपय साझा मुद्दाहरूमा मिलेर जाने हाम्रो प्रयत्न रहन्छ । प्रतिपक्षी दलका नेताहरूसँग नियमित कुराकानी र भेटघाट भइरहेको छ । 

( प्रमुख प्रतिपक्ष दल एमालेले सरकार विरोधी आन्दोलन गर्ने तयारी गरेको अवस्थामा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलसँग गरिएको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवेन्द्र पौडेल
देवेन्द्र पौडेल
लेखकबाट थप