सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय क्यालेन्डरको खाका कोर्दै संसद् सचिवालय

मङ्गलबार, ०९ माघ २०८०, १९ : ३९
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । संघीय संसद् सचिवालय प्रतिनिधि सभाको बैठक सञ्चालनका लागि ‘संसदीय क्यालेन्डर’ बनाउने तयारीमा जुटेको छ । सभामुख देवराज घिमिरेको निर्देशन अनुसार सचिवालयले संसदीय क्यालेन्डरको मस्यौदा बनाउने काम सुरु गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिए ।

आइतबार सभामुख घिमिरेले डाकेको संसदीय समितिका सभापतिहरुको बैठकमा संसदीय क्यालेन्डर बनाएर जानेबारे छलफल भएको थियो ।

प्रतिनिधिसभा बैठक सञ्चालन गर्नका लागि कार्यतालिका बनाएर गर्न सकिने भन्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा पनि व्यवस्था गरिएको छ । सोही नियमावलीका आधारमा आगामी अधिवेशनमा क्यालेन्डर बनाएर जाने भनेर तयारी थालिएको प्रवक्ता गिरीले बताए ।

उनले भने,‘हाम्रा नियमावली र हाम्रा कानुनहरुले कुन बेला के गर्ने भनेर जुन व्यवस्था गरेको छ, त्यसलाई समेत आधार लिएर सभामा उपलब्ध विधेयकहरु, समितिमा उपलब्ध विधेयकहरु त्यस्तै नियमावलीले तोकेका अन्य विषयवस्तुहरु, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर, मन्त्रीहरुसँगको प्रश्नोत्तर, संकल्प प्रस्तावहरु लगायतका विविधहरु र विषयहरुको उपलब्धता, त्यसको कार्यभार कति छ त्यसलाई समेत मध्यनजर गरेर, समितिको कामलाई समेत असर नपर्नेगरी कार्यतालिकाको मस्यौदा गर्ने काम भइरहेको छ ।’

संसदीय क्यालेन्डरको मस्यौदा तयार भएपछि सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गर्नेछन् । सरकारको तर्फबाट आउने कार्यभारका विषय पनि त्यसमा समावेश गरेर परामर्श समितिको बैठकमा छलफल गरेर अगाडि बढ्ने प्रवक्ता गिरीले जानकारी दिए ।

यस्तो क्यालेन्डर अहिले तत्कालका लागि प्रतिनिधि सभाको बैठकका लागि मात्र बन्नेछ । यसअघि बजेट अधिवेशनका लागि कति दिनमा कति काम सक्ने भनेर कार्यतालिका बनाइए पनि हिउँदे अधिवेशनका लागि भने पहिलोपटक संसदीय क्यालेन्डर लागू गर्ने प्रयास गर्न लागिएको उनले बताए ।

संसद्का काम कारबाहीलाई व्यवस्थित ढंगले अघि बढाएर लैजानका लागि संसदीय क्यालेन्डर बनाएर जानुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि आवाज उठाउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप